arrow

ओझेलमा काँग्रेसको कोषाध्यक्ष

सवै समुहले उम्मेदवार उठाउने तयारी

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
Ksadhyak6e.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशनबाट निर्वाचित हुने प्रमुख तिन पदाधिकारी मध्ये कोषाध्यक्ष अनपेक्षती ओझेलमा परेको छ । पार्टीको संपुर्ण आर्थिक जिम्मेवारी पाउने कोषाध्यक्ष पदमा न त प्रभावशाली नेताहरुको आकर्षण देखियो न त संचार माध्यम र कार्यकर्ताहरुको नै जिज्ञासा र चासो देखियो । सरकारको अर्थमन्त्री बन्न तछाडमछाड गर्नेहरु पनि पार्टीको “अर्थमन्त्री” बन्न भने नचाहेको देखिएको छ । 
 
काँग्रेसको सभापति, महामन्त्री र कोषाध्यक्ष मात्रै निर्वाचित पदाधिकारी हुन । उपसभापति, अर्को एक महामन्त्री र सहमहामन्त्री मनोनित पद हुन् । उनीहरुको अग्रपंतीमा रहेर गर्नु पर्ने कुनै भूमीका पनि हुदैन । तर मनोनित हुने ति पदका लागि नेताहरुले वार्गेनिङ गरेको देखिएपनि प्रत्यक्ष निर्वाचित हुने र संसदीय बोर्डको सदस्य हुने र कोषको प्रमुख जिम्मेवारी भएको कोषाध्यक्ष पदका लागि भने नेताहरुको चासो नहुनुको पछाडी के छ त कारण? काँग्रेस नेता मानवहादुर विश्वकर्मा भन्छन्, “नेतृत्वदायी भन्दा प्रशासनीक काम बढी भएकाले त्यसतर्फ आकर्षण नभएको होला ।” अर्थ प्रशासनको जिम्मेवारीले व्यस्त बनाएपनि कार्यकर्ताहरुसँग प्रत्यक्ष संवन्ध नबनाउने भएकाले नेताहरु यता भुल्न नचाहेका उनको बुझाई छ। 
 
त्यस वाहेक यसअघिका कोषाध्यक्षहरुको भुमीका आकर्षक नभएकाले पनि यस पदप्रति धेरैको वास्ता नभएको हुन सक्ने अधिकांश नेताहरुको भनाई छ। पार्टीमा गिरिजाप्रसाद कोईराला पहिलोपटक सभापति हुदा महन्त ठाकुर कोषाध्यक्ष थिए भने दोस्रो पटक सभापति हुँदा रामकृष्ण ताम्राकार कोषाध्यक्ष थिए । तर उनीहरु नाम मात्रका कोषाध्यक्ष भएका र आर्थिक जिम्मेवारी सवै पार्टी सभापति कोईरालाले नै लिएकाले उनीहरु ओझेलमा परेका थिए। त्यसैगरी स्वर्गिय सुशील कोईराला सभापति भएको अहिलेको कार्यसमितिमा कोषाध्यक्ष रहेकी चित्रलेखा यादव पनि पदाधिकारीको सुचीमै नपरी कार्यकाल सकिएको छ । पदाधिकारीको बैठक हुदा समेत उनलाई नवोलाईने र आर्थिक विषयमा समेत उनको खास सक्रियता नदेखिएकाले अहिले पनि कोषाध्यक्ष पद नाममा मात्रै सिमित भयो । तैपनि विधानतः कोषाध्यक्षको उम्मेदवारी पर्नै पर्ने भएकाले सवै समुहले आ आफ्नो समुहबाट उम्मेदवार उठाउने तयारी गरिरहेका छन् । 
 
कोषाध्यक्षका लागि अहिले पनि महिला र मधेशी दुवै भएकोले बरिष्ठ नेता शेरवहादुर देउवाको पक्षबाट सवै भन्दा बढी संभावना चित्रलेखा यादवकै देखिन्छ । त्यस वाहेक नेता खुमबहादुर खड्काको समुहकी नेतृ मानिने कानुन व्यवसायी पुष्ठभुमीकी पुष्पा भुषालको संभावना पनि बढी देखिएको छ । त्यस्तै काँग्रेस संसदीय दलका पुर्व प्रमुखसचेतक लक्ष्मणप्रसाद घिमिरेको पनि देउवा पक्षले कोषाध्यक्षका लागि चर्चा गरेको छ । उनलाई गोविन्दराज जोशी लगायतका नेताहरुले बढी जोड गरेका छन्। 
 
पौडेल पक्षबाट भने मधेशी समुदायकै नेताको नाम आउने लगभग निश्चित भएको छ । यसअघि पनि कोषाध्यक्षको उमेदवार भएर यादवसंग पराजित भएका पद्मनारायण चौधरीको नाम यस पटक पनि कोषाध्यक्षको सुचीमा रहेको छ । त्यसैगरी फरमुल्लाह मन्सुरको नाम पनि पौडेल पक्षका केही नेताहरुले लिएका छन् भने राष्ट्रपति डा रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम कोषाध्यक्षका लागि अग्रपंतीमा देखिएको छ । चौधरी यसअघि पराजित उम्मेदवार भएकाले नयाँ अनुहार र युवा भएकाले यादवको संभावना बलियो देखिएको छ। राष्ट्रपतिका छोरा हुनु, नयाँ अनुहार र युवा हुनु तथा डाक्टर हुनुले पनि उनलाई धेरैले मन पराउलान् भन्ने संस्थान पक्षका केही नेताहरुको तर्क छ। कोषाध्यक्षको उम्मेदवार कस्लाई बनाउने भन्ने निर्णय भने अव एक दुई दिनमा हुने पौडेल निकट नेताहरुले जानकारी दिएका छन् । 
 
पार्टीको संस्थापन पक्षकै अर्का नेता तथा सभापतिका उमेद्वार कृष्णप्रसाद सिटौला नेतृत्वको समुहबाट कोषाध्यक्ष बन्ने उम्मेदवारको भने कसैको पनि चर्चा सुनिएको छैन । उनीहरुले प्यानल सहितको उम्मेदवारी दिने अवस्थामा मधेशी, महिला, मुस्लीम, आदीवासी जनजाती मध्येको कुनै समुदायको नेतालाई कोषाध्यक्षको उम्मेदवार बनाउने सिटौला प्यानलको तयारी छ । श्रोतका अनुसार पुर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरी, पुर्वमन्त्री मोहम्मद अफ्ताफ आलम, केन्द्रीय सदस्य रामकुमार चौधरी मध्ये कुनै एक नेता कोषाध्यक्षको उम्मेदवार हुनेछन् । 
 
काँग्रेसको विधानमा कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ६ ओटा तोकिएको छ । 
 
 



नयाँ