arrow

क्रिश्चियानिटीसँग डराउने चीनियाँ राष्ट्रपति ‘सी’ले ओलीलाई अब पनि पत्याउलान् ?

‘नेपालको छिमेक सम्बन्धमा धक्का, गाँठी प्रश्न अझै अनुत्तरित’

logo
हाम्राकुरा विशेष संवाददाता,
प्रकाशित २०७५ मंसिर १७ सोमबार
xi-oli.jpg

काठमाडौं । एसिया प्यासेफिक सम्मेलनको जति आलोचना भयो त्यो भन्दा बढी  आलोचना प्रधानमन्त्री केपी शर्मा ओलीले इसाई धर्मगुरुबाट सुशासनको तक्मा थापेको विषयमा भयो । दैनिक अखबारका ठूल–ठूला अक्षर ओली गतिविधिविरुद्ध सोझिए । धन्न ओली दम्पतीले जिससकी छोरी दावी गर्ने युनिफिकेसन चर्चकी प्रमुख डा. हक जा हान मुनबाट आशीर्वाद थापेको समाचार भने आएन ।

तर, देशभरबाट सम्मेलनमा उपस्थित हुन आएका नगरपालिका प्रमुख र उपप्रमुख मध्ये १२ जोडीले डा. हक जा हान मुनबाट आशीर्वाद लिएको सरकारकै संचारमाध्यम एवं नेपालकै बुढो अखबार गोरखापत्रले लेखेको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका सञ्चारमाध्यमले नकारात्मक मात्रै लेखे, सम्मेलनमा भएका महत्वपूर्ण घोषणाहरुका बारेमा केही नलेखेको भन्दै गुनासो गर्न भ्याए । उनले एउटा श्रव्य दृष्य संचारमाध्यमलाई १७ मिनेट लामो गुनासो पोखेका छन् ।

तर, सम्मेलनका विविध विषयमध्ये असल वैवाहिक सम्बन्ध र आदर्श परिवार निर्माण पनि एक थियो र त्यही अन्तर्गत डा.मुनले परित्र जल शेचन गराएको र आशीर्वाद दिएको कुरा गोरखापत्रले नै लेखेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले निजी संचारमाध्यमप्रति गुनासो पोख्दा सरकारी संचारमाध्यमले समेत सम्मेलनका अन्य घोषणाहरु महत्वपूर्ण नठानेको विषय भने उल्लेख गरेनन् ।

आफ्ना पति र पत्नीतर्फ फर्केर आदर्श परिवार निर्माण र असल अभिभावकको नमुन बन्ने प्रण गर्न लगाउनु त्यो कार्यक्रमको आकर्षण रहयो । तर, त्यो आयोजकले चाहे मुताविक भने भएन । सम्मेलनको सुरुमा जसरी नेपाललाई इसाई राष्ट्र घोषणा गर्नु पर्छ भनेर उद्घोष गरियो, आशीर्वाद थाप्दा योजना मूताविक भएन । प्रधानमन्त्री दम्पतीले आशीर्वाद लिएन । आशीर्वाद लिनेको सूचीमा प्रधानमन्त्रीको नामसमेत थियो। जनस्तरमा व्यापक विरोध भएपछि उनी सहभागी भएनन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि गएनन् । पूर्वप्रधानमन्त्री माधव नेपाल भने कार्यक्रममा सहभागी भए। आशीर्वाद लिनेलाई जल शेचन भनेर प्लास्टिकको कपमा ‘होली वाइन’ अर्थात् ‘पवित्र रक्सी’ पिलाईयो ।

गाँठी प्रश्न अझै अनुत्तरित
सम्मेलनमा सरकारले सहयोग गरेको र राजकीय महत्व दिएकोबारे थुप्रैले प्रतिक्रिया दिइसकेका छन् । सरकारका मन्त्रीले आक्कल झुक्कल बोल्न समेत थालेका छन्, तर सरकारको बचाउमा । गाँठी प्रश्न अनुत्तरित छ, ‘साम्यवादी र कम्युनिष्टहरुविरुद्ध स्थापना गरेको संस्थाको शरणमा नेपालको सिंगो सत्ता किन लम्पसार पर्‍यो ? यसको पछाडि के छ ? यो प्रश्नको जवाफ सत्ताधारी पार्टीको संसदीय दलको नेता अथवा प्रधानमन्त्री केपी शर्मा ओली, भाग्दै हिँडेका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपाको नेता समेत रहेका आयोजक संस्थाको नेपाल अध्यक्ष एकनाथ ढकाल वा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा यस्तै धर्म प्रचारक सम्मेलन रोक्ने हैसियत राख्ने वर्तमान पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, कसबाट आउला ? यसको प्रतिक्षा आम नेपालीले गरिरहेका छन् । नआउन्जेल गरिरहेने छन् । नपाए, यसको उत्तर हर कुनै हालतमा खोज्ने छन् ।

किन खोलेका थिए म्युङ मूनले युपीएफ
‘युनिभर्सल पिस फेडेरेसन’ युपीएफका संस्थापक सन म्युङ मूनले २००५ मा यो संस्था स्थापना गरेका हुन् । यो संस्थाको घोषणा नै उनले आफ्नो मुलुकमा गर्न पाएनन्, अमेरिकाको न्यूयोर्कमा घोषण गरे ।

