arrow

उम्मेद्वारी घोषणा गर्दै गगन थापाले भने, ‘मेरो पुस्तासंग उमेर छ, समय छैन’ (भिडियोसहित)

‘म भन्दा कम उमेरका युवाले खाडीमा मेहनत गरेको पैसाले देश चल्दै छ’

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । १३औं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता गगन थापाले पत्रकार सम्मेलनमा उपस्थित नेता कार्यकर्ताको ध्यान निकै खिचे । विचारोत्तेजक वक्तव्य दिने क्रममा थापाले आफुसंग उमेर रहेको तर समय नरहेको सन्दर्भ प्रमुखताका साथ उठाए । थापाले भने, ‘कतिपय साथीहरुले मलाई तपाईहरुको उमेर छ भने, जवाफमा मैले हो हामीसंग उमेर छ, तर समय छैन भने ।’ २०८८ साल अबको १५ वर्ष पछाडी आउँछ, जुन वर्षलाई हामीले मानव वर्ष मानेका छौं ।  थापाले गम्भीरताका साथ त्यो १५ वर्ष भित्रमा संविधान कार्यान्वयन गर्न चुक्यौं, यो संविधानले देशलाई जोड्न चुक्यौं भने कांग्रेस मात्र होइन सिंगो नेपाल हार्ने छ ।’
 
२०१५, २०४६ हुँदै १२ बुँदे समझ्दारी र गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको विशाल परिवर्तन एवं संघीय गणतन्त्र नेपालको संविधान निर्माण सम्म आइपुग्दा कांग्रेस विजयी भएकै हो । तर, त्यो विजयलाई जोगाउन सकिएन । हाम्रो हार भयो । हारेर पनि हामी उठ्यौं । फेरि त्यो हारलाई अन्त्य गर्ने कि नगर्ने भन्ने प्रमुख मुद्दा हो । थापाले भने, ‘फेरि पनि देश सम्हाल्न सकेन भने । २०८८ सालतिर कांग्रेसको एउटा नयाँ पुस्ता आउँछ, त्यसले चार तारे झण्डा बोकेर सडकमा आन्दोलन गर्दै जय नेपाल भन्नेछ ।’ हामीले यो पुस्तालाई फेरि पनि कमजोर सम्झिँयौं फेरि पनि कांग्रेस पार्टी संघर्षकै हविगतमा हुनेछ । 
 
तर्क गर्दै थापाले भने, ‘त्यो १५ वर्षभित्रमा त्यो पुस्ताले अति कमविकसित, गरिब कंगाल देशको परिचयबाट अनवरत सरकार चलायौं भन्ने छ ।’ त्यसकारण हामीसंग उमेर छ, समय छैन भनेको हो । युवाको योग्यता क्षमताको सन्दर्भ कोट्याउँदै थापाले आफुहरुलाई क्षमता छैन भन्नु सिंगो नेपालको अपमान गर्नु हो–भने । थापाले ‘म भन्दा कम उमेरका क्षमतावान् युवाले खाडीमा मेहनत गरेर कमाएको पैसाले देश चल्दै छ, त्यो ठूलो जमात स्वदेश फर्कन चाहन्छ, जसले देशको समृद्धि र भविष्यको चिन्ता गरिरहेको छ , त्यसैलाई क्षमता छैन भन्नु कहाँ सम्मको बहादुरी हो भन्दै तर्क गरे । यसरी वर्तमान पदचापलाई नबुझ्ने हो भने अबको १५ वर्ष अन्तराल मानव वर्ष कसरी हुन सक्छ ? परिक्षा मेरो र हाम्रो मात्रै होइन, थापाले भने, ‘आम महाधिवेशन प्रतिनिधिको हो, भोली गाउँ फर्किदा हरेक नागरिकले सोध्ने छन्, तिमीले केका लागि मतदान गरेउ ?।’ यो महाधिवेशनले वीपी र गिरिजाको उत्तराधिकारी खोजेको बताउँदै थापाले त्यसमा पनि क्रान्तिकारी उत्तराधिकारी खोजेको छ–भने । जसले गिरिजाको साहस र परिकल्पना बोकेर हिंडेको उत्तराधिकारी खोजेको छ । 
 
थापाले आफुले महामन्त्रीको उम्मेद्वारी दिन चुनौतीपूर्ण र कठिन निर्णय गरेको सुनाउँदै आफ्नै परिवारका सदस्यसंग प्रतिस्पर्धा गर्न लागेको बताए । थापाले भने, ‘यो कठोर निर्णय गर्ने बेलामा मैले मेरो परिवारतर्फ हेरिरहेको छैन, मेरा व्यक्तिगत स्वार्थलाई हेरिरहेको छैन, मात्र के मेरो छोरीको उमेरका सन्ततिको भविष्यतिर हेरिरहेको छु ।’ ताकि अबको १५ वर्ष पछि मेरो छोरीले मेरो बुबाले आफ्नो जीवनको महत्वपूर्ण समयमा देशको समृद्धिका लागि जीवनपर्यन्त निर्णय गरेको गर्व महसुस होस् । 
 
