पुटिनलाई भेट्ने ट्रम्पको चाहना, शिखर बैठक २०१९ मा हुने
एएफपी,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
293
Shares
मस्को। रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ। रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो।
“म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,” रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग भने।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो।
उनले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पारे। तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभले जानकारी दिए। अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आएका थिए। उनले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए।
भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताएका थिए।