काठमाडौैं । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि गठन गरिएका विषयगत सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको बताएका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले पार्टीको आगामी नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गृहकार्य गरिरहेको समितिका संयोजक पौडेलले जानकारी दिए ।
पौडेलले नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिको बैठकमा पेस गरेपछि धेरै सुझाव आएकाले अहिले त्यसलाई समेटेर अर्को मस्यौदा बनाउने काम भइरहेको बताए । ‘साथीहरुको धेरै सुझाव आएका छन्, तिनीहरुलाई समेटेर नीति तथा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने गृहकार्य भइरहेको छ, सम्भवतः अब बस्ने केन्द्रीय समितिको बैठकमा सुझावसहितको मस्यौदा पेस हुनेछ,– पौडेलले भने ।
महाधिवेशनका लागि गठित अर्को महत्वपूर्ण समिति हो विधान संशोधन समिति । विधानलाई समयसन्दर्भअनुसार संशोधन गर्ने प्रस्ताव तयार पार्न गठन गरिएको समितिले पनि मस्यौदा बनाइसकेको छ । तर समितिका संयोजक तथा सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङगाना आफ्नो गृह जिल्लामा भएकाले पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्न पाएका छैनन् ।
‘विधानका बारेमा समितिमा पटकपटक छलफल भएको छ, छलफलका आधारमा मस्यौदा बनाएर पेस गर्ने जिम्मा संयोजकलाई दिइएको हो, तर उहाँको व्यस्तताका कारण पेस हुन नसकेको हो,’ समितिका सदस्य बालकृष्ण खाँडले–भने । उहाँले संयोजक ढुङ्गाना काठमाडौँ फर्किएपछि बस्ने केन्द्रीय समितिको बैठकमा विधान संशोधनको प्रस्ताव पेस हुने बताए ।
पार्टीका प्रचार विभाग प्रमुख तथा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजालको संयोजकत्वमा रहेको प्रचार प्रसार समिति भने फुर्सदमा छ । समितिले विभिन्न उपसमिति बनाएर उनीहरुलाई कामको जिम्मा लगाएकाले समिति फुसर्दमा रहेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।
पाण्डेका अनुसार विद्युतीय प्रचारलाई बढी जोड दिने समितिको तयारी छ । समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने तयारीसमेत गरिरहेको छ ।
‘भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा होर्डिङबोर्ड, स्वागत द्वार, फ्लेस आदि प्रयोग गरिनेछ,’ रिजालले भने, – ‘रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने भएका छौँ ।’ महाधिवेशनको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने जिम्मेवारी लिएको अर्थ समिति पनि अहिले निकै सक्रिय भएको छ । समितिले बाहिरबाट चन्दा र सहयोग उठाउने भन्दा पनि आन्तरिक रुपबाटै स्रोत जुटाउने कसरत गरिरहेको समितिका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्काले जानकारी दिए ।
खड्काले पार्टीका केन्द्रीय सदस्य, सांसद, विभिन्न सङ्घ–सङ्गठन, लाभको पदमा रहेकाबाट आर्थिक सहयोग जुटाउने काम भइरहेको बताउनुभयो । ‘पार्टीको निर्वाचनका बेला उम्मेदवारी दिनेहरुको सङ्ख्या धेरै हुने भएकाले उनीहरुबाट पनि धेरै रकम उठ्न सक्छ,’ –खड्काले भने । अर्थ समिति पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा रहेको छ ।
देश–विदेशबाट महाधिवेशनका लागि आउने प्रतिनिधि, पर्यवेक्षक, पाहुना, सहयोगी लगायतलाई खाने र बस्ने व्यवस्थाका लागि आवास तथा भोजन व्यवस्थापन समितिले तीव्र रुपमा काम गरिरहेको छ । काठमाडौँका चार ठाउँका होटललाई आजदेखि पेश्की दिएर बुकिङ गर्ने काम सुरु भएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिए ।
‘अर्थ समिति र भोजन समितिका सदस्यको संयुक्त टोलीले आजदेखि आवासका लागि होटलको बुकिङ सुरु गरेको छ भने भोजनका लागि टेन्डर आह्वान गरिएकाले केही दिनमा ठेकेदारको टुङ्गो लाग्नेछ,’ संयोजक केसीले भने । यही फागुन २० गतेदेखि महाधिवेशन हुने भएकाले १९ गते साँझदेखि २३ गते साँझसम्मका लागि झन्डै चार हजार प्रतिनिधि, पर्यवेक्षक, पाहुना र सहयोगीलाई खाने र बस्ने व्यवस्था गर्नुपर्ने केसीको भनाइ छ ।
त्यसैगरी, विदेशी पाहुना स्वागत समिति, स्वास्थ्य समिति, स्वयम्सेवक व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति लगायतले पनि आ–आफ्नो काम गरिरहेको बताइएको छ । महाधिवेशन अवधिभरिका लागि भूपूसैनिक सङ्घका झन्डै १५० स्वयम्सेवक परिचालन गर्ने तयारी भएको सङ्घका महासचिव मेघराज टन्डनले जानकारी दिए । सांस्कृतिक समितिले भने महाधिवेशनको उद्घाटनसत्रमा प्रस्तुत गर्ने एक–एकवटा स्वागत नृत्य र स्वागत गीत प्रस्तुत गर्ने तयारी गरेको समितिका संयोजक मीना सुब्बाले जानकारी दिए । रासस