सन् १९५० सम्म उनी कम्युनिष्ट श्रम शिविरमा बसे । दक्षिण कोरियाली युद्धका बेला ३ वर्ष कम्युनिष्ट श्रम शिविरमा बस्दा उनले कयौँ थिचोमिचो व्यहोरे । १९५० मा राष्ट्रसंघीय सेनाको सहायतामा उनी कम्युनिष्ट श्रम शिविरबाट मुक्त भए । १९५४ मा उनले संसारभरका क्रिश्चियनहरुलाई एकै परिवारमा ल्याउन भन्दै एउटा संस्थाको स्थापना गरे । त्यही अभियानकै क्रममा उनी १९७१ मा अमेरिका गए । त्यो अभियानको खासै उपादेयता देखेनन् । पछि त्यो अभियानमा नयाँ ट्वीष्ट गरे, ‘आफ्नो मुलुकमा साम्यवादी र कम्युनिष्टहरुले देखाएको रवैयालाई वर्ग संघर्षसँग जोडे ।’ सन् २००५ मा उनले साम्यवादी र कम्युनिष्टहरुविरुद्धको प्रचार संयन्त्रका रुपमा ‘युनिभर्सल पिस फेडेरेसन’को स्थापना गरेको बताइन्छ । उनी नेपालमा पटक–पटक आए । पहिले पनि यस्ता विवाद आएका थिए । तर, सरकारले खुलेआम त्यो पनि राजकीय महत्व दिएर भने सघाएको थिएन । सन् २०१२ मा उनको निधनपछि धर्मपत्नी डा. हक जा हानले विँडो थामिन् ।

जिससकी छोरी एक ‘वकवास’
युपीएफको आधिकारिक वेबसाइटमा आफ्नै बढाई चढाई गरेका सामाग्रीहरु मात्रै भेटिन्छन् । त्यही वेबसाइटमा सन् १९२० मा हानको जन्म भएको भनिएको छ । तर, त्यसको १५ वर्षपछि अर्थात् सन् १९३५ मा उनी पहाडमा प्राथना गरिरहेकाबेला एकाएक जिसस आएर ‘तिमिले विशेष काम गर्नु पर्छ’ भनी आशीर्वाद लिएको कुरा उल्लेख छ । त्यही मानक राखेर उनी आफुलाई जिससकी छोरी दावी गर्दैै हिँडेकी छन् । ‘वन् फ्यामिली  अण्डर गड’ तथा भगवानको राज्य खडा गर्ने उद्देश्य रहेको उनले सुनाउँदै आएकी छन् । यस्तै, १७ वर्षको उमेरमा उनको म्युङ मुनसँग विवाह भएको कुरा पनि उल्लेख छ ।

नेपालको छिमेक सम्बन्धमा धक्का
एक जना राजनीतिक विश्लेषकले सरकारले अहिले देखाएको चरित्रले नेपालका दुई ठूला छिमेकसँगको सम्बन्धमा धक्का लागेको बताएका छन् । उनका अनुसार त्यसैत भारत र चीन सशंकीत छन् । त्यसमा पनि दुई छिमेकलाई मन नपर्ने क्रिश्चियानिटीको कुरा छ ।  

उनले अगाडि भने, ‘चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण हुन नसक्नुको कारण यो पनि एउटा हो । चिनियाँ राष्ट्रपति सीले औपचारिक रुपमै ‘‘डर छ त हामीलाई क्रिश्चियानिटीको छ’’ भन्नु हुन्छ ।’ अब पनि के ओलीलाई ‘सी’ले पत्याईराख्लान् ?उनले प्रश्न गरे । तर, सरकारमा रहेकाहरु अहिले पनि चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने भाषण दिन छोडेका छैनन् ।  

के छिमेक सम्बन्ध नै विगार्छ त सरकारको प्रस्तुतीले ? परराष्ट्रविद्  डा. जयराज आचार्यले भने, ‘दुई छिमेकीले उपेक्षाको रुपमा हेरेका होलान् ।’ भारतको पहिल्यै चित्त दुखाईछ,  उनले अगाडि भने, ‘नेपाल धर्मनिरपेक्ष भएको कुरालाई लिएर संविधानमै भारतको असन्तुष्टि छ ।  अहिले पनि भारतसँगको सम्बन्ध सुध्रिएको जस्तो लाग्दैन । केही तुस बाँकि नै छन् ।’ ईपीजीको प्रतिवेदन नै बुझ्न मानेको छैन । उनले भने, ‘भारतले यसलाई विशेष चासोका साथ हेरेको हुनुपर्छ ।’  अनि चीनले ? जवाफमा उनले भने, ‘चीनले उपेक्षाको दृष्टिले हेरेको हुनुपर्छ ।’ चीनले सम्मेलनमा सहभागि हुन प्रतिनिधि नै पठाएन ।

देशभर १० हजार चर्च
नेपालमा अहिलेसम्म चर्च कति छन् भन्ने यकिन विवरण छैन । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे ४ हजार चर्च छन् । यो पनि गृहले २०७० मा लिइएको विवरण हो । त्यसपछि चर्च बन्ने क्रम निरन्तर जारी छ । ललितपुरमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानीमा बडेमानको चर्च बन्दैछ । ललितपुरमा बन्न लागेको त्यो चर्चबारे संस्कृतिविद् सत्यमोहन जोशीले उहिल्यै चिन्ता गरेका थिए । देशैभर अनुमानित झण्डै १० हजार चर्च छन् । यस्तै, २०६८ को जनगणनाअनुसार १.४ प्रतिशत जनसंख्या क्रिश्चियन छन् । त्यो त पुरानै संख्या हो भन्नेहरु पनि छन् । बढीमा ४ लाख क्रिश्चियन रहेको अनुमान छ । क्रिश्चियन समुदायका व्यक्तिहरुले भने, आपूmहरू करिब ३० लाख रहेको दावी गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