चिनियाँ राष्ट्रपतिद्वारा ५५ किलोमिटर लामो पुलको उद्घाटन
एएफपी,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
671
Shares
जुहाई, चीन। चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।
समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गर्नुभएको हो। उक्त उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको बताइएको छ।
एक वाक्यांशमा उद्घाटन सम्बोधन गर्नुभएका राष्ट्रपति चिनफिङले भने– मैले हङकङ, जुहाई र मकाउ पुल औपरिक रुपमा खुल्ला गरेको छु। उनको यो घोषणासँगै उक्त पुल औपचारिक रुपमा खुला भएको छ।
अर्बौँ डलरको लगानीमा बनाइएको यस पुल सार्वजनिक रुपमा खुल्ला भएपछि हङ्कङ, चीन र मकाउबीचको व्यापारमा बृद्धि हुने तथा यात्रा सहज हुने अनुमान गरिएको छ।
चीनका उपप्रधानमन्त्री हान जेङले यस पुलको निर्माण विकासको एक भाग भएको बताए। यस मेगा ब्रिजले हङ्कङ र मकाउ शहरसँग दक्षिणी चीनका नौ ओटा शहरलाई आर्थिक लगायतका सञ्जालसँग जोड्ने जेङले बताए।
तर विश्लेषकहरु भन्छन्–यो पुल हङकङलाई चीनमा एकीकृत गर्ने थप एउटा बाटो हो र यसले हङकङको स्वतन्त्रताको अभियानलाई थप खुम्च्याउन सक्छ।
चीनद्धारा निर्मित हङ्कङ र चीनको मुख्य भूमि जोड्ने यो दोस्रो परियोजना हो। यसअघि गत महिना चीनले हङ्कङलाई जोड्ने दू्रत गतिको रेल निर्माण गरी सञ्चालनमा आएको थियो।