arrow

नेविसंघका पुर्वनेता, उठ्दैछन कता कता ?

देउवा र थापा सर्वाधिक चर्चामा

logo
सर्वोच्च भण्डारी
प्रकाशित २०७२ फागुन १७ सोमबार
Padadhikari.jpg.jpeg
काठमाडौं । नेपालमा अहिले विद्यार्थी राजनितिबाट पार्टी राजनितिमा प्रवेश गर्नेहरुको लहर लाग्न थालेको छ । यस्को स्पष्ट झल्को अहिले नेपाली काँग्रेसमा पनि देखिएको छ । काँग्रेसको आसन्न १३औं महाधिवेशनमा नेविसंघको पुष्ठभुमीबाट आएका थुप्रै नेताहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । सभापति देखि केन्द्रीय सदस्य सम्ममा नेविसंघका पुर्वनेताहरुले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १२औं महाधिवेशनबाट आएको केन्द्रीय समितिमा नेविसंघका दुई अध्यक्षबाहेक १५ ओटै अध्यक्ष अटाएका छन् । संस्थापक अध्यक्ष विपिन कोइराला र १०औं अध्यक्ष विश्वप्रकाश शर्माबाहेक सबै अहिले केन्द्रीय सदस्य छन् ।
 
२०१७ साल पुस १ गते राजाले प्रजातन्त्रको मुन्टो निमोठेपछि पुनः प्रजातन्त्र स्थापनार्थ आन्दोलन चर्काउन युवा विद्यार्थी एकत्रित गर्ने उद्देश्यले कांग्रेसले वि.सं. २०२७ साल वैशाख ६ गते आफ्नो विद्यार्थी संगठनका रूपमा नेविसंघ स्थापना गरेको हो । नेविसंघको अध्यक्ष अहिलेसम्म (कांग्रेस फुट्दा दुवैतिरका सहित) १७ जना भएका छन् । ति मध्ये ११ जना महाधिवेशन गरी प्रजातान्त्रिक पद्धतिबाट अध्यक्ष बनेका छन् भने ६ जना मनोनीत अध्यक्ष बनेका छन् । वि.सं.२०२७ वैशाख ६ र ७ गते स्वयम्भूमा भएको पहिलो महाधिवेशनबाट नेविसंघको पहिलो निर्वाचित अध्यक्ष विपिन कोइराला अहिले पनि पार्टी केन्द्रीय सदस्यका लागि तयारी गरिरहेका छन् । उनी यसअघि पनि पटक पटक उम्मेदवारी दिएपनि निर्वाचित हुन भने असफल नै रहे । 
 
वि.सं. २०२८ भदौ २८ देखि असोज १ गतेसम्म चलेको दोस्रो महाधिवेशनबाट अध्यक्ष चुनिएका दोस्रो अध्यक्ष शेरबहादुर देउवा भने अहिले पनि सभापतिका लागि उम्मेदवारी दिदैछन् । उनी पनि पटक पटक सभापतिमा उम्मेदवारी दिदै पराजित हुदै आएका छन् । पार्टीको छुट्टै धारको नेतृत्व गर्ने उनलाई नेविसंघले नै नेता बनाएको हो । त्यसैगरी तेस्रो अध्यक्ष विमलेन्द्र निधि यसअघि महामन्त्रीमा पराजित भएपनि यसपटक भने महामन्त्री वा उपसभापतिमा मनोनित हुनेगरी लाईन मिलाउदैछन् । 
 
चौथो अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, पाँचौं अध्यक्ष बलबहादुर केसी, छैटौं अध्यक्ष बालकृष्ण खाँड, सातौ अध्यक्ष नारायणप्रकाश साउद लगायतका नेताहरु लामो समयदेखि केन्द्रीय सदस्य रहदै आएका छन् भने अहिले पनि उनीहरु केन्द्रीय सदस्यकै लागि दौडधुप गरिरहेका छन् । यी सवै सांसद र मन्त्री भईसकेका छन् । यीनीहरु मध्ये दुई पटक नेपाल तरुण दलको अध्यक्ष हुने क्षमता भने खाँडले मात्रै राखे ।
 
२०४६ सालको आन्दोलनमा प्रभावकारी भुमीका खेलेपछि २०४८ सालमा नेविसंघको महामन्त्री बनेका चन्द्र भण्डारी भण्डारीले सभापति बन्न नपाएपनि पार्टीका बैचारिक र संगठनीक प्रभाव राख्दै आएका छन् । उनी अहिले दोस्रो पटक केन्द्रीय सदस्य बन्ने तयारीमा छन् । आठौं अध्यक्ष धनराज गुरुङ दोस्रो पटक केन्द्रीय सदस्य बन्ने तयारीमा छन् । यी दुवै जना सांसद पनि छन् । 
 
