arrow

बामदेवको ‘इन्काउन्टर प्रस्ताव’ ओलीका लागि खतराको घण्टी

नेतृत्व कब्जाका लागि प्रचण्डलाई हरियो बत्ती

logo
प्रकाशित २०७५ पुष १ आइतबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं। गएको एक वर्षमा तीनपल्ट थला पर्ने गरि पल्टिए बामदेव गौतम, जो उनका लागि प्रतिष्ठाको लडाइँ बनेको छ। जीवन मरणको पनि। नत्र राजनीतिक भविष्य चौपटप्रायः। 

पहिलोः गत मसिंरको आम चुनावमा। बामदेवको आरोप थियो—षडयन्त्र गरेर हराइयो। नाम लिन सकेनन् पृष्ठभूमीमा नाम थियो ओलीको। 

दोश्रोः लगभग ठिक्क परेको डोल्पाको उपचुनाव। ओलीले दिमाग भुटेपछि सांसद धनबहादुर बुढा यू टर्न भए। 

तेश्रोः काठमाडौं क्षेत्र नम्बर ७ को उपचुनाव। प्रचण्ड मानिसकेका थिए। रामबीरले त राजीनामा नै बुझाइसकेका थिए। ओलीले छिर्के हान्दिए। बामदेवसँगै रामबीर पनि उत्तानो परे। अचेल रामबीर जनतासँग बोल्दा पनि नाक छोपेर बोल्नुपर्ने अबस्थामा छन्।

इखालु छन् बामदेव। मनकारी पनि। आफुलाई मन परेपछि सकियो। बल्खु दरबार बनाउँदा कत्ति रिस्क मोले त्यो त सबभन्दा बढी अहिलेका गुमनाम नेता प्रदीप नेपाल जति कस्सैलाई थाहै छैन। तत्कालिन एमाले छुट्टिँदा खुलामन्चबाटै घोषणा गरेका हुन् बामदेवलाई एक नम्बरको भ्रष्टाचारी। तर उनले त्यो बेला बल्खु दरबार बनाउँदाको गुन भने बिर्सिएकै हुन्। बामदेव हुन्थेनन् भने बल्खु दरबार बन्नेनै थिएन। कस्समै हो, बन्थेन। अर्को कुरा पनि कुरा क्लियर छ : बामदेव गृहमन्त्री थिएनन् भने, २०५४ को स्थानीय चुनावमा एमाले पहिलो मरिगए हुन्थेन। बामदेवको पालाका पुलिसहरु अहिले पनि त्यो बेलाको उनको शैली र शान देखेर चिब्रो टोक्छन्।

पार्टी महाधिवेशनमा बामदेव र प्रदीप नेपाल नै हुन् ओलीलाई जिताउन कम्मर कसेर लागेका। उनीहरुले सीधै भन्थे : दुःख धेरै नै पाएका छन्, अध्यक्ष बनेनन् भने धरै बाँच्दैनन् पनि। सिम्प्याथीकै राजनीति गरे। ओलीलाई जिताए। तर यी दुबै भाइ ओलीको कोटरीमा परेनन्। कारण एउटा मात्रै होः दुबै खरा नेता। मनमा लागेको बोलिहाल्ने, अध्यक्ष सध्यक्ष जे हुन्। ओलीलाई के चाहियो ? कालान्तरमा दुबै सकिए। 

घाइते बाघ हुन् बामदेव। गर्न पर्‍यो भने ज्यान दिएर गर्ने। तलबिजक पर्‍यो भने ? त्यो बेला पर्‍यो भने ज्यानै लिने, मसो पर्‍यो भने थला पार्ने। सीपीलाई थला पारेको इतिहास साक्षी छ। लाहुरे, भारतीय सैनिक पनि हुन् उनी। युद्धकला थाहा छ। आफ्नो भने जस्तो भएन भने ?  बरु ज्यान जाओस्। जब्बर। यही भूमरीको उत्पादन हो : बामदेवको पछिल्लो काउन्टर प्रतिवेदन, बास्ताविकता चाहिँ इन्काउन्टर। 

प्रचण्डको ग्राण्ड डिजाइन कि बामदेवको उत्ताउलो भिजन ?
भन्नै परेन, पहिलो संबिधानसभा चुनावको नतीजा आए लगत्तै बामदेव गौतम सीधै प्रचण्ड निवासमा गएर मलाई किन हराएको ? भन्दै गुनासो गरेका थिए। यस्तै भयो गौतमजी भनेर प्रचण्डले थपथपाए। गौतमकै पहलमा एमाले र एमाओबादी केन्द्रको चुनावी गठबन्धन र पार्टी एकतासम्मको जोरजम भयो। त्यसैको गुन तिर्न उनले जसरी पनि बामदेवलाई संसदमा भित्र्याउने कोशिश गरे। तर तगारो ओली नै।

