काठमाडौँ। नेपाली काँग्रेसको यही फागुनमा हुने तेह्रौ महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ठ योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय देखिएको छ । नेपालमा लोकतन्त्रको मियोका रुपमा रहेको नेपाली काँग्रेसमा पत्रकारिता तथा सञ्चार पृष्ठभूमिका व्यक्तित्वहरूको वैचारिक र साङ्गठनिक संलग्नता निकै सुदृढ रहनु स्वभाविक नै हो ।
अहिलेसम्म जिल्लाहरूबाट प्राप्त विवरणहरूमा देखिएअनुसार पत्रकारिता पेसामार्फत लोकतान्त्रिक आन्दोलनको अग्र मोर्चामा जुटेर राजनीतिक व्यक्तित्व निर्माण गरेका चारजना नेताहरू नै जिल्ला सभापतिमै निर्वाचित भएका छन् । जिल्ला सभापति हुनुभएकाहरूमा सिन्धुलीका उज्ज्वलप्रसाद बराल, सुर्खेतका कमलराज रेग्मी, काभ्रेपलाञ्चोकका मधुप्रसाद आचार्य र नवलपरासीका विष्णु लामिछाने छन् । त्यस्तै महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा पनि यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको सहभागिता चार दर्जनभन्दा बढी रहेको छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको आन्दोलनका अगुवा तारानाथ दाहाल सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यसअघि उहाँ पार्टीको नवौँ, दसौँ र बाह्रौ महाधिवेशनमा पनि निरन्तर महासमिति सदस्य हुन।
सिन्धुपाल्चोकबाटै पत्रकारिता पृष्ठभूमिका महाधिवेशनमा क्षेत्र नं १ बाट चित्रकुमार मिजार महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् भने पत्रकारिताको अनुभव बटुलेका क्षेत्र नं १ का महासमिति सदस्य हरिशरण श्रेष्ठ तथा क्षेत्र नं ३ बाट बद्री चौलागाई र सागरकुमार श्रेष्ठसमेत महाधिवेशनमा चुनिएका छन् ।
पत्रकारिता र सञ्चार क्षेत्रको व्यवसायिक एवम् प्राज्ञिक भूमिकामा उल्लेखनीय योगदान भएका झापाका वरिष्ठ पत्रकार लोकराज ढाकाल झापा–२ बाट र पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाईं झापा क्षेत्र नं ४ बाट महाधिवेशनमा निर्वाचित भए ।
यसैगरी सङ्खुवासभाका प्रतिष्ठित पत्रकार कुमारबाबु अधिकारी र दीपेन्द्रमान शाक्य क्षेत्र नं २ बाट महाधिवेशनमा निर्वाचित भएका छन् । नेपाली श्रमजीवी पत्रकारहरूको आन्दोलनका एक शसक्त व्यक्तित्व विजयी सन्तोषी राई धनकुटा क्षेत्र नं १ बाट र सांसदसमेत रहनुभएकी वरिष्ठ पत्रकार महिला अन्जना ताम्ली धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित भए ।
नेपाल टेलिभिजन पत्रकारितामा उत्कृष्ट दख्खल राख्ने मानवअधिकार आन्दोलनमासमेत स्थापित प्रकाशचन्द्र परियार सुनसरी क्षेत्र नं २ बाट निर्वाचित भए । परियार नेपाल प्रेस युनियन र पत्रकार महासङ्घको समेत एक स्थापित नेता हुन।
नेपालको विज्ञापन क्षेत्रका एक मुर्धन्य व्यक्तित्व, पुराना पत्रकार, लेखक एवम् नेपाल विज्ञापन एजेन्सी सङ्घका संस्थापक अध्यक्ष मित्रसेन दाहाल ओखलढुङ्गा क्षेत्र नं. १ बाट निर्वाचित भए भने सो सङ्घमा लामो समयदेखि कार्यकारी निर्देशक रहँदै आएका भरतलाल न्याँछ्यो ललितपुर क्षेत्र नं ३ बाट महाधिवेशनमा निर्वाचित भए।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था रहेको नेपाल प्रेस युनियनका दुईजना मुख्य पदाधिकारी उपाध्यक्षद्वय काभ्रेपलाञ्चोक–२ बाट इश्वरी ओझा र ओखलढुङ्गा–२ बाट बाला अधिकारी महासमिति तथा महाधिवेशमा निर्वाचित भए । यस्तै लेखक एवम् पत्रकार केशवराज चौलागाई दोलखा–२ बाट महाधिवेशनमा निर्वाचित भए भने वरिष्ठ पत्रकार घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं ३ बाट महाधिवेशनमा निर्वाचित भए ।
