arrow

महेन्द्रनगर बजार क्षेत्रमा खसीको भन्दै बाख्रीको मासु बेच्दै

प्रशासनको अनुगमनमा गल्ती गर्नेलाई सामान्य निर्देशन दिएर उन्मुक्ति

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७२ फागुन १२ बुधबार
Kanchanpur.jpeg.jpeg
महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ बजारस्थित सब्जीमण्डीभित्र रहेको बाबु मासु पसलले बाख्रीको मासु बेच्ने अनुमति नलिएपनि बाख्रीको मासु बेच्ने गरेको जिल्ला अनुगमन समिति कञ्चनपुरका टोलीले फेला पार्‍यो । बाबु कुरेसीले सञ्चालन गरेको मासु पसलले खसीको मासु बेच्ने अनुमति पाएको थियो । बाबु मासु पसलले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको अनुगमन टोलीले भेट्टायो । बाबु कुरेसीले अनुगमन टोलीसमक्ष मासु पसलमा खसी र बाख्री दुबैको मासु बेच्ने गरेको स्वीकारे ।
 
उपभोक्ता संरक्षण ऐनले दफा १० को खण्ड (ग) मा ‘कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी वा निम्नस्तरको उपभोग्य वस्तु वा सेवालाई उच्चस्तरको उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नहुने’ लेखिएको छ । ऐनकै दफा १८ को खण्ड (घ) मा ‘दफा १० को खण्ड (ग) विपरीत काम कारवाही गर्ने गराउनेलाई ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय’ हुने व्यवस्था गरिएको छ । तर, अनुगमन टोलीले मासु पसल सञ्चालकलाई केही निर्देशन मात्रै दिएर छाडेको छ ।
 
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बजार अनुगमन टोलीले तयार गरेको संयुक्त अनुगमन मुचुल्काको स्थलगत विवरणमा ‘खसीको र बाख्रा मासु एकै पसलबाट दिने गरिएको, बाख्राको मासु बिक्री गर्न इजाजत नलिएको र खुल्ला ठाउँमा मासु काट्ने गरिएको’ लेखिएको छ । मुचुल्काकै निर्देशन-कारवाही खण्डमा १ हप्ताभित्र ‘खसी र बाख्राको छुट्टाछुट्टै काट्ने व्यवस्था मिलाउने, साइनबोर्ड अनिवार्य रुपमा राख्ने र मूल्यसूचि अनिवार्य रुपमा राख्ने’ लेखिएको छ । उपभोक्ता संरक्षण ऐन विपरित काम गर्नेलाई सम्झाई–बुझाई गरेर छाड्ने व्यवस्था ऐनमा छैन ।
 
तर, अनुगमन टोलीले बाबु मासु पसलका सञ्चालक बाबु कुरेसीलाई सामान्य निर्देशन दिएर सजाय हुनबाट जोगाएको छ । ऐनमा सजाय हुनुपर्ने व्यवस्था छ, के आधारमा सामान्य निर्देशन दिएर मासु पसल सञ्चालकलाई छाडियो ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले भने, ‘मैले अनुगमन प्रतिवेदन अध्ययन गर्न पाएको छैन । अनुगमन प्रतिवेदन लिखित रुपमा आएपछि अध्ययन गरेर मात्रै त्यसबारे भन्न सक्छु ।’
 
