arrow

नेकपाकै सांसदले ‘एक्सप्रेस–वे’को स्थलगत अनुगमनमा निहुँ खोजे 

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
fast-track-new-FNL.jpg.jpeg

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–निजगढ ‘एक्सप्रेस–वे’को स्थलगत अनुगमन गर्ने भएको छ । वुधबार सिंहदरबारमा बसेको समिति बैठकले ललितपुरको खोकना र बुङमतीका स्थानीयबासीको माग सुनुवाई गर्न भन्दै स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ । 

ललितपुर खोकना र बुङमतीका स्थानीयले समितिमा उजुरी दिएपछि त्यसलाई सम्बोधन गर्न एक्सप्रेस–वेको ललितपुरस्थित पहिलोखण्ड अनुगमन गर्न जान लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । 

खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी हालेका थिए । त्यही उजुरीको सुनुवाई गर्दै आफूहरु खोकना र बुङमती क्षेत्रमा पर्ने एक्सप्रेस–वे खण्डको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको सभापति श्रेष्ठको भनाई छ । 

समिति सदस्य कृष्णगोपाल श्रेष्ठले भने यो एक्सप्रेस–वे स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा विमत्ति राखेका छन् । उनले त्यो क्षेत्रका पीडितलाई नै समितिमै बोलाएर सुनुवाई गर्न सकिने धारणा समेत राखे । उनले निर्माणको जिम्मा लिएको नेपाली सेनालाई पनि समितिको बैठकमा बोलाएर  विस्तृत जानकारी लिन सकिने धारणा राखेका छन् । उनी नेकपाकाे सा‌ंसद हुन् । 

नेपाली सेनाले निर्माण गरिरहेको सो एक्सप्रेस–वे अन्तर्गत ललितपुरको खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जा नदिएको भन्दै निर्माणको काममा अवरोध गरेका छन् । यही विषयमा स्थानीय जनताको गुनासो सुनुवाई गरेर सरकारलाई भन्ने समितिको तयारी छ । त्यहाँका स्थानीयले पूराना पार्टी पौवा र ऐतिहासिक देवल मास्न नपाइने माग समेत बारम्बार उठाउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