काठमाडौं । चीनले पछिल्लो १० महिनामा प्रदूषणसम्बन्त्री अपराधमा ३५ सय मानिसहरुलाई कारबाही गरेको छ । अघिल्लो वर्षको तुलनामा चीनले यो अपराधमा ४० प्रतिशत बढी मानिसहरुलाई कारबाही गरेको हो ।
चीनले प्रदूषणको अपराधमा शून्य सहनशीलताको नीति लिएको छ । विहीबार चिनियाँ अधिकारीहरुले वातावरणसम्बन्धी नियमको पालना नगर्ने मानिसहरुलाई कडाइका साथमा कारबाही सुरु गरिएको बताएका हुन् ।
यद्यपि मुद्दा दायर भएको तुलनामा भने निकै कमले मात्र सजाय पाएका छन् । सजाय पाउने मानिसहरुबाट एक अर्ब ५३ करोड डलर जरिवाना उठाइएको छ ।
गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङले वातावरणको नियम पालना नगर्ने मानिसहरुलाई निकै कडा सजाय दिइने बताएका थिए । उक्त योजनाको प्रभावस्वरुप चीनमा वातावरणको मामिलामा सजाय पाउने मानिसहरुको संख्या उल्लेख्य रहेको देखिएको हो ।