- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आस्रावयेच्चोपचितान् विपर्यस्येच्च कर्मसु ।
यथा न भक्षयन्त्यर्थं भक्षितं निर्वमन्ति वा ॥
अन्वय : (उपचितान् च आस्रावयेत् विपर्यस्येत् च कर्मसु, यथा अर्थम् न भक्षयन्ति भक्षितम् वा निर्वमन्ति ।)
(कौटिलीय अर्थशास्त्र, द्वितीय अधिकरण, प्रकरण २५)
अर्थ – सरकारी धन सम्बन्धी दायित्वमा लगाइएको व्यक्तिबाट पैसा (दण्डस्वरूप) असुली गर्नु पर्छ र उनको पनि रेखदेख गर्नुपर्छ। ताकि उसले पनि धनको भक्षण गर्न नसकोस् । बरु उसले नै सबै धन भक्षकहरुलार्इ कारबाही गरोस् ।
त्यस्तै, सोही प्रसंगमा चाणक्यले सोही पुस्तकको सोही अधिककरणको प्रकरणमा लेखेका छन् कि ।
न भक्षयन्ति ये अर्थान् न्यायतो वर्धयन्ति च ।
नित्याधिकाराः कार्यास्ते राज्ञः प्रियहिते रताः ॥
अन्वय : (ये अर्थान् न भक्षयन्ति न्यायतः वर्धयन्ति च, राज्ञः प्रिय-हिते रताः ते नित्य-अधिकाराः कार्याः ।)
अर्थ – जो कर्मचारी राजाको धन हडप्दैन, उसले न्याय संगत तरिकाले राजाको धन बढाउनको लागि मद्दत गर्छ उसैलार्इ अधिकारीको रुपमा नियुक्त गर्नुपर्छ ।
माथिका यी श्लोकहरु कौटिल्यीय अर्थशास्त्रमा लेखिएको भ्रष्टाचारसम्बन्धी व्यवस्थालाई झल्काउने श्लोक हुन् । भ्रष्टाचार २१ औं शताव्दीको मात्रै होइन यो त सयौं वर्ष पहिलेदेखिको समस्या हो । जसमा कतै भ्रष्टाचार गर्नेलाई जेल सजायको व्यवस्था गरिन्छ त कतै फाँसीको समेत व्यवस्था गरिएको छ । तर, पनि यो समस्या उन्मूलन भने हुन सकेको पाईँदैन । तर, पनि समाजले कहिलै पनि भ्रष्टाचार नियन्त्रणको प्रयासमा हार मानेको छैन ।
हाम्रा धर्म शास्त्रहरुमा राजश्व र देवश्व मास्ने मानिस सात जन्मसम्म नरकमा पर्दछ भन्ने मान्यता रहेको छ । धर्म शास्त्रमाथि मानिसको विश्वास जवसम्म थियो यसले नैतिकतालाई पश्रय दिएको थियो । तर, जव धर्मशास्त्र पनि रद्दीको टोकरीमा फ्याक्न थालियो अनि शंकट सुरु भयो नैतिकताको र त्यसैबाट सुरु भयो भ्रष्टाचार । धर्मप्रतिको आस्थासँगै इमान्दारिताको पनि लीलामी भएपछि मानिसहरु आफ्नो सीमाबाट माथि उठेर अनैतिक काममा लाग्न थाल्छन् । त्यसपछि कर्मचारीहरु खुलेहाम नैतिकता बेच्न पनि पछि पर्दैनन्। यहीँबाट सुरु हुन्छ भ्रष्टाचार ।
परापूर्वकालमा राजकीय व्यवस्था थियो र सो समय प्राय सबै राज्यका सम्पत्तिहरु राजकीय कोषमा जम्मा हुने प्रचलन रहेको थियो । त्यसैले चाणक्य नीतिमा राष्ट्रिय धनलाई राजाको धनको रुपमा उल्लेख गरिएको छ । यसमा आचार्य चाणक्यले धन भक्षकहरुको लागि पनि एउटा छुट्टै गुप्तचरको समेत व्यवस्था गरेको कुरा चाणक्य नीति र कौटिल्यीय अर्थशास्त्रमा समेत भेटिन्छ ।
भ्रष्टाचारको समस्या नेपाल एकीकरणको समयमा पनि उस्तै समस्याको रुपमा रहेको कुरा इतिहासमा भेट्न सकिन्छ । पृथ्वी नारायण शाहले घुस लिने र घुस दिने सबै राज्यका शत्रु हुन् भनेर दिएको अभिव्यक्तिले पनि त्यतिबेला समेत यो समस्याको रुपमा रहेको स्पष्ट हुन्छ । त्यसैले यो भ्रष्टाचारको इतिहासलाई दस्तावेजमा दर्ज गर्दा यहि समयदेखि नै भ्रष्टाचारको काम सुरु भयो भन्न सकिँदैन । यो त मानव सभ्यताको इतिहाससँगै सुरु भएको मान्दा पनि अत्युक्ति नहोला ।
केलाई भन्ने भ्रष्टाचार ?
