आर्थिक विकासका लागि पूर्वाधार निर्माण : अर्थमन्त्री डा खतिवडा
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
455
Shares
विराटनगर। अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताएका छन्। मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको उद्घाटन गर्दै उनले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिए।
उनले राजश्व उठाउने विषयमा मात्रै सरकार केन्द्रीत नरहेको बताउँदै पूर्वाधार विकास गरी स्वदेशी उद्योग फष्टाउने उद्देश्यले कार्य गरिरहेका जानकारी दिए। अर्थमन्त्रीले सङ्घीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै आगामी दिन नेपाली जनताले सकारात्मक प्रभावको अनुभूति महशूस गर्ने दाबी गरे।
उनले स्वदेशी कपडा उद्योग प्रवद्र्धनका लागि सरकारले कार्य गरिरहेको बताउँदै गार्मेन्ट, कपडा उद्योग र कपास खेतीलाई प्रोत्साहन दिने आश्वासन दिए। अर्थमन्त्री खतिवडाले विकास निर्माणको रुपमा आगामी वर्ष सरकारले नयाँ र ठूला योजनाहरु शुरु गर्ने गरी वित्तिय व्यवस्थापनको काम गरिरहेको जानकारी दिए।
उनले कानून अभावमा विदेशी सामग्रीको परिमाणात्मक बन्देज लगाउन नसकिने भए पनि भन्सार दर बढाएर अकुंश लगाउन सकिने विचार व्यक्त गरे। प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले तीनै तहका सरकारको चाहना मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रबाट नै राष्ट्र बलियो बनाउनुपर्ने बताए।