अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती
एएफपी,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
885
Shares
टाम्पा। औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ। अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ।
सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयू ७८ दशमलब ६ वर्ष भएको छ।
अमेरिकामा पछिल्ला वर्षहरुमा अफिमको प्रयोग बढेको, दुखाई कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागूपदार्थको प्रयोग बढेको छ। एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयूमा पहिलोपटक कमी आएको थियो, र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ।
समग्रमा, सन् २०१४ देखि नै औसत आयू घट्ने प्रवृत्ति रहेको तथ्याँकले पुष्टी गरेको छ। राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयूमा शून्य दशमलब ३ प्रतिशतले कमी आइसकेको छ।
“औसत आयू घट्टो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,” एन्डरसनले बताए। यस किसिमको प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लू र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन। “हामी विकसित मुलुक हौं, हामीसँग धेरै स्रोतसाधन पनि छ, र हाम्रो बढ्दो औसत आयू हुनुपर्ने हो, तर परिस्थिति भिन्न हुँदै गएको छ।”
सीडीसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २३७ जनाको औषधिको ओभरडोजकै कारण मृत्यु भएको छ। अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ।
सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको छ।