जाजरकोट । बारेकोट गाउँपालिका वन्डालाका रामबहादुर कुमाई तिहार मनाएर भारत जाने तयारीमा छन् । उनिसँगै गाउँका अन्य बासिन्दा पनि बाटो खर्च र तिहार मनाउने रकमको जोहो गरेर भारत जाने तयारीमा छन् । भारत गएर कमाइ गर्नु उनीहरुको रहर नभई बाध्यता बनेको छ ।
फलामको काम गर्दै आएका सुपुखोलाका धनबहादुर कामी पनि फलामको काम सकेपछि खाली नै बस्ने गरेको बताउछन् । काम नभएका आफ्ना छोराहरू खेलेरै दिन कटाउने गरेको उनिको गुनासो छ । घर नजीकै सडक निर्माण भइरहेको छ तर काम नपाएर भौँतारिरहेका यहाँका युवा समय कसरी बिताउने भन्दै हिँड्ने गरेका छन् । अहिले लैखमदेखि सेपुखोलासम्म सडक निर्माणको काम भइरहे पनि यहाँका युवाले काम नपाउँदा भौतारिरहनुपरेको हो । उनीहरूले काम भएर नगरेका होइनन् काम नै गर्न नदिएपछि कसरी काम गर्नु सक्लाका कालीबहादुर नेपालीको गुनासो छ । सडकको काम डोजर र स्काभेटरले गर्छ, एउटै वडामा चारभन्दा बढी डोजर सडक निर्माणमा प्रयोग भएका छन् हामीले कसरी काम पाउनु उनिको प्रश्न छ ।
जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई सडकको ठेक्का दिँदा आफूहरूले काम नपाएको कालीबहादुरको आरोप छ । अघिल्लो वर्ष पनि काम पाइएन र यो वर्ष पनि डोजरद्वारा काम शुरु भइसक्यो हामीले कसरी काम पाउने उनि भन्छन्। सडक निर्माणको काम धमाधम भइरहेको छ तर स्थानीयवासी कामको खोजीमा भारत पलायन हुँदैछन्, यो रहर नभई बाध्यता भएको लैखमका जयबहादुर खत्री बताए । भोट माग्न आउँदा नेताहरूले रोजगारी सिर्जना गर्छौ भने तर अहिले सडकको कामसमेत गर्न दिएका छैनन् बारेकोट काउलीका प्रेमबहादुर वुढा भन्छन्।
त्यस्तै जिल्लाको अन्य ठाउँमा समेत डोजरकै प्रयोगले गर्दा स्थानीयवासीको रोजगारी खोसिएको पत्रकार राजेन्द्र कार्कीको भनाइ छ । सस्तो रकममा खन्ने व्यक्तिलाई काम गर्न नदिएर महँगोमा जसले खन्छ, उसैलाई ठेक्का दिने गरिएको स्थानीयवासीको आरोप छ । गाउँगाउँमा खनिएका सडक वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै खनिएका छन् । यसरी जथाभावी खनिएका सडकले जिल्लाका अधिकांश भागमा पहिरो गएर छियाछिया भएका छन् । जमीन कमजोर हुँदा बर्खायाममा जनधनको क्षति भएको अहिलेको वर्षाले देखाइसकेको नलगाड नगरपालिका–४ का हर्कबहादुर पुन बताउछन् ।
बर्सेनि सडक खन्दै र बर्खायाममा पुर्दै गर्दा करोडौँ रकम एकै ठाउँमा खन्याउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । एक पटक डोजरले बनाएको सडकमा बर्सेनी बजेट खर्चेर पुनः खन्दा भारी रकम खर्च भएको तर स्थानीयवासीले सहज यात्रा गर्न नपाएको पुनको गुनासो छ । स्थानीय तहले करका नाममा धेरै रकम असुल गर्छन् तर सेवा दिँदैनन् अनि हामी किन कर तिर्ने भन्दै जनता आक्रोशित हुँदै आएका छन् । रासस