भ्रष्टाचारमा शिक्षा क्षेत्रलाई स्थानीय निकायले टप्यो
अख्तियार प्रमुख भन्छन्ः “ठग ठेकेदारका दिन गए”
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
653
Shares
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरले स्थानीय निकायमा भ्रष्टाचार र अनियमिताको स्थिति भयावह बन्न थालेको खुलासा गरेका छन्। अहिलेकै अबस्था रहे, संघीयता नै जोखिममा पर्ने संकेत समेत उनले गरे।
अख्तियारको सम्पर्क कार्यालय उद्घाटन गर्न नेपालगञ्ज पुगेका प्रमुख आयुक्त घिमिरले भने “स्थानीय तहको जुन क्रियाकलाप अहिले देखिएको छ, त्यो भयावह छ, यसले हाम्रो प्रणालीलाई स्थापित गर्ने दिशामा योगदान गर्दैन, कानुनले दिएको सीमाभित्र रहेर काम गर्नुस्, अन्यथा आयोग चुप लागेर बस्दैन”। विगतमा सबैभन्दा धेरै उजुरी शिक्षा क्षेत्रको अनियमिततामा पर्ने गरेकोमा अहिले स्थानीय तहको क्रियाकलाप बिरुद्ध पर्ने गरेको जानकारी पनि उनले दिए।
अर्को प्रसंगमा उनले ठेक्का सम्झौता गरेर लामो समयसम्म होल्ड गर्ने ठेकेदारहरुलाई निगरानिमा राखिसकेको भन्दै, अब कार्वाही गरिने बाचा गरे। राष्ट्रिय गौरबको आयोजनाको काम समयमा पुरा नगरेका सात आठ ठेकेदारमाथि यतिबेला अनुगमन भइरहेको भन्दै घिमिरले उनीहरु अब कार्वाहीको दायरमा आउने दाबी गरे।
ठेक्का लिने र होल्ड गरेर रिसर्चको जस्तो काम अब गर्न दिँदैन भन्दै घिमिरेले थपे, “कञ्चनपुरको उपकरण देखाएर ताप्लेजुङमा ठेक्का लिने दिन अब गए”।