काठमाडौँ । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौँको त्रिपुरेश्वरबाट मंगलबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ ।
अग्रवाल इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीको सञ्चालक हुन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासीले आठ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीले ३८ करोड ६८ लाख किसानको बक्यौता तिर्न बाँकी रहेको जनाइएको छ ।
कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा मङ्गलबार मात्रै गृहमन्त्रालयले पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि उद्योगी अग्रवाललाई आज पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए। रासस