काठमाडौं। नेपाली खेलकुदमा यतिबेला गुटबन्दी मौलाएको छ। यो गुटबन्दी यस्तोसम्म भएको छ कि यसले आफ्नै दलको कार्यकर्तासमेत चिन्दैन। आपसमा गुटबन्दी गरेर भलै खेलकुद क्षेत्र ध्वस्त किन नहोस् उनीहरु दिनप्रतिदिन लागिरहेका छन् आफ्नो तागत देखाउन।
भन्नैपर्दा खेलकुद क्षेत्रमा यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हालीमुहाली छ। तर यही हालीमुहालीभित्र गुटबन्दीले खेलकुदनै डामाडोल भइरहेको छ। युवा तथा खेलकुद मन्त्रालयदेखि नेपाल ओलम्पिक कमिटीसम्म राजनीतिमात्रै छ।
अनि त्यसभित्रको गुट उपगुट निकै रोचक छ । संयोग कस्तो मिलेको छ भने मन्त्रालयदेखि ओलम्पिकसम्म नेकपाका नेताहरु भरिएका छन् । तर ती पार्टीभित्रका छुट्टाछुट्टै गुटका छन् । यही गुटले बनेको काम पनि बिगारिरहेको छ।
बहुदल आउनुअघि पञ्चायतमा राजतन्त्रले खेलकुदलाई मनोरञ्जनको साधन बनायो । त्यसपछि बहुदल आयो । बहुदलले विभिन्न दलका कार्यकर्ता भर्तीकेन्द्र खोल्यो । त्यही भर्तीकेन्द्रमा चलिरहेको छ अहिले खेलकुद ।
हुँदाहुँदा खेलाडीहरुसमेत खुल्लम खुल्ला भइरहेका छन् । हुनत खेलाडीहरु सकभर राजनीतिक धार देखाउन चाहँदैनन् । तर मुलुकले माहोल यस्तो बनाइदिएको छ कि मानौं राजनीतिक धारमा लाग्यो भने जागिर पक्का हुन्छ ।
आफ्नो पहुँच बढाउन राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कादेखि कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्टसम्मले नेकपाको झण्डा ओढेका छन् । त्यही झण्डाको आडमा उनीहरु राम्रो प्रशिक्षक बनिरहेका छन् ।
यस्तो भइरहेको छ खेलकुद क्षेत्रमा कि हावा जता चल्छ त्यतै खेलाडीहरु पनि बगिरहेका छन् । हुनत सत्ताको साँचो जुन दलको नेतृत्वमा हुन्छ उसले राष्ट्रिय खेलकुद परिषद् राखेपमा पनि जरो गाडेको हुन्छ । अहिले नेकपाको हातमा छ । स्वभावैले नेकपाका कार्यकर्ता भर्तीकेन्द्र बनिरहेको छ ।
रमाइलो कुरा युवा तथा खेलुकद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका मान्छे हुन् । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यचिव केसवकुमार विष्ट वरिष्ठ नेता माधवकुमार नेपालका मान्छे हुन् । उपाध्यक्ष पिताम्बर तिम्सिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका मान्छे हुन् । अनि ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ नेकपा प्रभावशाली नेता वामदेव गौतमका मान्छे हुन् ।
जसरी नेकपाको बैठकमा भाँडभैलो मच्चिरहेको पाइन्छ त्यसरी नै खेलकुदका यी मुख्य पदाधिकारीहरुबीचको भाँडभैलो र जुँगाको लडाइँले कसैले कसैलाई टेर्ने अवस्था छैन । मन्त्री सांसदसमेत हुन् । श्रेष्ठ सांसदसमेत हुन् । अनि सदस्यसचिव विष्ट पहिलेदेखि नै प्रशासन सम्हाल्दै आएका र उपाध्यक्ष तिम्सिना प्रधानमन्त्रीका खास । अब कसले कसलाई गन्ने ?
यही किचलोले नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो प्रतियोगिता दक्षिण एसियाली खेलकुद साग पनि अलपत्र परेको छ । कुनै पनि हालतमा आगामी मार्च महिनामा यो प्रतियोगिता गर्नुपर्ने थियो । तर मन्त्री, सदस्यसचिव र ओलम्पिक अध्यक्षबीच संवादसमेत हुन सकिरहेको छैन ।
यो सब गुटबन्दीले भएको हो । गुटबन्दी नहुने हो र सबैले देशलाई पहिलो प्राथमिकतामा राख्ने हो भने समस्याको समाधान तत्काल निस्कन्छ । त्यही जुँगाको लडाइँले आठौं राष्ट्रिय खेलकुदसमेत हुन सकिरहेको छैन । पार्टीकै झण्डामुनि रहेर झगडामा लाग्ने हो भने खेलकुद पञ्चायती व्यवस्थामा भन्दा पनि तल झर्ने विश्लेषण हुन थालेको छ ।