भ्रष्टाचारको परिभाषालाई शाब्दिक अर्थले परिभाषित गर्ने हो भने यसको अर्थ व्यवहारिक भ्रष्टाचार भन्दा भिन्न हुन आउँछ । व्यवहारिक भ्रष्टाचारलाई पछिल्लो समय आर्थिक विषयसँग जोडेर विश्लेषण गर्ने गरिएको छ । तर, शाब्दीक अर्थले यसलाई नैतिकता हराएका मानिसको आचारलाई समेट्ने गर्दछ । अर्थात् यी सबै विषयलाई आधार मानेर कुरा गर्दा आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर कुनै व्यक्ति समाज र राष्ट्रलाई नोक्सानी हुने गरी गरिने काम नै भ्रष्टाचार हो । विशेषगरी अविकसित र अल्पविकसित मुलुकहरुमा मुख्य समस्याको रुपमा रहेको भ्रष्टाचारलाई देशगत रुपमा आधार मान्ने हो भने गरिबीलाई भ्रष्टाचारको कारण मान्ने गरिएको छ । तर, मानिसको वर्ण, सम्पत्ति र उसको पारिवारिक पृष्ठभूमिले नभई मानिसलाई नैतिकताको अभाव यही एउटा मात्रै कारणले भ्रष्ट भनाउँछ ।
यसको एक उदाहरण केही समय अघि नेपालमा चर्चाका पात्र बनेका लोकमान सिंह कार्कीलाई पनि लिन सकिन्छ । यसबाट पनि हामी मानिसमा गरिबीले नभई दरिद्रीपनाका कारण नै नैतिकताको खडेरी लाग्ने गरेको कुरालाई सहजै स्वीकार गर्न सक्दछौं ।
भ्रष्टाचार सबै क्षेत्र र तहका मानिसबाट हुन्छ । आफ्नो जिम्मेवारी पूरा नगर्नु र जिम्मेवारी बाहिरको काममा कुनै न कुनै स्वार्थ जोडेर काम गर्नु नै भ्रष्टाचार हो । यसको सुधारको लागि दुईटैमात्रै विकल्प रहेको छ । पहिलो त मानिसको संस्कारमा सुधार ल्याउनु नै आवश्यक हुन्छ भने दोस्रोमा यसको लागि कडा कानूनको व्यवस्था बनाउनु नै हो । तर, अहिले भ्रष्टाचारको सूचकांकको आधारमा हेर्ने हो भने डेनमार्क जस्ता मुलुकमा मानिसमा देखिने इमान्दारिता र नैतिकता कै भरमा आर्थिक भ्रष्टाचार शून्य प्रायः नै छ ।
ती देशहरुसँग तुलना गरेर हेर्दा विशेषगरी निर्वाचनमा अथाह पैसा खर्चगरी निर्वाचन खर्च दिनानु दिन बढ्दै जानु नै नेपालमा भ्रष्टाचार बढ्नुको मूल कारण मान्न सकिन्छ । यसमा राजनीतिक नेतृत्वले चाहेमा एउटा निर्णयबाट नै भ्रष्टाचार हदैसम्म न्यूनीकरण गर्न सक्दछन् । तर, कर्मचारीतन्त्रको काखी च्याप्ने राजनीतिक दल र भ्रष्टाचारको स्रोत हो भन्न सकिन्छ । यस बाहेक पनि खबरदारी गर्नुपर्ने पत्रकारिता, गैरसरकारी संस्था आदि समेत आफ्नो जिम्मेवारीभन्दा पनि आफ्नो आचरण विपरितको काममा लाग्नु नै भ्रष्टाचार मौलाउनुको मूल कारण हो ।
गैर इमान्दार नेताले निर्वाचनमा भागलिनबाट नै डराउनुपर्ने वा पछि हट्नुपर्ने, एउटा राजनैतिक नियुक्तिकोलागि करोडौ चन्दादिनुपर्ने, यहाँसम्म कि न्यायधीस नियुक्तिमा समेत अथाह पैशाखर्च गर्ने प्रवृतिकाबारेमा सुनेको र कतिपय कुराहरु देखे र भोगेको समेतका कारण पनि भ्रष्ट्राचार निर्मुल नै हुने कुरा कल्पनापनि गर्न नसकिने अवस्थामा हाम्रो पुस्तालाई उभ्याइएको छ ।
अदालतबाट भ्रष्टाचार प्रमाणित भई कैद सजाय भुक्तान गरेपछि कारागारबाट नै अविर जात्रा सहित ल्याउने गरिएका हाम्रा ठुला मान्छेहरुको लाम र कुनैपनि सरकारी कार्यालयमा जाँदा हाकाहाकी थप पैसामाग्ने र नदिएमहिनौंसम्म राजधानीका मुख्य कार्यालयहरुमा समेत काम नहुने प्रचलनका भुक्तभोगी सर्वसाधारण नेपाली नागरिकहरु मालपोत कार्यालय वा नगरपालिकामा गएर जग्गादर्ता गरेपछि वा घरको निर्माण सम्पन्न प्रमाणपत्रको लागि थप पैसा लगानी बिना नै लालपुर्जा वा उक्त प्रमाणपत्र प्राप्तभयो भने सक्कली नै हो भन्ने कुरामा बिश्वस्त हुनै कठिन हुने संस्कारमा हुर्किएको पात्रलाई यस्ता कुराहरु विश्वास नै गर्दैनन् । यो नै भ्रष्टाचारले निम्त्याएको संकट हो ।