महाकाली नदीमा अवैध उत्खनन्, एसियाकै दोस्रो लामो झोलुङ्गे पुल धरापमा
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर ३ सोमबार
449
Shares
कञ्चनपुर । महाकाली नदीको तटबन्ध र पुलकै छेउबाट ढुङ्गा–बालुवा उत्खनन् कार्य भईरहेको छ । कञ्चनपुरको एसिया महाकाली नदी क्षेत्रबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भईरहेको हो ।
राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ड, नहर, तटबन्धको ५ सय मिटर ‘अपस्ट्रिम र डाउनस्ट्रिम’ भित्रबाट ढुङ्गा, वालुवा, ग्राभेल र माटो झिक्न नपाईने मापदण्ड निर्धारण गरिए पनि महाकाली नदीबाट ढुङ्गा, वालुवा गिटी निकालिरहेका छन् ।
एसियाकै दोस्रो लामो झोलुङ्गे पुल, महाकाली नदीको वारीपारी निर्माण गरिएका तटबन्ध छेउबाटै ढुङ्ग, वालुवा, गिटी उत्खनन् भईरहेको छ ।
जिल्ला समन्वय समिति कञ्चनपुरले महाकाली नदीको ढुङ्गा, वालुवा, गिट्टी र माटोमा रोउल्टी उठाउँदै आएको थियो । तर, यसआर्थिक बर्षदेखि कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाले रोयल्टी उठाउन लागेका छन् । दुवै स्थानीय तह बिच प्राकृतिक स्रोत बाँडफाँटबारे विवाद हुँदा महाकाली र भीमदत्त नगरपालिकाले आफै रोयल्टी उठाईरहेका छन् ।
असोजदेखि स्वयम पारी महाकाली र वारी भीमदत्त नगरपालिकाले रोउल्टी उठाउन लागेका हुन् । नदीबाट मापदण्ड विपरित उत्खनन् हुँदा समेत दुवै स्थानीय सरकारले पहल गरेका छैनन् । ५ सय मिटर भन्दा टाढाबाट उखनन् गर्नुपर्ने भएपनि पुल र तटबन्धकै ५० मिटर देखि ४ सय मिटर भित्रबाटै ढुङ्गा, वालुवा, उत्खनन् हुँदा पुल र तटबन्ध जोखिममा परेका छन् ।
महाकाली तटिय क्षेत्रका स्थानीय एव भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले उत्खनन् गर्ने एरिया छुटाईदिएको बताए । उनले कहिलेकाही उत्खनन् गर्ने मजदुरले तटबन्ध र पुलकै छेउबाट उत्खनन् गरिदिने बताए । ‘तोकिएको क्षेत्रभन्दा बाहिर गएर ढुङ्गा संकलन गर्न पाईदैन, ‘वडा अध्यक्ष शाहीले भने, ‘मापदण्ड विपरित उठाउने कार्य रोक्नका लागि चौकिदार राखिएको छ ।’
महाकाली नदीको कटानी रोक्न तटबन्ध निर्माण गर्दै आएको जनताको तटबन्ध फिल्ड कार्यालय ७ नम्बर महेन्द्रनगरले तटबन्धकै छेउबाट उत्खनन् भईरहेको विषयमा पटक पटक दुवै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार गर्दा समेत रोकिएको छैन् । हिउँदका बेला तटबन्ध र पुलकै छेउछाउबाट ठुलठुला खाल्टाखुल्टी पर्ने गरि उत्खनन् गर्दा बर्षातका बेला नदीले धार परिर्वतन गर्दै गएको बर्षातमा तटबन्ध भत्काएको थियो ।
भीमदत्त नगरपालिका प्रवक्ता राजेन्द्र पाण्डेले मापदण्ड विपरित नदीबाट उत्खनन् गर्न नपाईने बताउदै उक्त कार्य कसैबाट भईरहेको भए तुरुन्तै रोकिने बताए । दुवै नगरपालिकाविच स्रोत बाँडफाँडको विषय टुङ्गो लागे भीमदत्तनगरले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का दिने बताए ।
जनताको तटबन्ध फिल्ड कार्यालय ७ नम्बर महेन्द्रनगरका प्रमुख प्रचण्डदेव विष्टले मापदण्ड विपरित भईरहेको उत्खनन् रोक्नका लागि सम्बन्धीत निकायसंग पत्राचार गरिसकेको बताए । कार्यालय प्रमुख विष्टका अनुसार अवैध अन्दाधुन्द उत्खनन्का कारण नदीले बर्षातका धार परिर्वतन गर्दा तटबन्ध समेत असर पर्ने भएकाले समयमै सचेत गराईएको छ । तटबन्ध छेउबाटै कहाँ कहाँ कुन कुन क्षेत्रमा ढुङ्गा, गिटी, वालुवा निकालिरहेका छन् । त्यसको अध्ययनका लागि ईन्जिनियर कलम महाताको नेतृत्वको टोली खटाएको छ ।
टोलीले अध्ययन गरेर प्रतिवेदन पेश गर्ने छ । महाकाली र भीमदत्त नगरपालिकाले आफुले रोयल्टी उठाईरहेका कुनैपनि व्यक्ति समुहले मापदण्ड विपरित उत्खनन् नगरेको दावि गरेका छन् । स्थानीय तहले महाकाली पुल निर्माणको ठेकेदारले अवैध उत्खनन् गरेको आरोप लगाएका छन् । अवैध उत्खनन् कार्यले महाकाली नदीमा बनेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल धरापमा परेको छ ।