arrow

कांग्रेस महाधिवेशनप्रति मधेसको दृष्टीकोण : युवा र पुराना नेतालाई कस्ले के भने ?

‘नेतृत्व परिवर्तनलाई महत्व दिनु पुरानै रोग’ : ‘विभेदरहित समाजको दृष्टीकोण आएन’

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
morcha @ GP koirala.jpg.jpeg
काठमाडौं । कांग्रेसको आसन्न १३औं महाधिवेशनको तयारी तीब्र छ । नेताहरुको आन्तरिक छलफलले समेत तीब्रता पाएको छ । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो पार्टी र प्रजातान्त्रिक दल भएकाले स्वभाविकैले देशभरको माहोल कांग्रेस महाधिवेशनमय भएको छ । यद्यपि, महाधिवेशनलले ल्याउने नयाँ नीति तथा कार्यक्रम र आगामी मार्गनिर्देश सबैको साँसोको विषय बनेको छ । तयारी हेर्दा कांग्रेस महाधिवेशन पहिले भन्दा भिन्न हुने देखिएपनि ठोस एजेण्डा र देशवासीले देख्ने गरी दुरगामी प्रतिवद्धना नआएका टिप्पणी सुरु भएका छन् ।
 
यसै सन्दर्भमा कांग्रेस महाधिवेशनको विधिवत एवं विशाल रुप देख्नका लागि सबै समुदाय आँतुर छन् । लामो समय अशान्त रहेको मधेस कांग्रेसको आगामी कार्यदिशाको पल–पलको हिसाव गरिरहेको छ । मधेस केन्द्रीत दलहरुले विगतमा कांग्रेसलाई गरेको विश्वास र सहयोगको उचित सम्बोधन महाधिवेशनले गर्न सकोस् भनिरहेका छन् । साँच्चै मधेसले कांग्रेसबाट के चाहन्छ ? र आगामी कांग्रेस नेतृत्वको मधेसप्रतिको दृढ संकल्प के हुन सक्छ भन्ने बारे मधेस केन्द्रीत दलका नेताहरुले विभिन्न धारणा राखेका छन् । 
 
गल्ती सुधार गरुन्  : उपेन्द्र यादव
व्यवस्थापिका संसदमा मधेसबाट प्रतिनीधित्व गर्ने दोस्रो ठूलो दल संघीय गणतान्त्रिक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस महाधिवेशन स्वभाविक भएको बताए । उनले भने, ‘यसबारे हामीले भन्नु केही छैन ।’ अपेक्षाको कुरा गर्दा यादवले गल्ती सुधार गरुन्–भने । उनले थपे, ‘विगतमा निकै गल्ती भएका छन्, अबको नेतृत्वले त्यस्तो गल्ति नगरुन्, यो गल्ती सुधार गर्ने महाधिवेशन बनोस् ।’ जुनखालको नेतृत्व आएपनि आफुहरुबारे कुनै सदासयता नरहने बताएका यादवले विगतमा कांग्रेस नै वर्तमान समस्या समाधानको प्रमुख शक्ति भएको भन्ने अभिव्यक्ति आफुले कहीँ कतै नदिएको भन्दै गलत प्रचार गरिएको सुनाए । यादवले केही महिना अघि मात्रै मधेस आन्दोलनकै क्रममा वर्तमान समस्या समाधान गर्ने प्रमुख शक्ति कांग्रेस नै भएको बताएका थिए । 
 
युवा वा पाका जो आए पनि मधेस समस्या बुझेको व्यक्ति आउनु पर्दछ : सर्वेन्द्रनाथ शुक्ला 
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले कांग्रेस महाधिवेशनले मधेस समस्या समाधानप्रति ठोस प्रतिवद्धता जाहेर गर्न सक्नुपर्ने बताए । शुक्लाले भने, ‘महाधिवेशन वर्तमान सामाजिक, आर्थिक र राजनीतिक विषमता अन्त्य, द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण, देशमा व्याप्त अभाव र कालोबजारीबारे कसरी बोल्दछ, त्यो महत्वपूर्ण हो ।’
 
सिमान्तकृत वर्गबारे कस्तो दृष्टीकोण आउँछ, शुक्लाले थपे, ‘जुन नेतृत्व आउँछ मधेस समस्या समाधानका लागि कस्तो प्रतिवद्धता जनाउँछ, त्यो हेर्न बाँकी नै छ ।’ महत्वपूर्ण त दूरगामी क्लियर भिजन भएको नेतृत्व आओस् भन्ने हाम्रो चाहाना हो–उनले भनेका छन्,  ‘देशको प्रमुख पार्टी हो । युवा र पाका भन्दा पनि मधेस समस्या बुझेको व्यक्ति र सार्वजनिक रुपमा प्रतिवद्ध रहेको व्यक्ति आउनु पर्दछ ।’ युवा नै आउँछन् भन्ने पनि यकिन छैन ।  
 
