arrow

यसरी समात्यो प्रहरीले लुकाईएका पेट्रोलियम पदार्थ सहित तीन जना

logo
निर्मल खत्री,
प्रकाशित २०७२ फागुन १९ बुधबार
kalobajari-ko-search-gardai.JPG.jpeg
म्याग्दी ।  चार महिना लामो भारतिय नाकाबन्दीपछि सहज बन्दै गएको पेट्रोलियम पदार्थ घरमा लुकाईराखेको अवस्थामा तीनजना यातायात व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।  लामो समयदेखि महँगो मूल्यमा डिजेल र पेट्रोल बिक्री वितरण गरेको गोप्य सूचनाका आधारमा प्रहरीले बेनी नगरपालिका–९गलेश्वरबाट मोहन केसी, लक्की केसी र बेनीबजारस्थित कालीपुल बसपार्कबाट यज्ञराज थापालाई ३ सय लिटर डिजेल र १ सय ४५ लिटर पेट्रोल सहित बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले कति मूल्यमा विक्रीवितरण भएको भन्ने नखुलाएपनि यातायात व्यवसायीहरुले भने एकसय ५० रुपैयाँ प्रतिलिटरमा डिजेल खरिद गर्ने गरेको प्रतिक्रिया दिएका छन् । 
 
प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले यज्ञराज थापाबाट २ सय ५० लिटर डिजेल र १ सय लिटर पेट्रोल, लक्की केसीबाट ५० लिटर डिजेल र १५ लिटर पेट्रोल र मोहन केसीबाट ३५ लिटर पेट्रोल बरामद गरिएको जानकारी दिए । ‘हामीले घरमा स्टोर गरिराखेको अवस्थामा डिजेलहरु बरामद गरेका हौँ, कति मूल्य वितरण ग¥यो भन्ने कुरा खुल्न बाँकी छ’, प्रनि गुरुले भने, ‘यो विषयमा गहिरो अनुसन्धान हुनेछ ।’ भारतीय अघोषित नाकाबन्दीको समयमा पनि जिल्लामा ठुलो परिमाणमा पेट्रोलियम पदार्थ भित्रिने गरेको थियो । जिल्लामा आईतबार मात्रै १२ हजार डिजेल र ९ हजार पेट्रोल भित्रिएको जिल्ला प्रशासनले जनाएको छ । 
 
भित्रिएका तेललाई कोटा प्रणालीका आधारमा यातायात व्यवसायीलाई वितरण गरिदै आएपनि पेट्रोल पम्प सञ्चालक र यातायात व्यवसायीको मेलमतोमा तेल घर–घरमा पुग्ने गरेको प्रहरीले अनुमान गरेको छ । ‘बाहिर हाहाकार छ, तैपनि घरमा तेलको थुप्रो भेटिन्छ, यो विषयमा हामीले गहिरो अनुसन्धान गर्दैछौ, अनुसन्धान पछि बल्ल सबै कुरा थाहा हुन्छ’, उनले भने, ‘अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा पम्प सञ्चालकहरु पनि तानिन सक्नेछन् ।’ जिल्लामा भित्रिने पेट्रोलियम पदार्थ मालिका आयल स्टोर्स, कालीगण्डकी आयल स्टोर्स र गलेश्वरस्थित रघुगंगा आयल स्टोर्सबाट पालैपालो बिक्री हुदै आएको छ ।
 
‘यसरी खुल्यो रहस्य
बेनी–नाराणगढ चल्ने ना ३ ख ४५७४ नम्बरको बसलाई डिजेल अभाव भयो । तेल मिलाईदिने काम यातायात व्यवसायी राम केसीले गरे । त्यतिबेलासम्म प्रहरीले महँगो मूल्यमा तेल बेच्दै गरेको खबर पायो । प्रहरी बस र पेट्रोल बेच्ने सबैलाई एकैपटक पक्राउ गर्न सफल भयो । बाग्लुङ भगवति यातायात व्यवसायी समिति म्याग्दी शाखाका प्रमुख राम केसीले तीन जना मिलेर नाकाबन्दी सुरु भएदेखि नै कालोबजारीमा तेल बेच्ने गरेको बताए । 
 
उनका अनुसार, ७६ रुपैयाँ पर्ने डिजेल १ सय ५० रुपैयाँमा यातायात व्यवसायी तिनीहरुबाट किन्न बाध्य छन् । ‘पेट्रोल पम्पबाटै कालोबजारी भएर व्यक्तिको घरमा पुग्छन्, सबैभन्दा बढी भ्रष्टाचारी त पम्प सञ्चालकहरु नै हुन्’, उनले भने । अर्का यातायात व्यवसायी कुमार बरुवालले कालोबजारीया र पम्प सञ्चालकको मिलेमतोका कारण सोझासिधाले तेल पाउन मुश्किल हुनेगरेको जानकारी दिए । ‘अहिले सहज बन्दै गएको छ, तैपनि हामीले तेल पाउँदैनौँ, कोही यहिबेला मालामाल हुन्छन्, उनले भने, ‘दोषीहरुलाई कडा कारबाही हुनुपर्छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