प्रचण्डलाई थाहा थियोः एक्लै चुनाव लडियो भने उठ्नै नसक्ने गरी ढलिन्छ। स्थानीयमा काँग्रेससँग। केन्द्र र प्रदेश चुनावमा काँग्रेसले अलिक हेप्यो। लौ त भनेर प्रचण्ड एमालेसँग लहसिए। सिद्धन लागेको पार्टी एमालेसँग मिलाएर मुलुककै ठूलो पार्टी बनाए। त्यसमा प्रचण्डले बामदेवको गुन तिर्न बेला बेलामा उनलाई संसदमा छिराउने प्रयास समेत गरेका छन्। त्यसैको पछिल्लो कडी थियोः रामबीर मानन्धरको राजीनमा—उर्फ बामदेवको सत्ता यात्राको जोहो। तर ओलीले कठबार ठोके।  ओलीलाई यत्ति चैं थाहा छ, कुनै पनि बेला सत्ताबाट खुस्किन सकिन्छ। यो नियम हो। आएपछि जानुपर्छ। कहिले, कति समयपछि भन्ने मात्रै हो।

मौकाको पर्खाइमा बसेका बामदेवले बल्ल कर पाएका हुन् ओलीलाई साइजमा ल्याउने, रिसाइज गर्ने। ओली मनलागी हिसाबले अगाडी बढ्ने, कस्सैको कुरै नसुन्ने, आफ्ना मान्छे, नातागोता र आसेपासेलाई मात्रै च्याप्ने गर्न थालेपछि आक्रोसित घनश्याम भुषाल, योगेश भट्टराई, युवराज ज्ञवाली, भीम रावल लगायतका युवा नेताहरुले ज्ञापन पत्र नै बुझाए। युवा नेताहरुको सेन्टिमेन्ट क्यास गर्न नेता माधव नेपालदेखि, झलनाथ खनाल र नारायणजीको साथ पाएपछि, बामदेवको चुरीफुरी बढेको प्रष्ट छ।

तर यो मामलामा नेपाल र खनाल भन्दा पनि प्रचण्डबाटै ग्रीन सिग्नल पाएपछि, गौतम तीन बित्ता उफ्रन थालेको, प्रचण्ड निकट एकजना पूर्वमन्त्रीको जिकिर गरेका छन्। उनले ठाडै भने हाम्रा कमरेडको साथ नहुने हो भने उनको चुरीफुरी पानीको फोका सरह हो। जस्तै ? जस्तै नि होली वाइन काण्डपछि ओलीले बुद्धिजीविलाई थला पार्ने भनेपछि भीम रावल बोल्न सकेका छन् ? उनले उल्टै प्रश्न गरे। तर यसपाला बामदेवले योजनाबद्ध रुपमै ओलीमाथि कडा खालका प्रमाण पेश गर्दै धावा बोलेका छन्: 

१. ओलीलाई प्रधानमन्त्री बनाउनु नै भूल
पार्टीको सर्वोच्चता स्थापित गर्न अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन पार्टीको संस्थागत निर्णय हुनुपर्दथ्यो। तर, हतार–हतार ससंदीय दलको नेता मनोनित गराईयो र त्यसै दिन साँझ प्रधानमन्त्रीलाई शपथ दिलाइयो। त्यसबेला पार्टी कमिटिको बैठक बोलाई विधिवत निर्णय गराउने आवश्यकता पार्टी अध्यक्षले महसुस गर्नुभएन। प्रधानमन्त्रीले शपथ गरेकै दिन २ जना मन्त्रीहरुलाई पनि शपथ गराइयो। 
तर, त्यसका निम्ति पनि पार्टीमा निर्णय गर्ने आवश्यकता देखिएन। त्यसपछि विभिन्न चरणमा मन्त्रीमण्डलमा मन्त्रीहरु थप्दै २३ जना पुर्‍याइयो। तत्कालिन पार्टीमा जानकारी दिने आवश्यकता पनि ठानिएन।

२. बजेटमै आपत्ति 
सरकारले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम र बजेट गत बैसाख र जेठमा प्रस्तुत गरेको छ। यसबारे पार्टी निर्णयको त कुरै छोडौं जिम्मेवार  निकाय र पार्टीका अन्य नेताहरुलाई जानकारी समेत दिइएन। राष्ट्रिय सभामा तीन जना सदस्यहरु मनोनयन गर्दा पनि पार्टीको कुनै निकायसित सल्लाह, सुझाव लिने, छलफल र निर्णय गर्ने आवश्यकता नै ठानिएन। दुई पटक विभिन्न देशमा विभिन्न व्यक्तिहरुलाई राजदुत बनाएर पठाउने सरकारले निर्णय गर्‍यो तर पार्टीको कुनै निकायमा छलफल र निर्णयको आवश्यकता महसूश गरिएन।