धादिङ क्षेत्र नं ३ मा पत्रकारिता पृष्ठभूमिकै कृष्ण रिजाल क्षेत्रीय सभापति भए भने अर्का श्रमजीवी पत्रकार भूवनेश्वर अधिकारी कैलाली क्षेत्र नं १, घनश्याम भण्डारी दैलेख क्षेत्र नं २ र नेपाल प्रेस युनियनका स्थापित नेता हरि लम्साल रुपन्देही क्षेत्र नं. ४ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भए । भण्डारी सहिदपुत्र समेत हुन ।
आफ्नो व्यक्तित्व निर्माणको प्रारम्भिक कालका एक कुशल पत्रकार एवम् स्थापित विज्ञापन व्यवसायी रमेश महत नुवाकोट–२ बाट महासमितिमा निर्वाचित हुन । पत्रकार एवम् एक स्थापित राजनीतिक विश्लेषक लोकश ढकाल, काठमाडौँबाट सदाझौ यस पटक पनि महाधिवेशनमा प्रतिनिधित्व गर्दै छन्। यसैगरी काठमाडौँबाट एक पुराना स्थापित भाषा र संस्कृति सेवी लेखक पत्रकार नवीन चित्रकार पनि महाधिवेशनमा निर्वाचित भए।
देशको मध्यविन्दु चितवनबाट पनि नेपाल प्रेस युनियन आन्दोलनका स्थापित नामहरू विजय शर्मा भूषाल र सरीता केसी पनि महाधिवेशमा निर्वाचित भए। त्यस्तै कास्कीको क्षेत्र नं ४ बाट स्थापित पत्रकार राजबहादुर गुरुङ महाधिवेशनमा निर्वाचित भए। यस्तै नेपाल पत्रकारिताका एक स्थापित व्यक्तित्व नेपाल पत्रकार महासङ्घका पूर्व सचिव झपेन्द्र गैरे पाल्पाबाट महाधिवेशन प्रतिनिधिमा निर्वचित भए भने नेपाल प्रेस युनियनमा आबद्ध पाल्पाका युवा नेता हिमाल श्रेष्ठ पनि महाधिवेशनमा निर्वाचित भएका छन्। पत्रकारिताका कुशल प्रशिक्षक, सम्पादक एवम् बौद्धिक व्यक्तित्व जगदीश भट्टराई गुल्मी १ बाट महाधिवेशनमा निर्वाचित भए ।
नेपाली विद्यार्थी आन्दोलनका एक स्थापित व्यक्तित्व एवम् रेडियो व्यवसायी किरण पौडेल तथा सम्मानित शिक्षा सेवी एवम् वरिष्ठ पत्रकार जगन्नाथ आचार्य, पत्रकार धीरप्रताप सिंह र विद्यार्थी आन्दोलनसँगै सञ्चार अभ्यासका एक जुझारु व्यक्तित्व डिल्लीराम सुवेदी बाग्लुङ क्षेत्र नं २ बाट निर्वाचित भए। नेपाल पत्रकार महासङ्घ धौलागिरी अञ्चल शाखाका संस्थापकमध्येक एक रामचन्द्र जोशी पर्वतबाट महाधिवेशनमा निर्वाचित छन् भने पर्वतबाटै सक्रिय पत्रकार महिला मुना भूषाल पनि महाधिवेशनमा निर्वाचित भइन।
पत्रकारीता पृष्ठभूमिबाट काँग्रेस राजनीतिमा वर्चस्व कायम गर्नेमा प्यूठान अग्रपङ्क्तिमा छ। प्यूठानका स्थापित पत्रकार देवेन्द्र बर्मा, प्रमोद पोखरेल, विष्णु गिरी र भुवन सुनार महाधिवेशनमा चुनिएका छन् भने नेपाल प्रेस युनियन मध्यपश्चिमाञ्चलका नेता देवेन्द्र बर्मा जिल्लासचिवमा निर्वाचित भए । नेपाल पत्रकार महासङ्घ डडेल्धुराका संस्थापक एवम् नेपालको विद्यार्थी आन्दोलनका चर्चित नेता नैनासिंह महरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।
त्यस्तै नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य र मेघराज ओली पनि महाधिवेशन प्रतिनिधि भएका छन। काठमाडौँबाट प्रेस एवम् प्रकाशन व्यवसायी रीता दवाडी क्षेत्र नं ९ बाट महाधिवेशनमा निर्वाचित भइन। उपत्यकाकाकै अर्को जिल्ला भक्तपुरबाट पुराना पत्रकार प्रवीन वन तथा जगन्नाथ कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए।
मध्य मधेसको रौतहटबाट नेपाल प्रेस युनियनका अञ्चल सभापति सञ्जयकुमार कार्की क्षेत्र नं ६ बाट महाधिवेशनमा निर्वाचित भएका छन् भने पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका र प्रतिष्ठित राजनीतिक टिप्पणीकार एवम् लेखक शोभाकर पराजुली बाराबाट महाधिवेशनमा चुनिएका छन्। उनी पार्टीको पूर्व सचेतक एवम् मुख्य सचिवसमेत भइसकेका स्थापित नेता हुन।
