arrow

दूरदराजमा ब्रोडब्याण्ड इन्टरनेट अबको डिसहोमको लक्ष्य : सुदिप आचार्य

logo
प्रकाशित २०७५ मंसिर २४ सोमबार
sudip-acharya.jpg

काठमाडौं। नेपालको टेलिभिजन सेवाप्रदायक क्षेत्रमा नै पहिलो पटक सन् २०१० मा डाइरेक्ट टू होम 'डिटिएच' मार्फत् स्याटेलाइटको माध्यमद्धारा घर घरमा टिभी च्यानल पुर्याएको डिसहोम सुरुवाती समयमा डिस टिभी र होम टिभीको रुपमा रहेको भएपनि केही समय पछि एक आपसमा गाभिएर डिस होम बनेको हो। पहिले दुई कम्पनी रहेको यो क्षेत्रका दुबै कम्पनीहरु एक भएपछि बजारमा अहिलेसम्म डिटिएच मार्फत् सेवा प्रदान गर्ने कुनै प्रतिस्पर्धी आएका छैनन्।

अहिले पनि डिटिटल टेलिभिजन सेवाप्रदायकको बजारमा ठूलो हिस्सा डिसहोमले ओगटेको छ। पारदर्शी रुपमा ग्राहकको संख्या सजिलै पत्ता लगाउन सकिने भएकोले अहिले डिजिटल टेलिभिजन च्यानल प्रदायक संस्थाहरुको बारेमा विश्लेषण गर्दा सूचना तथा सञ्चार मन्त्रालयले पनि यही संस्थालाई आधार मान्ने गरेको छ। दुई सय एक करोड पुँजी रहेको यो कम्पनीले यो आर्थिक वर्ष भित्र नै आईपिओ जारी गर्ने तयारीमा छ। अघिल्लो वर्ष मात्रै यो कम्पनी सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण भएको हो। 

कूल बजारको २५ प्रतिशत हिस्सा ओगटेको डिसहोमलाई यो स्थानमा पुर्‍याउन सुदीप आचार्यले पनि महत्वपूर्ण योगदान दिएका छन्। युवा जोश र जाँगरलाई काममा लगाएर संस्थालाई लोकप्रिय बनाएका आचार्य अहिले पनि डिसहोमका प्रबन्ध निर्देशक हुन्। उनीसँग हाम्राकुरा प्रतिनिधिले डिसहोमका विभिन्न आयाममा केन्द्रीत भएर केही जिज्ञासाहरु राखेका थिए। उक्त कुराकानीको सम्पादन अंश:

पछिल्लो समय डिसहोमको व्यवस्थापनमा केही फेरबदल भएको छ, नयाँ व्यवस्थापन पछि डिसहोमको सेवामा केही भिन्नता आउँदैछ ?
डिसहोमको व्यवस्थापनमा भएको फेरबदल विशेष गरी हाम्रो आन्तरिक विषय हो। व्यवस्थापनमा आएको फेरबदलले हाम्रो नियमित प्रक्रियालाई कुनै असर गर्दैन। यो सामान्य प्रक्रिया हो। दोस्रो कुरा यो त्यति ठूलो फेरबदर पनि होईन। एउटा स्टेक होल्डरले केही सेयर अर्को स्टेक होल्डरलाई बेचेको हो। यसमा त विदेशी साझेदारको सबैभन्दा ठूलो हिस्सा छ। त्यसैले सानो फेरबदलले हाम्रो रणनीतिमा कुनै प्रभाव पार्दैन। 

नेपाली स्याटेलाइट प्ल्याटफर्ममा तपाईंहरुको एकाधिकार छ। तर, पनि विगत एक दशकमा एक चौथाई मात्रै बजार हिस्सा छ, किन ?
तपाईँले भने जस्तै स्याटेलाईट प्लेटफार्ममा अहिलेसम्म हाम्रै एकाधिकार छ तर, सिंगो डिजिटल प्रविधिमा भने हाम्रा धेरै प्रतिस्पर्धीहरु छन्। हामीले ग्राहकहरुलाई दिने सुविधा पनि हेर्नुहुन्छ भने अरुको भन्दा उत्कृष्ठ नै छ। हामीले ग्राहकको सुविधामा पनि कुनै सम्झौता गरेका छैनौं। डिसहोमले नेपालमा नै उच्चस्तरीय सेवा प्रदान गर्दै आएका छौं। हाम्रा कन्ट्रोल एक्सेस सिस्टमहरु पनि उत्कृष्ट र अत्याधुनिक छन्। समग्रमा भन्नुपर्दा हामीले सेवाग्राहीहरुको सेवाका लागि धेरै लगानी गरिरहेका छौं। 