बजार अनुगमन टोलीले सब्जीमण्डीकै करविर साउँदले सञ्चालन गरेको मासु पसलमा असुरक्षित रुपमा मासु बिक्री वितरण हुने गरेको पाएपछि केही निर्देशन दियो । निर्देशनमा लेखिएको छ, ‘कुखुरा राख्दा अनावश्यक (१ दिनको खपत बाहेक) नराख्ने, २ दिनभित्र खोरको सरसफाई गर्न, बाहिरबाटै मासु काटी वितरण नगरी सुरक्षित गर्न, सिसाको (सलट्रिङ हाउस) कोठाको प्रयोग गर्ने, मूल्यसूचि प्रयोग १ हप्ताभित्र गर्न ।’ सब्जीमण्डीमै मालती भण्डारीले सञ्चालन गरेको भण्डारी मासु पसलले सिसाको बाक्समा मासु काट्ने नगरिएको, मूल्यसूचि नभएको र सरसफाई कमजोर भएको पायो । तर, दोषीलाई कुनै कारवाही गरिएन । टोलीले अल्टिमेटमसहितको सामान्य निर्देशन दिएर मासु पसल सञ्चालकलाई उन्मुक्ति दियो । ‘२ दिनभित्र सरसफाई गर्न, मूल्यसुचि १ हप्ताभित्र राख्न र १ महिनाभित्र सिसाको भित्र बाकस बनाउने’ अनुगमन टोलीले दिएको निर्देशनमा लेखिएको छ । अनुगमन गरिएका मासु पसलमध्ये अधिकांशमा मूल्यसूचि नभएको, मासु काट्ने सिसाको कोठा नभएको, डीफ्रिजको प्रयोग नगरिएको, खुला रुपमै मासु बिक्रीवितरण गर्ने गरिएको, सरसफाई नभएको पाइएको अनुगमन टोली प्रमुख पुष्पराज खनालले बताए ।
बजार अनुगमन टोलीले भीमदत्त नगरपालिका–१८ स्थित निर्मल मेडिकल हलबाट म्याद नाघेका औषधि  बरामद गरेको छ । टोलीले मेडिकल हलबाट ९ प्रकारका औषधि बरामद गरेको छ । ‘तीनदिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न, लाइसेन्स होल्डर व्यक्ति लाइसेन्स नदेखाइएकाले यथाशीघ्र सम्पर्क गर्न’ अनुगमन टोलीले निर्मल मेडिकल हलका सञ्चालक वीरबहादुर ऐरलाई निर्देशन दिएको छ । तर, सञ्चालक ऐरलाई कुनै कारवाही गरिएन । उपभोक्ता संरक्षण ऐनको दफा १० (क) मा कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पैठारी गर्न’ नहुने लेखिएको छ ।
 
म्याद नाघेका औषधि कमसल उपभोग्य वस्तु भएकाले त्यसको बिक्री वितरण गर्नेलाई ऐनकै दफा १८ (ग) मा ‘३ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय’ हुने व्यवस्था रहेको छ । भीनपा–१८ मा पार्वती विष्टले सञ्चालन गरेको पार्वती मेडिकल हलबाट समेत अनुगमन टोलीले ३ प्रकारका म्याद नाघेका औषधि बरामद गरेको छ । अनुगमन टोलीले दिएको निर्देशनमा लेखिएको छ, ‘म्याद नाघेका औषधिहरु अलग छुट्याएर राख्न हुन ।’ अनुगमन टोलीले म्याद नाघेका औषधि पसलमा राख्नेलाई सामान्य सुझाव दिएर छुट दिएको छ ।
 
बजार अनुगमन टोलीले माधव जोशीले सञ्चालन गरेको फेमली मार्टबाट अखाद्यवस्तु बरामद गरेको छ । मार्टबाट बैलकोल्हु तेल, किसमिस, कुरकुरे, सोन पापडी र तेज चिया बरामद गरेको छ । जोशीले फर्म दर्ता नगरेकै व्यवसाय गरिरहेको र मूल्यसूचि नराखेको टोलीले भेटाएको छ । टोलीले सामान्य निर्देशन दिएर पसल सञ्चालकलाई छाडेको छ । अनुगमन टोलीले दिएको निर्देशनमा लेखिएको छ, ‘फर्म दर्ता १ हप्ताभित्र गरी पसल सञ्चालन गर्ने, मूल्यसूचि राख्ने, म्याद नाघेका सामान बिक्री नगर्ने, ढक काटा दर्ता गर्ने ।’ उपभोक्ता संरक्षण ऐनको सजाय खण्डमा लेखिएको छ, ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम  विपरीत अन्य काम कारवाही गर्ने गराउनेलाई  २ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।’
 
भीमदत्त नगरपालिका–७ मा राजीव गुप्ताले सञ्चालन गरेको राज खाद्य भण्डारबाट अनुगमन टोलीले म्याद नाघेको तिलको तेल र तेज चिया बरामद गरेको छ । टोलीले ‘सामानको उत्पादन मिति हेरेर सामान बिक्री गर्ने’ निर्देशन दिएको छ । महेन्द्रनगर बजारको गल्ली नम्बर–३ मा विष्णु सापकोटाले सञ्चालन गरेको सापकोटा वेकरी उद्योगबाट विष्कुट, पाउरोटी, रस बडी, क्रिमरोल र कन्या रस बरामद गरेको छ । उद्योगले लेबल नलागेको सामान बिक्रीमा राखेको र पान नम्बर सबैले देख्ने गरी नराखेको भेटाएको छ । उपभोक्ता संरक्षण ऐनको दफा ९ मा ‘उत्पादकले उपभोग्य वस्तुको लेबल राख्नुपर्ने’ उल्लेख गरिएको छ । लेबल नराख्नेलाई ऐनकै दफा १८ सजायको खण्ड (ख) मा ‘२ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ लेखिएको छ । तर, अनुगमन टोलीले ‘लेबल नलागेको सामान बिक्री नगर्ने र पान नम्बर सबैले देख्ने गरी राख्ने’ निर्देशन दिएको छ ।
 