३. होली वाइन प्रकरण 
युनिभर्सल पिस फेडेरेशनको आयोजनामा काठमाण्डौमा एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन भयो। त्यसमा पार्टीका उच्च पदस्थ नेताहरु, नेपाल सरकार सहित प्रदेश र स्थानीय तहका सरकारहरुलाई पनि सामेल गराइयो। तर यस किसिमको कार्यक्रममा सरकार र नेताहरुको संलग्नताका निम्ति पार्टीमा निर्णय गर्नुपर्ने आवश्यकता नै ठानिएन। 

४. अरिंगाल र मौरीको प्रसंग 
पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरेपनि कार्यकर्ताहरु नत अरिंगाल बन्न सकेका छन् न मौरी बनेर मह दिन सकेका छन्। चारैतिर नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरु उर्जा समाप्त भएका उत्साहहिन, चिन्तित र मौनधारणको अवस्थामा छन्। यस्तो अवस्था कसरी सृजना भयो रु सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरुले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन्।

४. निकासको अचूक उपाय 
अहिलेसम्मको अनुभवका आधारमा प्रधानमन्त्रीले पार्टी अध्यक्षको कार्यकारी भूमिका सफलतापूर्वक निर्वाह गर्न अनुकुलता भएको पाइएन। तसर्थ अध्यक्ष प्रधानमन्त्रीले प्रभावकारी रुपमा सरकार संचालन गर्ने तर्फ नै ध्यान बढि दिने र प्रधानमन्त्री नभएका अध्यक्षले प्रभावकारी रुपमा पार्टी संचालन गर्नेतर्फ ध्यान बढि दिने व्यवस्था गर्ने। 

५. पार्टी नेताहरुको मुख बन्द छ 
बामदेवको काउन्टर अट्याक आए लगत्तै सत्तारुढ नेकपामा ठुलै हलचल मच्चिएको छ। पूर्व अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डे शुरुमा बोल्न तयार थिए। तर बामदेव प्रस्तावको कुरा सुन्नसाथ हच्किए। यो विषयमा पछि बोलौंला भने। यसमा कुरा गरिन है भनेर फोन काटे। महिला बालबालिका मन्त्री बनेकी थममाया थापाले गौतमको प्रस्ताव पढ्नै पाएको छैन नि भनेर टारिन।

अर्का नेता युवराज ज्ञवालीले भने अलिकति कुरा फुस्काए। उनले भने “एउटाले सरकार हेर्ने अर्कोले पार्टी हेर्ने भनेको त राम्रै हो नि, होइन र ? बामदेवको एउटै उद्देश्य देखिन्छ, ओलीलाई पार्टी अध्यक्षबाट मुन्ट्याउने, फ्याँक्ने। किनकि संबिधानकै प्रावधान अनुसार पनि, उनी आफैंले छाडेनन् र छाड्नै पर्ने अबस्था आएन भने अबको डेढ वर्ष उनलाई कस्सैले हल्लाउन सक्ने ठाउँ नै छैन।

समय दिन नसकेको, आफु खुसी हिँड्न थालेको र पार्टीका कसैको कुरै नसुनेर मनमौजी बन्न थालेको आरोप भित्रभित्र सबैले लगाएकै छन्। यही बेला सरकारको परफरमेन्स गतिलो हुन नसकेको पनि छर्लंगै छ। यही मेसोमै उनको एउटा पखेटा भाँच्न सकिने ओली इतरका नेताहरुको मनोकांक्षा बुझेका बामदेवले स्थायी कमिटिमा तुरुप प्रहार गरेका छन्। 

तुरुपको असर शुरुमै देखिएको छ। अघिल्लो दिन बामदेवको काउन्टर अट्याक खेपेका ओलीले भोलिपल्टै आइतबार, दुई अध्यक्षको एकता भाँड्न प्रतिक्रियाबादीहरु लागि परेको आरोप ओकलेका छन्। उनले भनेका छन् : संबिधानले दिएन र पो त नत्र दुबै जना प्रधानमन्त्री बन्न हुन्थ्यो। यसको अर्थ ओलीलाई थाहा भइसक्यो प्रचण्डलाई प्रधानमन्त्री बन्न हतारो भइसक्यो। तर कपटी (कुटनीतिक) कुरा बोलिहाले। नत्र, लौ न त मा छाड्दिन्छु प्रचण्डलाई प्रधानमन्त्री बनाऔं भन्न पनि त सक्थे नि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