अब रह्यो प्रतिशतको कुरा। २५ प्रतिशत पनि बजारको ठूलो हिस्सा हो भन्ने मेरो विश्लेषण हो। पहिलो कुरा त हामी यो बजारमा अझै नयाँ छौं। सस्तोमा केवल प्रविधिबाट टेलिभिजन हेरिरहेका ग्राहकहरुलाई यो प्रविधिमा स्थानान्तरण गर्नको लागि कठिन नै थियो। फेरि हामी बजारमा आएको कति भयो र यही ७/८ वर्ष त भयो नि। यस्तो अवस्थामा बजारमा हाम्रो हिस्साले हामी उत्साहित सँगसँगै जिम्मेवार पनि छौं।

इन्टरनेट सहितको सेवा विस्तारमा प्रतिस्पर्धीहरु अघि बढिसके। डिसहोमलाई चाहिँ ढिलो भए जस्तो लाग्दैन ? 
यसै प्रसंगमा म एउटा अनुभव सुनाउँछु। केही समय अघि मात्रै म सिन्धुपाल्चोकको उत्तरी भेग मानेखर्कमा पुगेको थिएँ। त्यहाँ अरु सेवा प्रदायकको बजार छैन, हाम्रो मात्रै सेवा पुगेको छ। डिजिटलाईजेसन सम्बन्धी तालिमका लागि त्यहाँ पुग्दा उपस्थितहरु धेरैले हामीलाई के सोधे भने 'सर, अब इन्टरनेट सहितको सेवा चाहिँ हामीले कहिलेदेखि पाउँछौं ? 'हामी अहिले दूर्गम भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको लागि अध्ययन गरिरहेका छौं। हामीले यसको सम्भावना पनि धेरै देखेका छौं। विशेष गरी एकदमै विकट ठाउँहरुबाट यसको सेवा सुरु गर्ने तयारीमा डिसहोम जुटिसकेको छ। अहिले पनि काठमाडौं लगायतका केही शहरहरुमा त सिम टिभी मार्फत् सेवाग्राहीहरुले सेवा पाईरहेका छन्। अब हाम्रो विशेष लक्ष्य भनेको इन्टरनेट नै नपुगेका अति दूर्गम क्षेत्र तर्फ हुनेछ।

अति दूर्गममा इन्टरनेटको सेवा पुर्याउने प्रविधि त महंगो पनि हुन्छ। यसलाई कसरी प्रतिस्पर्धी बजारमा कार्यान्वयनमा ल्याउनु हुन्छ ? 
सेवा प्रदान गर्ने स्याटेलाईट इन्टरनेट भनेको त त्यस्तै ठाउँहरुको लागि हो। ३ जी र ४ जी भनेको त कति पो ठाउँमा छ र ?  केही शहरहरु बाहेक अन्त यसको सेवा पुगेकै छैन। अरु त कुरै छाडौं धुलीखेलमा हामीले यो सेवा पाउन सक्दैनौं। काठमाडौंबाट २५ किलोमिटरमा रहेको जहरसिंह पौवामा अझै पनि भिस्याटबाट इन्टरनेट चलाउनु पर्ने बाध्यता छ। केही महंगो भएपनि यस्तो ठाउँमा सेवा दिने पहिलो लक्ष्य लिएका छौं ताकि जहाँ तारको माध्यमबाट इन्टरनेट सेवा समेत पाउन मुस्किल छ। यस्तो ठाउँमा पनि इन्टरनेट दिन सक्ने अवस्था छ। सकेसम्म डिसहोम यो आर्थिक वर्ष भित्र नै इन्टरनेट सहितको सेवा प्रदान गर्ने तयारीमा छ। 