प्रधानमन्त्रीको निर्वाचनमा सघाउनु भो मक्सद के थियो ? जवाफमा शुक्लाले भने, ‘ओलीको विरोध गर्न संसदमा गएका हौं, मधेसप्रति ओलीको दृष्टीकोण गलत थियो, सोही दृष्टीकोणविरुद्ध हामीले कांग्रेसलाई सघाएका थियौं ।’ त्यो सहयोगले मधेसप्रति कांग्रेसले हेर्ने दृष्टीकोण परिवर्तन भयो । अब उपरान्त पनि हामी सम्बन्ध र दृष्टीकोण गाढा भएको हेर्न चाहन्छौं ।’
 
प्रतिस्पर्धालाई झगडाको रुपमा लिनु भएन : लक्ष्मणलाल कर्ण 
सद्भावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस महाधिवेशन हुनु सकारात्मक भएको बताए । कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले प्रतिस्पर्धालाई झगडाको रुपमा लिन नहुने कर्णको धारणा छ । उनले भने, ‘कांग्रेसले मधेसको मुद्दालाई गम्भीरताका साथ हेरेको छैन, यस महाधिवेशनमा मधेस समस्या र शोषण अन्त्यलाई कसरी प्रतिविम्बित गर्छ, त्यो हामीले हेरिरहेका छौं ।’ जवान र बुढोसंगको सवाल नरहेको बताउँदै कर्णले जसले देशको गाम्भीर्यता र मधेस समस्यालाई बुझ्दछ , त्यो नेतृत्व हाम्रा लागि चासोको विषय हो–भने ।
 
कांग्रेसलाई सघाउनुको अर्थ ? कर्णले भने, ‘कांग्रेसले मधेसको मुद्दालाई सहयोग गर्ला, विगतमा गरेका प्रतिवद्धता पुरा गर्ला भनेर सहयोग गरेका थियौं ।’ प्रधानमन्त्रीको निर्वाचनको सहयोग केपी ओली र कमल थापा जस्ता उग्र चरित्र र दमनकारी सोच भएका व्यक्तिविरुद्धको विरोध थियो–कर्णले तर्क गरे ।
 
मुलुकलाई सही दिशामा लैजाने नेतृत्व आओस् : महेन्द्र राय यादव
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले कांग्रेसको १३ औं महाधिवेशनबाट मुलुकलाई सही दिशामा लैजाने नेतृत्व आउनु पर्ने बताए । उनले भने, ‘स्वस्थ प्रतिस्पर्धा होस्, लोकतान्त्रिक मूल्य मान्यताको नेतृत्व चयन होस् ।’ आफुहरु कांग्रेसकै कारण संसदमा नआएको प्रष्ट्याउँदै यादवले संसदमा आफुहरु विरोध गर्दा तीन दलले लोकतन्त्रको हत्या गरेको बताए । उनले भने, ‘जसमा कांग्रेस पनि उदार रहेन, लोकतन्त्र देखावटी हुनु भएन ।’
 
ठोस एजेण्डा आउनु पर्ने थियो, आएन : जेपी गुप्ता
मधेसी मोर्चामा नआएका तर, संघीय समावेशी गठबन्धमा रहेका राष्ट्रिय तराई अभियानका नेतृत्वकर्ता जयप्रकाश गुप्ताले कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी भएकाले महाधिवेशनले मुलुकको ध्यान खिच्नु स्वभाविक भएको बताए । गुप्ताले भने, ‘राज्यको रुपान्तरणको मर्मलाई आत्मसात गर्न नसक्नु कमजोरी हो, गम्भीर छलफलको ठोस एजेण्डा बनाउन सकेन ।’ नेतृत्व परिवर्तनमा मात्रै महत्व दिएको देखिन्छ । उनले थपे, ‘राज्यका सामाजिक, आर्थिक र राजनीतिक विषमतालाई कसरी मेट्ने र कम्तिमा पनि मुलुको आर्थिक र सामाजिक समृद्धिका लागि दुरदर्शीता के राख्ने भन्ने एजेण्डा महत्वपूर्ण हो ।’ विपीले भनेको भनाई सम्झिँदै गुप्ताले ‘विचार विहिन युवा बुढो र बुत्तो’ हुन्छ भन्दै अहिलेको नेतृत्व लडाँई विचारका दृष्टीले बुत्तो छ –भने । नेतृत्वका दावेदारहरुमा दृष्टीकोण छ की छैन भन्ने महत्वपूर्ण रहेको भन्दै गुप्ताले युवाहरु रुढीवादी र एकलकाटे रहेको बताए । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबैको सोच र विचार बाहिर आएको छैन, उनले भनेका छन्, ‘यीनले विभेद रहित समाजको दृष्टीकोण ल्याउन सकेका छैनन् ।’
 
मधेसमैत्री नेतृत्व आओस्  : अनिल झा 
संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महाधिवेशन गर्नु महत्वपूर्ण पाटो भएको बताए । झाले भने, ‘कांग्रेस सभापतिको निधनपछी कार्यवाहकको समस्या धेरै समय रहेन, मधेस मैत्री नेतृत्व आओस्, हाम्रो चाहान त्यही हो ।’ कांग्रेसलाई हामीले लगाएका गुन तिर्ने यो अवसर हो । देशको संवेदनशीलता  आत्मसात गर्ने र वर्तमान विभिन्न खाले विषमता अन्त्य गर्न सक्ने नेतृत्व आउनु पर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