arrow

काँग्रेस महामन्त्रीका लागि केसी र थापा दुबै तयारीमा

सिटौला र थापाको टीम संस्थापनको टाउको दुखाई

logo
राजनीतिक व्यूरो
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
arjun-narsingh-kc-gagan-thapa.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिहं केसीले महामन्त्रीका लागि उमेदवारी घोषणा गर्ने अन्तिम तयारी गरिरहँदा महामन्त्रीकै लागि अर्का प्रभावशाली नेता गगन थापा पनि तयारीमा छन्। केही समयदेखि बरिष्ठ नेता शेरबहादुर देउवा निकट भएका केसीले उमेदवारी घोषणा गर्ने अन्तिम तयारी गरेका हुन्। उनले वागवजारमा सम्पर्क कार्यालय समेत लिएर आफ्नो प्रचारलाई तिव्रता दिएका छन्। थापाले भने मैतिदेवीमा सम्पर्क कार्यालय खोलेर महामन्त्रीको प्रचारमा संगठीत ढंगले लागेका छन। 
 
बरिष्ठ नेता देउवा सहित देउवा पक्षका प्रभावशाली नेताहरुसँग छलफल गरेर महमन्त्रीमा उमेदवारी दिने सहमति मंगलवार नै जुटाएका केसीले देउवा परिवारमा परेको शोक र केन्द्रीय समितिको वैठक परेका कारण केहि दिन उमेदवारी घोषणा ढीलो भएको जनाएका छन्। उनले पत्रकार सम्मेलन आयोजना गरेर उमेदवारीको घोषणा गर्ने तयारी गरेका छन्। थापा भने पार्टीका महामन्त्री कृष्ण प्रसाद सिटौलासँग सहकार्य गरेर महामन्त्रीमा उमेद्वार बन्ने तयारीमा छन्।
 
देउवा सहित पदाधिकारीहरुको टीम घोषणा एकैसाथ गर्ने भनिएपनि पारिवारिक शोकको कारण ३ दिन कुनै पनि घोषणा आफूले नगर्ने तर आफ्नो पक्षको महामन्त्रीको रुपमा घोषणा गर्न केसीलाई देउवाले सुझाए पनि केसीले पनि टीमको प्रमुखलाई परेको शोकको बेला आफू पनि घोषणा नगर्ने भन्दै पछि हटेका थिए। 
 
केसीको अप्ठ्यारो
देउवा पक्षबाट महामन्त्रीको उमेदवार बन्ने सहमति जुटाएर उमेदवारी घोषणाको चरणमा पुगेपनि उनलाई महामन्त्रीको उमेदवारी घोषणा गर्न अझै हतारो नगर्न दवाव रहेको छ। त्यो दवाव कार्यकर्ताहरुबाटै रहेको छ। महामन्त्रीमा संस्थापन निकट एउटा समुहबाट काँग्रेसका अर्का लोकप्रिय नेता तथा नाताले ज्वाई पर्ने गगन थापा पनि उमेदवार बन्ने पक्कापक्की भएपछि केसीलाई ज्वाई ससुराको कुरा के हो भन्दै धेरैले प्रश्न गरेका छन्। यहि प्रश्न देउवाले पनि सोधेपछि केसी पनि झस्किए। देउवाले केसीलाई गगन थापा महामन्त्रीमा उमेद्वार भए आफ्नो पक्षबाट महामन्त्रीमा चुनाव लड्ने नलड्ने भनेर प्रश्न गरेका थिए। देउवालको यो प्रश्नले केसीलाई निकै अप्ठ्यारोमा पार्यो। केसीले देउवालाई जवाफ दिए 'संस्थापन भित्रैबाट थापा महामन्त्रीको उमेद्वार भए भने मैले सोहि पदमा दावी गर्दिन। तर त्यो सम्भावनै नभएको अवस्थामा मैले महामन्त्रीमा उमेद्वारी नदिने कुरै छैन।'
 
वहालवाला महामन्त्री कृष्ण सिटौलाको टीमबाट थापा महामन्त्रीको उमेद्वार बन्ने चर्चासँगै केसीले आफू देउवा पक्षबाट महामन्त्रीको उमेद्वार बन्ने पक्कापक्की गरेका हुन्। उनले अब ज्वाई नै मसँग चुनाव लड्न आएपनि आफू पछि नहट्ने परिवारका अन्य सदस्यहरुलाई पनि बताएका छन्। पारिवारिक नाता एक ठाउँमा भएपनि राजनीति अर्को ठाउँमा हुने भन्दै केसीले यसलाई सहजतापूर्वक लिनुपर्ने भन्दै परिवारका सदस्यहरुलाई पनि बुझाएका छन्। नातामा ज्वाइ ससुरा दुवै जना एउटै पदमा लड्नु उपयुक्त नहुने भन्दै फरक फरक पदमा लड्न सुझाव दिनेहरुले यसो गर्दा दुवै जनाले जित्ने संभावना बलियो हुने तर्क पनि गरेका छन्। एकातिर ज्वाइका कारणले निर्णय गर्न सकेन भन्ने देउवा समुहमा छाप पर्ने र अर्कोतर्फ सुभेच्छुक र नातेदारहरुको चर्को दवाव केसीले व्यहोरिरहेका छन्। थापालाई महामन्त्रीमा उमेदवारी बन्न मार्ग प्रसस्त गरेर केसीलाई उपसभापति बन्ने मार्ग खुला गर्न केन्द्रीय सदस्यमा उठ्न सुझाव पनि आएको छ। तर उनले आफू महामन्त्री बाहेक कुनै पनि पदमा नलड्ने बताउँदै आएका छन्। 
 