तराई लगायत कतिपय क्षेत्रमा अझै पनि भारतीय डिटिएचको वर्चश्व छ। दस वर्षदेखि तपाईहरु यस क्षेत्रमा हुनुहुन्छ। तर पनि किन यसलाई विस्तापित गर्न सक्नुभएन ?
तराईमा भएको भारतीय डिटिएच हाम्रा लागि पनि चुनौतीको विषय बनेको छ। हामी विशेषगरी भारतीय सीमा क्षेत्रमा पुग्दा भारतीय सरकारी नेटवर्क दूरदर्शनको स्याटेलाईट सेवा मार्फत् प्रदान गर्ने डिजिटल प्रविधिबाट टेलिभिजन च्यानल हेर्ने गरेका छन्। नेपाली बजारमा सेटअप बक्स किन्न नपाउने भएपनि सीमा पारी गएर यस्तो सेटअप बक्स ल्याएर हेर्ने गरेका छन्। दूरदर्शनले निशुल्क यस्तो सेवा दिने भएकोले उनीहरु नेपाली सेटअप बक्सको साँटो भारतीय सेटअप बक्स नै प्रयोग गर्ने गरेका छन्। दूरदर्शनले आफ्ना सेवाग्राहीहरुसँग पैसा नलिने र च्यानलहरुसँग नै पैसा लिने गरेको छ। त्यसैले पनि नेपालका सेवाग्राहीहरु समेत भारतीय डिटिएच प्रयोग गर्छन्। यसले के हुन्छ भने हाम्रो विजिनेसको मात्रै कुरा होईन। सरकारको राजश्वसँगै राष्ट्रियता माथि समेत गम्भीर असर पर्ने गरेको छ। उनीहरु काठमाडौं भन्दा दिल्लीसँग बढी परिचित हुन्छन् किनभने उनीहरु सधैं नेपाली नहेरेर भारतीय च्यानल मात्रै हेर्ने गर्दछन्। त्यसैले सीमामा भारतीय स्याटेलाईट सेवा प्रदायकहरुको समस्यामा सरकार गम्भीर बन्नु पर्ने देखिएको छ।

यसरी भारतीय च्यानल हेर्नेहरुको संख्या सिंगो डिसहोमको देशभरका सेवाग्राहीहरुको संख्या जत्ति नै छ भन्ने हाम्रो अनुमान छ। हामीले सरकारलाई यति धेरै राजश्व र रोयल्टी तिर्दा पनि सरकारले भने यसमा त्यति सहयोग गरेको पाईँदैन। अहिले भारतमा हेर्नुहोस् सरकारले नै डिजिटलाईजेसनका लागि चेतना फैलाउने गरेको छ । तर, नेपालमा भने जति प्राईभेट सेक्टरले गरिरहेको छ त्यति नै हो अरु बढी केही पनि छैन।

डिसहोमले डेढ वर्ष अगाडि नीजिबाट सार्वजनिक कम्पनीमा रुपान्तरण भएको थियो, अहिलेसम्म आइपिओ जारी गर्ने साईत किन जुरेन?
आईपिओ जारी गर्न पनि त्यति सजिलो प्रक्रिया छैन। यसको लागि पहिले त हामीले लगातार ३ वर्षसम्म नाफामा गएको हुनुपर्ने प्रावधान छ। त्यो खुड्किलो हामीले पार गरिसक्यौं। अर्को, कम्तिमा एक वर्ष पब्लिक कम्पनी भएर त्यसको वार्षिक लेखापरीक्षण गरिसकेको हुनुपर्ने व्यवस्था छ । त्यो लेखापरीक्षण यो वर्ष पूरा हुन्छ। कम्पनीको पनि रेटिङ गराउनु पर्ने हुन्छ। त्यो हामीले जिम्मा लगाईसकेका छौं। यसको लागि आवश्यक पूर्वाधारहरु पूरा हुने तयारीमा छ। सम्भवतः हामी यो आर्थिक वर्ष भित्र नै आईपिओ जारी गर्दैछौं। 

कि डिसहोम पनि प्रिमियममा नै आइपिओ ल्याउने तयारीमा छ ?
यो प्रश्न अलिकति छिटो भयो कि ? हामी यो विषयमा पनि सोचिरहेका छौं। तर, प्रिमियममा नै जान्छौं भनेर ठोकुवा गर्न भने म सक्दिन। हाम्रो कम्पनीको आर्थिक वृद्धिको हिसावले प्रिमियममा जानु पर्ने चाहिँ हो। यसको मार्जिनको विषयमा भने त्यस्तो सोचेका छैनौं। मात्रै यसको आँकलन गरेर भएन। यो त कम्पनीको आर्थिक स्थिति र रेटिङले नै देखाउला। आईपिओको लागि आवश्यक तयारी पूरा गरेपछि प्रिमियममा जाने–नजाने विषयमा बोर्डले निर्णय गर्नेछ। 