यस्तै पर्साका लोकप्रिय नेता तथा पूर्व जिवीस सभापति जनार्दन सिंह क्षेत्री पनि पत्रकारिताका एक पुराना साधक हुन भने मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने पनि पुराना पत्रकार हुन ।
महाधिवेशनमा करिब १५० प्रतिनिधिहरू विश्वका विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूमार्फत पनि प्रतिनिधित्व गर्दै छन् । त्यस्ता समितिहरूबाट पनि पत्रकारिता क्षेत्रमा ख्याति कमाएका पत्रकारहरू आउने स्थिति रहेको बताइन्छ । अमेरिकाबाट प्रेस युनियनका पुराना नेता एवम् नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पूर्वसभापति वेदप्रसाद खरेल महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। अष्ट्रेलियाबाट विश्वामित्र खनाल चुनिएका छन्।
नेपाली पत्रकारिता जगतमा कुनै बेला नाम कमाएका रामचन्द्र पोखरेल (तनहुँ), रमेश लेखक र यज्ञराज जोशी (कञ्चनपुर), इन्द्रमणि अधिकारी (काभ्रे), नारायण कोइराला (सुर्खेत), नारायण भट्टराई (कालीकोट) तथा नेपाली काँग्रेसको मुखपत्र ‘नेपाल पुकार’को सम्पादन तथा व्यवस्थापनसँग आबद्ध भई सेवा गर्नुभएका प्रदीपराज शर्मा दाङ, डा देवचन्द्र मिश्र रौतहट र वासुदेव तिमल्सिना धादिङ, तीर्थ भट्टराई खोटाङलगायत कयौ बौद्धिक व्यक्तित्वहरू १३ औँ महाधिवेशनमा निर्वाचित भएर आएका छन्।
यसका साथै नेपाली काँग्रेसले पत्रकारिता तथा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई बढवा दिन नेपाल प्रेस युनियनलाई एक शुभेच्छुक संस्थाका रुपमा महाधिवेशनमा प्रतिनिधित्वको अवसर पनि दिएको छ। युनियनबाट अध्यक्ष बद्री सिग्देल तथा महासचिव अजयबाबु शिवाकोटी, उपाध्यक्ष दीपक आचार्य, कोषाध्यक्ष सरोज अधिकारी र सचिव सूर्य क्षेत्री महाधिवेशन प्रतिनिधिमा चुनिएको युनियनले जनाएको छ।
यसैगरी नेपाल ट्रेडयुनियन काँग्रेसबाट वरिष्ठ पत्रकार केदार कोइराला तथा नेपाल टेलिकममा आबद्ध महासचिव महेन्द्र यादव सिराहाबाट काँग्रेस महाधिवेशनमा प्रतिनिधित्व गर्दै छन्।
“पार्टीको १३ औँ महाधिवेशनमा पत्रकारहरूको यो प्रतिनिधित्वले नेपाली काँग्रेस स्वतन्त्रता र नागरिक हकप्रति समर्पित अभिव्यक्ति स्वतन्त्रताका पहरेदार र प्रबुद्ध तथा सचेत वर्गको प्रतिनिधिमूलक पार्टी भएको हामीलाई अनुभव भएको छ ।” नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवम् नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको आन्दोलनका अगुवा तारानाथ दाहालले भने।
दुईसय चालीस निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। धनुषा जिल्लाको पाँच क्षेत्र, महोत्तरीको तीन क्षेत्र र रसुवा गरी नौ क्षेत्रको क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। यी क्षेत्रबाट १०८ महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी छ। काँग्रेस विधानअनुसार एक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति एवम् समानुपातिक समावेशी प्रतिनिधित्वसहित १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ ।
“सिराहा, बारा, पर्सा, डोल्पा, कन्चनपुर, बझाङ, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक र रसुवा गरी १० जिल्ला अधिवेशन गर्न बाँकी छ, केन्द्रीय महाधिवेशन अघि बाँकी रहेका जिल्ला अधिवेशन हुने सम्भावना कम छ, क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले छिटो गर्न निर्देशन गरेका छौँ”–उनले भने । यी जिल्लाबाटसमेत पत्रकारिता पृष्ठभूमिका व्यक्ति महाधिवेशन प्रतिनिधि निर्वाचित हुने सम्भावना रहेकाले पत्रकारिता क्षेत्रका व्यक्तिको प्रतिनिधित्व १३ औँ महाधिवेशनमा अझै बढ्ने देखिन्छ। रासस