नवौं अध्यक्ष गोविन्द भट्टराई, १० औं अध्यक्ष विश्वप्रकाश शर्मा, १२ औं अध्यक्ष गुरुराज घिमिरे, १५ औं अध्यक्ष प्रदीप पौडेल, १६औं अध्यक्ष कल्याण गुरुङले पनि अहिले केन्द्रीय सदस्यका लागि कसरत गरिरहेका छन् । पार्टी फुटेपछि नेविसंघ प्रजातन्त्रीकको अध्यक्ष भएकाकिशोरसिंह राठौर र संस्थापनका अध्यक्ष भएका केशव सिंह, महेन्द्र शर्मा पनि उही तहमा केन्द्रीय सदस्यको आँकाक्षी छन्। 
 
त्यसैगरी १२औं अधिवेशनबाट महामन्त्री भएका गगन थापा अहिले पार्टीकै महामन्त्रीका लागि सर्वाधिक चर्चामा छन् । त्रिचन्द्र क्याम्पसबाट नेविसंघको राजनिति सुरु गरेका थापा नेविसंघको महामन्त्री हुदाँ संगठनलाई निकै प्रभावकारी बनाएको छाप धेरैको मनमष्तीस्कमा अहिले पनि छ । उनी संघको सभापति बन्न नपाएपनि उनैले चाहेको व्यक्तिलाई सभापति बनाउने हैसियत राख्दथे । उनी नेविसंघको प्रभावशाली नेता भएका बेला नेविसंघको राजनितिमा सक्रिय अधिकाँश नेता कार्यकर्ता अहिले काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर आएकाले पनि उनलाई अहिले शसक्त उम्मेदवारका रुपमा हेरिएको छ । 
 
त्यस्तै नेविसंघका पुर्व नेताहरु डा रामशरण महत, प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी, कमला पन्त, शंकर भण्डारी, बद्री पाण्डे पनि पार्टीको केन्द्रीय समितिमा फेरी उही पदमा उमेदवारी दिदैछन् । पूर्व विद्यार्थी नेता तथा काँग्रेस नेता र सांसद हृदयराम थानी केन्द्रीय सदस्यमा उमेद्वार बन्दैछन। 
 
नेविसंघमा लामो समय विताएका पुर्वपदाधिकारीहरु रामकृष्ण चित्रकार, किरण पौडेल, मनोजमणी आचार्य, नैनसिं महर, प्रतिमा गौतम, सृजना अधिकारी, जीतजंग बस्नेत, ऋषाीकेश शाह, टेकराज पौडेल, लक्ष्मी खतीवडा, रत्न कार्की, जीवन डंगोल गायत अरु दर्जनौ नेविसंघका नेताहरु अहिले पार्टीको नेता बन्न लागिपरेका छन् । युवा महाधिवेशन प्रतिनिधिहरु धेरै आएकाले उनीहरुले धेरै पुराना नेताहरुलाई विस्तापित गर्ने संभावना पनि बोकेका छन् । उनीहरुको उमेदवारीले युवाहरुमा उर्जा थपिएपनि उनीहरुले पार्टी नेतृत्वमा गएपछि कस्तो काम गर्लान् भन्ने हेर्न भने अझै पनि वाँकी नै छ । 
 
नियमीत रुपमा नेविसंघको अधिवेशन भएको भए उनीहरु अझ परिपक्व नेता भईसकेका हुने थिए । यसअघिको महाधिवेशनपछि प्रदिप पौडेलले अधिवेशन गर्ने परिस्थिति नभएपछि राजीनामा दिएर रन्जीत कर्णलाई अधिवेशनका लागि अध्यक्ष बनाएपनि अहिले सम्म हुन सकेको छैन । २०६८ माघ २१ मा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले रञ्जित कर्णलाई ६ महिनामा महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमितिलाई पदभार सुम्पने गरी संयोजक तोकेको थियो । तर अहिलेसम्म उनले पटकपटक महाधिवेशनको मिति तोके पनि महाधिवेशन सम्पन्न हुन सकेको छैन । यसले भने युवाहरुलाई निराश बनाएको छ । पार्टीको महाधिवेशनमा धेरै युवाहरुले जितेमा यो निराशालाई केही मत्थर पार्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