काठमाडौं। क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरेको भनेर आलोचित बनेको एशिया प्याशिफिक समिटलाई लक्षित गरेर सरकारले भोली बिहीबारदेखि जोर विजोर प्रणाली लागू गर्न लागेको भन्दै केही युवाहरुले आपत्ति जनाएका छन् । युथ कंग्रेस नेपालले बुधबार विज्ञप्ती जारी गर्दै भोली १३ गते देखि १६ गते सम्मका लागि घोषणा गरिएको जोरविजोरको व्यवस्थाप्रति आपत्ति जनाएको हो ।
राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ । युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “राज्यसँग सम्वन्धीत कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो । तर अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?”
अन्तर्राष्ट्रिय गैससले आयोजना गरेको कार्यक्रमका लागि लागु गरिएको जोर विजोर प्रणालीलाई युथ कंग्रेसले राज्यको गैरजिम्मेबार कदम भनेको छ । सरकारको निर्णयलाई आफुहरुले अबज्ञा गर्ने घोषणा गर्दै युथ कंग्रेसले आम जनसमुदायलाई पनि जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेको छ । “जिम्मेबार राज्यले गर्न नसुहाउने, रहस्यमय, शंकास्पद र अस्वभाविक यो निर्णयको अबज्ञा गर्नुहुन हामी आम जनसमुदायमा पनि आह्वान गर्दछौ,” विज्ञप्तीमा लेखिएको छ ।
“आफुलाई खरो राष्ट्रवादी देखाउन खोज्ने केपी ओली नेतृत्वको सरकारले गैरसरकारी संस्थाको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको यस निर्णयको अवज्ञाका क्रममा हुने अप्रिय घटनाप्रति सरकार नै जिम्मेबार हुनु पर्ने चेतावनी पनि दिन चाहन्छौं,” तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उनले प्रश्न गरेका छन् , “आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती व्यहोर्नुपर्ने ?” सामाजिक सुरक्षा योजनासँगै नयाँ युग सुरु भएको बताएको ओली सरकारलाई यस्ता निर्णयले गिज्याईरहेको युथ कंग्रेसको टिप्पणी छ । विज्ञप्तीमा लेखिएको छ, “ओली सरकारले मर्यादा भुलेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चाकडीका लागि लागु गरेको जोर विजोर प्रणालीको अबज्ञा गरौँ ।”
आउदो शुक्रबार (मंसिर १४ गते)देखि १७ गते सम्म काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटमा विभिन्न देशका विशिष्ट व्यक्तिहरु आउने भएकाले यातायात व्यवस्थापनका लागि भोली बिहीबार देखि १६ गते सम्म राजधानी काठमाडौमा जोर गते जोर नम्मरका सवारी साधन र विजोर गते विजोर नम्मरका सवारी साधान चलाउन पाईने व्यवस्था गरेको छ ।