काठमाडौं। ६ महिनाभन्दा माथि र ५ वर्ष मुनीका बालबालिकालाई बुधबार र बिहीबार खुवाइएको भिटामिन ए र जुकाको औषधी खर्चबारे सरकारी मान्छेबाटै फरक तथ्यांक आएको छ। देशभर ६ महिनामाथि र ५ वर्ष मुनीका २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने अभियानका लागि अहिले सरकारले ३ करोड रुपैयाँ बजेट दिएको, परिवार कल्याण महाशाखाका निर्देशक डा. आर.पी. बिच्छाले जानकारी दिए।
तर बाल स्वास्थ्य महाशाखाको पोषण शाखा प्रमुख केदार पराजुलीले यो अभियानका लागि ६ करोड खर्च लागेको बताए। पराजुलीका अुनसार, यो वर्षको यसबर्षको भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत यो चरणका लागि भिटामिन ‘ए’ कार्यक्रमका लागि औषधीका लागि एक करोड सहित औषधी बितरण, ढुवानी, खाजा तथा यातायात खर्च गरी जम्मा ६ करोड लागेको छ।
यो कार्यक्रममा औषधी खुवाउन परिचालन भएका ५० हजार महिला स्वयंसेवकलाई २ दिन खाजा खर्च दैनिक ४ सयका दरले बितरण गर्दा, ४ करोड र औषधी बितरण तथा ढुवानी सहित स्टेशनरीका लागि १ करोड खर्च लागेको छ। केही स्थानीय निकायले भने प्रत्येक बुथमा खटिने स्वयंसेवीलाई लागि खाजा खर्च भनेर १ हजार रुपैयाँसम्म दिएका छन्।
युनिसेफले दियो १ करोडको भिटामिन
सरकारी निकायले यसपालीको कार्यक्रमका लागि जुकाको औषधी, बाल भिटा सहित बालबच्चाको पाखुरा नाप्ने फिता लगायतका सामग्री खरिद गरिएको छ। नेपालस्थित (लतिपुरको पुल्चोक) राष्ट्रसंघीय बालकोष युनिसेफले यसपाली ४३ लाख भिटामिन ए क्याप्सुल किन्नका लागि ९९ लाख ७६ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ। भिटामिन खर्च सबै युनिसेफको हो।
पोषिला खानेकुराको डेमो:
खोप बुथमा बालबालिकालाई स्वस्थ र बलियो बनाउन चाहिने खानेकुराको डेमो पनि गरिएको छ। बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाउने बुथहरुमा पोषिला खानेकुरा पनि देखाउन राखिएको हो। देखाउनका लागि राखिएका यी खानेकुराका लागि दुई सय रुपैयाँ दिने गरिएको ललितपुर २० को एउटा खोप केन्द्रकी महिला स्वास्थ्य स्वयंसेविका बीना महर्जनले जानकारी दिइन्। फलफुल, गेडागुडीदेखि नमूना मासु लगायत प्रदर्शनमा राखिएका यो खानेकुरा भने बुथमा खटिएकामध्येकै स्वयंसेवीलाई दिने गरिएको छ।
कार्तिक १४ र १५ (हिजो र आज) गरी ६ महिना देखी ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मकालाई जुकाको औषधि खुवाइएको छ। हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइएको हो।
एकवषदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निःशुल्क रुपमा खुवाउनुका साथै ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको पोषण स्थिति थाहा पाउन पाखुराको नाप समेत लिइएको छ। ६ महिना देखी २३ महिनाका बालबालिकाका लागि, दिनको एक पटक खुवाउने गरी ३० पाउच बालभिटा समेत वितरण गरिएको छ।
२०५० सालदेखि नियमित रुपमा बर्षमा २ पटक बालबालिकाका लागि भिटामिन ए कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यो कार्यक्रम वर्षेनी २ पल्ट गरिँदै आएको छ। वार्षिक कार्यक्रमका लागि १२ करोड रुपैयाँ खर्च हुने गरेको छ।