भीमदत्त नगरपालिका–१८ मा फर्म दर्ता बिना नै सञ्चालनमा रहेको उपाध्याय किराना पसलबाट अनुगमन टोलीले गुदपाक, मःम मसला, रिफाइन्ड तेल र सोया सस बरामद गरेको छ । भीमदत्त नगरपालिका वडा नम्बर–४ मा पुष्करबहादुर चन्दले सञ्चालन गरेको काँजल किराना पसलबाट अनुगमन टोलीले बैलकोल्हु, मेगी चाउचाउ, पारस मसला, गुदपाक र हिना मेहन्दी बरामद गरेको छ । पसल दर्ता नभएको र मूल्यसूचि समेत नराखेको अनुगमन टोलीले पाएको छ । भीमदत्त नगरपालिका–४ मा विजय पालले व्यवसाय दर्ता बिना नै सञ्चालन गरेको पसलबाट अनुगमन टोलीले पारस गरम मसला र टोकला चिया बरामद गरेको छ । अनुगमन टोलीले म्याद गुज्रेका सामान बिक्री नगर्न र फर्म दर्ता १ हप्ताभित्र गर्न निर्देशन दिएको छ ।
भीमदत्त नगरपालिका–१८ मा चिन्तामणि खरेलले सञ्चालन गरेको खरेल किराना पसलबाट अनुगमन टोलीले सस, पारस मसला र ओएस बरामद गरेको छ । पसलमा मूल्य सूचि अद्यावधिक नभएकाले अद्यावधिक गर्न र म्याद नाघेका सामान बिक्री नगर्न टोलीले निर्देशन दिएको छ । भीमदत्त नगरपालिका–४ मा रविन्द्र कठायतले सञ्चालन गरेको बाबा जनरल स्टोरबाट अनुगमन टोलीले रस्ना र मेथी कस्तुरी बरामद गरेको छ । अनुगमन टोलीले बजारबाट बरामद गरेका वस्तु नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका नायव सुब्बा पदमराज भट्टसहितको रोहवरमा बरामद वस्तु नष्ट गरिएका छन् ।
 
उपभोक्ता संरक्षण ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सक्रियतामा बजार अनुगमन समितिका संयोजकले नियमित बजार अनुगमन गर्नुपर्ने हो । तर, कञ्चनपुरमा नियमित बजार अनुगमन हुने गरेको छैन । बजार अनुगमन गरिएपनि सामान्य निर्देशन दिएर दोषीलाई उन्मुक्ति दिने गरिएको छ । मंगलबार भएको बजार अनुगमन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नेपाल कर्मचारी प्रशिक्षण प्रतिष्ठानको सक्रियतामा भएको हो । सरकारले अधिकृत तहका स्थायी कर्मचारीलाई तालिम दिएर प्रयोगात्मक अभ्यासका लागि बजार अनुगमन गर्न कञ्चनपुर पठाएको छ । तालिम प्राप्त १२ जना कर्मचारीले महेन्द्रनगरमा आएर २ टोलीमा विभाजित भई अनुगमन गरेका छन् । अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रतिनिधिको सहभागिता रहेको थियो ।
 
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हरेक वर्ष गर्ने गरेको बजार अनुगमन औपचारिकतामै सीमित हुने गरेको छ । हरेक वर्ष प्रशासन कार्यालयको अनुगमन टोलीले सामान्य निर्देशन दिएर दोषीलाई उन्मुक्ति दिने गरेका कारण व्यवसाय सञ्चालकले गल्ती दोहो¥याउने गरेका छन् । व्यवसाय सञ्चालकले म्याद नाघेका खाद्यवस्तु विक्रीवितरण गर्ने गरेका कारण जनस्वास्थ्यमा असर पर्ने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