थापालाई पनि उत्तिकै दवाव
केसीलाई पारिवारिक दवाव बढ्दै जाँदा तिनिहरुले थापालाई पनि दवाव दिएका छन्। कार्यकर्ता र नेताहरुको पनि कुराकानीको बिषय पनि थापा र केसी भएका छन्। उनीहरुको एकै पदको दावी र अलग अलग समुहबाट उठ्ने घोषणा हुने कुराले सबैले अप्ठ्यारो पनि महशुस गरेका छन्। दुवैलाई भेटेका नेता तथा आफन्तहरुले विवेक पुर्याउन दुबैलाई सम्झाएका छन्। कुनै एक प्यानलको मात्र उमेदवार नवनी सवैको साझा उमेदवारका रुपमा प्रस्तुत हुन पनि थापा र केसीलाई सुझाइएको कार्यकर्ताहरुको भनाइ छ। नाताले ज्वाई ससुरा भएपनि पार्टीभित्र लोकप्रियताको कसीमा दुबै उत्तिकै छन। यूवाहरुमाझ थापाको छवी अझ बढी रहेको अवस्थामा पाका नेताहरु कतिपय केसीतर्फ छन्। जो जतातर्फ भएपनि एउटै पदमा लड्दा पारिवारिक संवन्धमा समेत समस्या आउने भन्दै बिशेषगरि नातेदारहरु मध्यस्थता गर्न लागरहेका छन्। तर दुबै टसको मस गर्ने अवस्थामा नरहँदा चिन्ता बढ्दै गएको छ। 
 
केसी थापाको तनाव अरुलाई रमाइलो
दुबै नेता महामन्त्रीमा उठ्ने अडानमा रहँदा अरुले भने यसलाई रमाइलो मानेर हेरेका छन्। पारिवारिक संवन्ध र राजनितिक संवन्ध फरक फरक विषय भएको बताउदै आफुहरु महामन्त्रीको उमेदवारीबाट पछाडी नहट्ने उनीहरुले बताउदै आएका छन्। तर यही अवस्था रहेमा काँग्रेसको महाधिवेशन उनीहरुका लागि सकसपुर्ण भएपनि अन्यलाई भने ज्वाई ससुराको एकै पदका लागि अलग समुहबाट हुने लडाई हेर्न रोमाञ्चक नै हुनेछ।
 
सिटौला र थापालाई मनाउने प्रयास
संस्थापन पक्षकै अलग खेमा बनाएर चुनावमा जाने तयारी गरिरहेका काँग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौला र प्रभावशाली केन्द्रीय सदस्य गगन थापालाई अझै पनि मनाउने प्रयासमा काँग्रेस संस्थापन पक्षका नेताहरु लागेका छन्। नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसंगै कार्यबाहक सभापति रामचन्द्र पौडेलले संस्थापन पक्षका नेता फकाएर साझा उम्मेदवार बन्न लागि परेका छन्। साझा उम्मेदवार बनाउन भन्दै केन्द्रीय सदस्य रामशरण महतको निवासमा बिहीवार संस्थापन पक्षका नेताको गोप्य बैठक बसे पनि सभापतिका आकांक्षी महामन्त्री सिटौलाले दाबी छोडेका छैनन्। संस्थापन निकट झण्डै एक दर्जन नेताहरु सहभागि भएको वैठकमा सिटौलालाई सभापतिको उमेद्वारीबाट पछि हट्न आग्रह गरिएको थियो। सभापति सुशील कोइरालाको निधनपछि आफू स्वभाविक उम्मेदवार भएको कार्यबाहक सभापति पौडेलले दाबी गर्दै अन्य आकांक्षीसंग सहयोग मागेका थिए। तर सभापतिका आकांक्षी महामनत्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले पार्टी नेतृत्व लिनका लागि पौडेलसँग कार्ययोजना मागेका थिए। 
 
सो वैठकमा सहभागि सिटौला सभापतिको उमेद्वारको रुपमा कायम रहने बुझाइपछि पौडेलले सिटौला नेतृत्वमा महामन्त्रीको उमेद्वार बन्ने तयारी गरिरहेका गगन थापासँग पनि भेटेका छन्। चाहविलको एक घरमा थापासँग पौडेलले एक्लै कुरा गरेका थिए। भेटमा सभापतिको उमेद्वार हुनबाट रोक्न सिटौलालाई कसरी मनाउन सकिन्छ भन्दै पौडेलले सहयोग मागेका थिए। सो भेटबारे थापाले खासै उल्लेख नगरेपनि पौडेललाई थापाले सिटौला र आफू सम्मिलित समुहलाई कमजोर आँक्ने भुल नगर्न सुझाएको स्रोतको दावी छ। 
 
देश तथा विदेशबाट आएका यूवा प्रतिनिधीहरु मध्ये ७१८ महाधिवेशन प्रतिनिधीहरुको बलमा आफू महामन्त्रीको उमेद्वार रहेको र कुनैपनि टीमबाट उमेद्वार बन्दा आफू मात्र हैन टीमलाई पनि जिताउन सकिने भन्दै थापा पनि महामन्त्रीको गृहकार्यमा लागेका छन्। उता सिटौला पनि देशभरका प्रभावशाली कार्यकर्ताहरुलाई भेट गर्दै उनीहरुको सहयोगको बारेमा छलफलमा छन्। उनले आफू पौडेलभन्दा बलियो उमेद्वार भएको संस्थापनकै छलफलमा पनि राख्दै आएका छन। शुरुमा वेवास्ता गरिएपनि देशभरबाट आएका कार्यकर्ताहरुले सिटौला नेतृत्वको टीमलाई कमजोर नआँक्न सुझाव दिइएपछि संस्थापनका नेताहरु यसलाई कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्य र पहलमा रहेका छन्। तर ठस निकास निस्कने सम्भावना अझै नदेखिएको बताइएको छ।



नयाँ