उर्जित पटेलको पत्रकार सम्मेलनमा केन्द्रीत हुँदै भारतको चुनावी भविष्यवाणी !
प्रकाशित २०७५ मंसिर १९ बुधबार
350
Shares
काठमाडौं । भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को दुई दिनसम्म चलेको बैठकको निर्णय बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै छ । त्यो पत्रकार सम्मेलनलाई ठूला ठूला लगानीकर्ता र विशेषगरी भारतीय जनता पार्टीले पनि नजिकबाट नियााली रहेको छ । आगामी चुनावलाई नै प्रभावित बनाउन सक्ने विश्लेषण गरिएको सो पत्रकार सम्मेलनलाई आरबिआईका गवर्नर उर्जित पटेलले सम्बोधन गर्दैछन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो बैठकले आरबिआईको रिपो दरको विषयमा केही महत्वपूर्ण निर्णय गर्दैछ । रिपो दरको परिवर्तनको विषयमा लगानीकर्ताहरु पनि पटेलको यो पत्रकार सम्मेलनको प्रतीक्षामा छन् । यो पत्रकार सम्मेलनमा अन्य पनि धेरै महत्वपूर्ण विषयहरु सार्वजनिक हुने भएपनि धेरैको चासो भने रिपो दरमा नै केन्द्रीत छ ।
बजारमा लगानी योग्य रकम प्रवाहको लागि केन्द्रीय बैकले बजारमा प्रवाह गर्ने रकम रिपो हो र यसको व्याजदर नै रिपो दर हो । यो लगानीसँग जोडिएको विषय भएकोले यसमा परिवर्तन नभएको खण्डमा आगामी वर्ष हुने आमचुनावको लागि सत्तारुढ भारतीय जनता पार्टीकालागि यसले ठूलो सहयोग पुग्ने आकलन गरिएको छ । त्यसैले पनि आजको पत्रकार सम्मेलनका लागि पटेल निकै दबाबमा रहेको विश्लेषण गर्न थालिएको छ ।
आरविआई स्रोतका अनुसार पटेलले रिपो दरमा परिवर्तन नगरेर भाजपालाई सहयोग गर्ने तयारीमा रहेका छन् । तर, यो स्रोतले गरेको आकलन कत्तिको आधिकारिक हुनेछ ? त्यो भने बुधबार दिउँसो साढे २ बजेको पत्रकार सम्मेलनले नै तय गर्ने बताईएको छ । रोयटर्सले ७० भारतीय अर्थशास्त्रीहरुसँग गरेको कुराकानीमा ती अर्थशास्त्रीहरुले आरविआईको मौद्रिक नीति तय गर्ने समितिका सबै सदस्यहरु अहिलेको रिपो दर ६ दशमलव ५ प्रतिशतलाई सन्तुलित रिपो दलको रुपमा मान्ने गरेको बताएका छन् । उनीहरुको ती भनाईलाई आधार मान्ने हो भने यो दर परिवर्तन हुने सम्भावना देखिँदैन । ती अर्थशास्त्रीहरुले रिपो दरमा परिवर्तन नहुनु २०१९ को चुनावमा भारतीय जनता पार्टीलाई स्वागत गर्नु हो भनेका छन् ।
यही विषयमा छलफल गर्नको लागि भारतीय रिजर्भ बैंकको बैठक सोमबारदेखि सुरु भएको थियो । बैंकको सोमबारको बैठकले लगानीकर्ताहरुको बैश्विक बजारको स्तर, विदेशी स्तर अनुसार लगानीकर्ताहरुको लगानीको स्थिती तथा घरेलु संस्थापक निवेशकद्वारा गरिएको लगानी, डलर विरुद्ध रुपैयाँको चाल तथा कच्चा तेलको मूल्यको विषयमा पनि छलफल गरिएको छ ।
त्यस्तै बैठकले यसको अलावा अटो कम्पनीहरुको सेयरमाथि लगानीकर्ताहरुको नजरको बारेमा पनि छलफल गरेको थियो । त्यस्तै, आरविआईको मौद्रिक नीति समितिको बैठक पनि सोही दिनदेखि सुरु भएको थियो । सो समितिको बैठकले नै रिपो दरबारे निर्णय गर्नेछ । चालू वित्त वर्ष २०१८।१९को लागि यो पाँचौ द्विमासिक बैठक हो ।