डिसहोमले ग्राहकको संख्या लुकाएर कर छलेको आरोप छ नि, के भन्नुहुन्छ ?
डिसहोमले ग्राहक लुकाउनै सक्दैन। हामीसँग भएको सिएएस प्रणालीको कारण हाम्रा कति ग्राहकहरु छन् र कुन् ग्राहकले कुन् च्यानल बढी हेर्ने गरेका छन् भन्ने कुरा समेत सरकारले सबै हेर्न र अनुगमन गर्न सक्छ। प्रतिस्पर्धाको बजारमा हामीले आफ्ना ग्राहकहरुको सबै विवरण मन्त्रालयमा दिनेगरेका छौं र यो मन्त्रालयमा दिएपछि त्यसलाई लुकाएको भन्ने केही आधार छैन। सार्वजनिक गर्ने कुरा भनेको आवश्यकता जनाएर कोही आउँछ भने उसले प्रक्रिया पुर्याएर डिसहोमको ग्राहकको विषयमा जानकारी लिन सक्छ।

बैंकमा क्रेडिट क्रन्च र बढ्दो डलर भाउले तपाईहरुलाई कस्तो असर परिरहेको छ ? 
हामीलाई क्रेडिट क्रन्चको भन्दा पनि डलरको भाउ बढ्दा धेरै नोक्सानी भएको छ। हामीले ग्राहकलाई दिने सेटअप बक्सको र सेवा शुल्क सबै सीमित छन्। तर, डलरको भाउ बढेपछि हाम्रा उपकरण खरिदमा हामीलाई मार परिरहेको छ। धेरै सामान खरिद गर्दा हामीले भारतबाट नै खरिद गरेपनि डलरमा पैसा तिर्ने गरेका छौं। भारतबाहेक तेस्रो मुलुकबाट ल्याउने सामग्री पनि डलरमा नै खरिद हुने भएकोले यसको मूल्य बढी हुँदा हामीलाई यसले प्रभावित बनाएको छ। अब कुरा आयो क्रेडिट क्रन्च, यसले समग्र उद्योग क्षेत्रमा प्रभाव पार्ने भएकोले त्यसबाट हामी अछुतो छैनौं।

हाल डिसहोम प्रयोगकर्ताले कति वटा च्यानल हर्न गर्न पाईरहेका छन्। त्यसमा नेपाली कति र आफ्नो उत्पादन कति छन् ?
डिसहोम प्रयोगकर्ताहरुले कूल २ सय वटा च्यानलहरु हेर्न पाउँछन्। त्यसमा २५ वटा जति नेपाली च्यानलहरु छन् भने डिसहोमकै लगानीमा ७ वटा च्यानलहरु चलिरहेका छन्। अहिले मिडिया प्रोडक्सन हाउसको रुपमा पनि ग्रुमिङ गरिरहेका छौं। डिसहोमले भविष्यमा समाचार उत्पादक च्यानल पनि लिएर आउने तयारीमा छ। यसतर्फ तयारी चलिरहेको छ। डिसहोमले विशेषगरी मनोरञ्जन र खेलकुदसँग सम्बन्धीत च्यानलहरु चलाईरहेको छ। यसमा नेपालीले मौलिक उत्पादन खोजिरहेको भेटेका छौं। हामीले जुन विश्वकपको समयमा नेपाली पनमा प्रस्तुत गर्ने कोशिष गर्यौं। त्यसबाट पनि हामीले मौलिकपनमा ग्राहकहरु धेरै आकर्षित भएको प्रतिक्रिया पायौं। त्यसैले जनअपेक्षा अनुसार नै नेपाली उत्पादनको स्तरीयता बढाएर सेवाग्राहीलाई पस्किने तयारीमा छौं। 

स्याटेलाइट प्ल्याटफर्म 'डिटिएच' महंगो भन्छन् नि के भन्नुहुन्छ ?
एउता उदाहरण दिन्छु, एक कप चिया खान गयौं भने २० रुपैयाँ एकै पटकमा तिर्छौं। दिनको ४ कपमात्रै चिया पियौं भने पनि महिनाको २ हजार भन्दा बढी त चिया पिएर नै जाने गर्छ। तर, यति गरिरहँदा डिसहोमले ४ सय ५० रुपैयाँमा यति धेरै नेपाली र विदेशी च्यानलहरुबाट मनोरञ्जन दिने गरेको छ। कतिले त २ सय ५० रुपैयाँमा पनि टिभि हेर्ने गरेका छन्।  यसैमा गीत हेर्न पाईन्छ। यसैमा २४ घण्टा नै नेपाली फिल्म हेर्न सकिन्छ। यसमा नै देश दुनियाँका खबरहरु हेर्न सकिन्छ। यस्तो अवस्थामा यसलाई महंगो त कसरी भन्न सकिन्छ र ? त्यसैमाथि पनि एउटा टेलिभिजनबाट घरभरीका मान्छेहरुले मनोरञ्जन लिन सक्छन्। यो केही हदसम्म किन महंगो भयो भने पहिले एनालग हुँदा ग्राहकको एकीन विवरण सरकारलाई नै जानकारी हुँदैन थियो र कर पनि खासै तिर्नु पर्दैन थियो। तर, अहिले प्रत्येक ग्राहकको भिन्दा भिन्दै कर तिर्न पर्ने भएकोले यो प्रविधि तुलनात्मक रुपमा केही महंगो भएको हो। 

उच्च पहाडी क्षेत्रमा खराब मौसममा यसको सेवा प्रभावित हुने गरेको गुनासो धेरै आउँछ। यो समस्या किन आउँछ ?
यस प्रविधिमा सबै च्यानलहरुलाई प्याकेजिङ गरेर स्याटेलाईटमा पठाइन्छ। डिसहोमको स्याटेलाईटमा पठाउने (अपलिङ्क) प्रणाली शक्तिशाली छ। त्यसैले हामी स्याटेलाईटमा पठाउने बेलामा त सजिलै माथि पुर्याउँछौं। तर, माथिबाट फर्किने बेलामा चाहिँ मौसममा केही समस्या आयो भने केही समयको लागि सेवामा प्रभावित हुन्छ। यो नेपालको मात्रै समस्या होईन विश्वभरीका सबै स्याटेलाईट प्रविधिमा आउने समस्या हो। स्याटेलाईटमा पठाउने (अपलिङ्क) प्रणाली ९९ दशमलव ९९ प्रतिशत नै छ। स्याटेलाईटबाट तान्ने (डाउनलिङ) प्रणालीमा चाहिँ ९९ दशमलव ३ प्रतिशत भन्दा बढी हुन्छ। 

टेलिभिजन हेर्नेले डिसहोम नै किन जोड्‍ने ?
टेलिभिजन हेर्नेले डिसहोम नै मन पराउनुपर्ने कारण धेरै छन्। पहिलो हामी मुलुकलाई टिभि च्यानल दिने कम्पनीहरुमा सबैभन्दा बढी पारदर्शी ढंगले कर तिर्छौ। दोस्रो, हामी प्रयोगकर्तालाई स्पष्ट र धेरै च्यानलहरुबाट मनोरञ्जन दिन्छौं र तेस्रोमा हामी तार रहित प्रणालीबाट सेवा दिने भएकोले मुलुकभरी जुनसुकै ठाउँमा स्थानान्तरण भएपनि तत्कालै हामी सेवा सञ्चालन गराउन सक्छौ। हाम्रा शक्तिशाली प्रविधिहरुको कारण सेवामा त्यति धेरै गुनासाहरु आउने गरेका छैनन् र ग्राहकको सन्तुष्टिलाई नै आफ्नो मूल लक्ष्य मानेर अघि बढ्ने भएकोले प्रयोगकर्ताहरुले डिसहोम नै रोज्नु पर्छ भन्ने हाम्रो धारणा हो। अर्का तर्फ हामी जन चाहाना अनुसारको मौलिक च्यानलहरु मार्फत् सेवाग्रहीलाई भरपुर मनोरञ्जन दिने गर्दछौं। यी र यस्तै कारणहरुले गर्दा पनि ग्राहकले हामीलाई मनपराईरहनु भएको छ र यसमा अझ बढी माया पाउने आशा हाम्रो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