भटाभट गाभिने तयारीमा विश्वका 'सेयर सम्राट'हरु, २०३० मा ५ वटा मात्रै !
सुदर्शन अर्याल,
प्रकाशित २०७५ पुष १० मंगलबार
509
Shares
काठमाडौं । विश्वमा सेयर बजार सञ्चालनमा व्यवस्थापकीय खर्च अत्यन्त हुन थालेपछि भटाभट एक आपसमा गाभिन थालेका छन् । कारोबारको प्रकृति र भौगोलिक अनुकूलतालाई हेरेर विश्वका ठूला ठूला सेयर बजारहरु एक आपसमा गाभिन थालेका हुन् । यसरी गाभिने सेयर बजारहरु आफ्नो देश भित्र मात्रै सीमित नभएर देश बाहिरका सेयर बजारसँग समेत गाभिने प्रक्रिया सुरु गरिसकेका छन्।
विश्वमा सबैभन्दा धेरै बजार पुँजीकरण रहेको न्यूयोर्क स्टक एक्सचेन्जदेखि १० औं र ११ औं स्थानमा रहेका भारतीय दुबै स्टक एक्सचेन्जहरु समेत व्यवस्थापकीय खर्च घटाउने र अर्काे देशका लगानीकर्तालाई समेत बजारमा प्रवेश गराउने उद्देश्यले भटाभट गाभिने प्रक्रियामा जान थालेका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल व्यवस्थापकीय खर्च जोगाउन मात्रै नभएर अन्तरदेशीय लगानीकर्ता भित्र्याउनको लागि समेत ठूला सेयर बजारहरु एक आपसमा गाभिने प्रक्रियामा रहेको बताउँछन् । नेपालले यही अवस्था नरोकिने हो भने २०३० भित्र विश्वमा जम्मा ५ वटामात्रै सेयर बजार रहने अनुमान पनि गरेका छन् ।
अमेरिकाले पुँजीबजारको विस्तारलाई दिन प्रतिदिन व्यापक बनाउँदै लगेको छ । अहिले त्यहाँ कुनैपनि कम्पनी स्थापना हुनु पूर्व नै आफ्नो योजनाको आधारमा पुँजीबजार मार्फत् जनताको लगानी उठाउने पाउने व्यवस्था छ । यसलाई अहिले मिनि आईपिओको नामले समेत चिन्ने गरिएको छ । यो व्यवस्था अहिले अमेरिकामा मात्रै छ । अमेरिकामा अहिले आफ्नो परियोजनाको प्रस्तावना पेश गरेर मात्रै पनि पुँजी बजारमा प्रवेश पाउने प्रणालीको विकास भईसकेको छ । नेपालमा अहिले पुँजी बजारमा प्रवेशको लागि ३ वर्षसम्म नाफामा गएको पब्लिक कम्पनी हुनुपर्ने जस्ता प्रावधानहरु राखिएका छन् ।
विश्वमा पुँजीबजारहरु एक आपसमा गाभिने क्रमलाई हेर्दा भारतमा हरेक प्रदेशमा रहेको सेयर बजारहरु एक आपसमा गाभिँदै जाँदा अहिले जम्मा दुईवटा मात्रै पुँजीबजारबाट कारोबार हुने गरेको छ । अहिले भारतमा मुम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज गरी दुईवटा पुँजी बजारमार्फत् कारोबार हुने गरेको छ । भारतका यी स्टक एक्सचेन्जहरु विश्वका धेरै कारोबार हुने बजार मध्ये क्रमशः १० औं र ११ औं स्थानमा छन् ।
कूल पुँजीकरणको आधारमा सबैभन्दा ठूलो स्टक एक्सचेन्ज अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्ज हो । दोस्रो स्थानमा पनि अमेरिकाको नै न्यासड्याक स्टक एक्सचेन्ज रहेको छ । उनीहरुको कूल बजार पुँजीकरणको सूची तल उल्लेख गरिएको छ । भारतका दुई पुँजीबजारहरु पनि एक आपमा गाभिने प्रक्रियामा रहेका छन् ।
त्यस्तै, अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्ज र बेलायतको लण्डन स्टक एक्सचेन्ज एक आपसमा गाभिने विषयमा छलफल चलिरहेको छ । हङकङको स्टक एक्सचेन्ज र जापानको जापान एक्सचेन्ज ग्रुपबीच पनि गाभिने विषयमा कुराकानी चलिरहेको बुझिएको छ । यस अघि जापानको सबैभन्दा पुरानो स्टक एक्सचेन्ज टोकियो स्टक एक्सचेन्ज, ओसाका सेक्युरिटीज् एक्सचेन्ज, जापान एक्सचेन्ज रेगुलेसन र जापान सेक्युरिटिज् क्लियरिङ कर्पाेरेसन एक आपसमा गाभिएर २०१३ को पहिलो दिन नै जापान एक्सचेन्ज ग्रुपको नामबाट कारोबार सञ्चालन भएको थियो ।
त्यसैगरी, युरोपका अधिकांश देशका स्टक एक्सचेन्जहरु एक आपसमा गाभिएर युरोनेक्स्टको नामबाट कारोबार भईरहेको छ । यिनीहरु सन् २००० मा एक आपसमा गाभिएका थिए । अष्ट्रेलियाको स्टक एक्सचेन्ज र सिंगापुरको स्टक एक्सचेन्ज एक आपसमा गाभिने प्रक्रियामा रहेका छन् ।