नेता थापाले आफुहरुभित्र आ–आफ्नो उम्मेद्वारीको औचित्य औंल्याउने आ–आफ्ना कारण रहेका बताए । उनले भने, ‘हाम्रा फरक–फरक विचार समूहहरु छन्, ती विचार समूहहरु कहिले बन्छन्, कहिले भत्कन्छन्, त्यो पार्टिभित्र जीवन्त प्रक्रिया हो ।’ पार्टीभित्र कसैले म संस्थापन हो । त्यो होइन भन्ने अधिकार कसैसंग नरहेको थापाको तर्क छ । नेतृत्व पहाडजस्तो, चट्टानजस्तो उभिनुपर्ने प्रसंग झिक्दै थापाले स्वस्थ प्रतिस्पर्धा, आफ्नो उम्मेद्वारीको औचित्य स्थापित गर्नुको साटो अनेकौं षड्यन्त्रका कथा बुन्न आवश्यक छैन–भने । नेपालमा छोटो समयमै परिवर्तन चाहने युवाहरुको आकांक्षाको प्रतिनिधी र आवाज भएर आएको दोस्रो पुस्ता विश्राम लिन चाहँदैन, थाक्न चाहँदैन, मधेस, पहाड र हिमाल सबै मिलाउन चाहन्छ । थापाले बेलिविस्तारमा भने, ‘दलित मधेसी, मुसलमान सबैलाई संगै लिएर हिड्न चाहन्छ, सबैलाई संगै लिएर छोटो अवधिमै एउटा विकसित देशको नागरिक भएर आफ्नै जिवनकालमा समृद्धि देख्न चाहन्छ ।’
 
थापाले ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान,समृद्ध राष्ट्रनिर्माण अब हाम्रो अभियान’ महाधिवेशनको यो नारालाई पूर्णता दिन कृष्णप्रसाद सिटौला सभापति, म महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्वार बनेका हौं–भने । सुशीलको भूमिकालाई निकै सम्मान पूर्वक उठाएका थापाले अबको चार वर्ष महत्वपूर्ण वर्ष हुने बताए । अबको चार वर्षमा कांग्रेसलाई संविधानको कार्यान्वयन, समृद्धि र संघीय गणतन्त्र नेपालको भारी बोक्ने पार्टीको रुपमा उभ्याउने संकल्प लिएको थापाले प्रस्ट्याए । 
 
कांग्रेस फेरि हार्नबाट जोगाने कि नजोगाउने ? 
आफुहरुको सम्पूर्ण ध्यान नेतृत्व चयनमा रहेको बताएका नेता थापाले नागरिकलाई कस्ले जित्यो र कस्ले जितेन भन्नेबारे कुनै सरोकार नरहेको बताए । सरोकार कांग्रेसले यो महाधिवेशनपछी संविधान कार्यान्वयनमा भूमिका खेल्छ कि खेल्दैन ? देशलाई केही दिन्छ कि दिँदैन भन्ने हो–थापाले भने । अबको चार वर्ष भित्रमा संविधान कार्यान्वयन र देश जोगाउन सक्छ कि सक्दैन भन्ने प्रश्न बोकेर नेपाली नागरिकहरु बसिरहेका छन् । त्यसको जवाफ चाहिएको छ ।
 
थापाले चिन्ता गर्दै भने, ‘अतिवादीहरु संविधानविरुद्ध उभिएर असफल पार्न सकिन्छ कि भनेर सल्बलाएका छन् ।’ प्रत्येक पटक नेपाली कांगेस जितेर पनि जित जोगाउन नसकेर हारेको छ । सुशील कोइरालाले संविधान निर्माणको यात्रा पूरा गरेर गए, उग्रवादी शक्तिहरुकाबीच पनि कांग्रेसको झण्डा बोकेर सडकमा ओर्लिएर कयौं राष्ट्रवादी कांग्रेस कार्यकर्ताहरुले आहुती दिए । त्यो उपलब्धि रक्षा गर्ने कि नगर्ने ? थापाले औचित्य प्रस्ट्याउँदै भने, ‘आफुले आम पार्टीभित्रका सार्थीहरुलाई पहिलो पंक्तिका नेताहरुले प्रशिक्षित गरेका नेताहरुलाई जान दिनुस्, दोस्रो पुस्ताका नेताहरु मध्येबाट नेतृत्व छान्नुस्, जसले मात्रै पार्टी भित्र सन्तुलन कायम हुन्छ, ।’ 
 
वीपीको अठोटको नशा 
नेता थापाले सबैलाई आकृष्ठ गर्दै भने, ‘कतिपय साथीहरुले भन्नु भयो, तपाईहरुको उमेर पुगेको छैन ? मैले साथीहरुलाई भने, म वीपीको छोरो होइन । मेरो नशामा वीपीको रगत होइन विचार बगेको छ । म वीपीको आदर्श बोकेर बाँचेको छु ।’  ३९ वर्षको मैले ३२–३२ का ती विपीलाई सम्झिन्छु । मोहन शमशेरले वीपीलाई ‘गाथ गद्दी नताक बाबु’ तिम्रो ओठ निचोर्दा दुध आउँछ भन्दा वीपीले ‘महाराज’ पुर्पुरोमा लेखेर शासन गर्ने दिन गए भनेका थिए । यसरी वीपीको सन्दर्भ जोड्दै थापाले आफुहरुलाई उमेर नपुगेको भन्न नमिल्ने बताए । 
 
भिडियो हेर्नुस् 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