arrow

यो प्रविधि बनाउने होडमा छन् चीन र अमेरिका, जसले बनायो उसले गर्नेछ विश्वमा राज

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १४ शनिबार
tech_story.png

काठमाडौं । पछिल्लो समय चीन र अमेरिका एक महत्वपूर्ण प्रविधिको विकासका लागि अघि बढिरहेका छन् । यो प्रविधिको नाम हो – साइन्स अफ क्वान्टम इन्फरमेसन (सीआईसी) । अमेरिकाको राष्ट्रिय विज्ञान एवं टेक्निक परिषद्ले गत वर्षको सेप्टेम्बरमा यसका लागि एक रणनीति अघि सारेको थियो ।

यसका लागि केही कम्पनीहरु, शिक्षाविद् अधिकारवादी, वित्तीय कम्पनीहरुलाई ह्वाइट हाउस बोलाइएको थियो । जसमा अल्फाबेट, आईबीएम, जेपी मोर्गन चेज, लकहीड मार्टिन, हनिवेल र नोथ्रोप ग्रुम्यानजस्ता कम्पनीहरु पनि सामेल थिए । 

विज्ञानको यो क्षेत्रमा अमेरिकाले १ सय १८ योजनामा २४ करोड ९० लाख डलर खर्चको प्रस्ताव अघि सारेको थियो । त्यसैगरी चीनले पनि यो प्रविधिको विकास गरिरहेको छ । त्यसका लागि उसले १० अर्ब डलरको लगानीमा हेफेईमा नेशनल ल्याब्रेटरी अफ क्वान्टम साइन्स नामको केन्द्र स्थापना गर्दैछ । यो केन्द्र २०२० देखि सुरु हुने बताइएको छ । 

दुई वर्ष अगाडि नै चीनले पहिलो क्वान्टन कम्युनिकेसन स्याटेलाइट प्रक्षेपण गरेको थियो । गत वर्ष चीनले जिनानमा एक गोप्य कम्युनिकेसन नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो । सेना, सरकार र निजी कम्पनीहरुसँग जोडिएका २०० सम्म प्रयोगकर्ताहरुले यसको प्रयोग गर्नसक्ने बताइएको छ । विश्वका प्रमुख दुई आर्थिक शक्तिहरुले यसका लागि दिएको महत्वले यो प्रविधि विश्वलाई नै परिवर्तन गर्नसक्ने किसिमको शक्तिशाली हुनसक्ने देखिन्छ । 

के हो सीआईसी ? 

अनुसन्धाकर्ताहरुले यसबारेमा लेखेको एक आलेखमा सीआईसी सूचना प्रसारणमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रविधि भएको उल्लेख गरिएको छ । अहिले सबै सूचनाहरु बाइनरी प्रणालीको कोडमा लेखिन्छन् । अर्थात्  जेरो र वानमा सबै सूचनाहरु राखिने गरिएको छ । नयाँ प्रविधिको विकाससँगै यो स्थान पनि परिवर्तन हुनसक्ने बताइएको छ । 

जिरो र वानको सहयोगमा मानिसहरुले आफ्नो सूचनाहरु कम्प्युटर चिपमा सुरक्षित गरेर राख्न सक्छन् । तर नयाँ प्रणालीमा भने उक्त जिरो र वानलाई थप सूक्ष्म प्रणालीमा राख्न सकिन्छ । जस्तो कि कुनै परमाणु वा साना अणुहरुमा उक्त डाटाहरु राख्न सकिन्छ । 

वैज्ञानिक एलेखान्द्रो पोजासका अनुसार यी परमाणुहरु निकै साना हुन्छन् र यिनीहरुको व्यवहारअनुसार अन्य नियमहरु पनि परिवर्तन हुन्छन् । परमाणु र अणुको व्यवहारको तय गर्ने नियम नै क्वान्टम थ्योरी वा क्वान्टम विश्वको नियम हो । क्वान्टम इन्फरमेसन साइन्समा उक्त सूक्ष्म क्वान्टम गुणको प्रयोग गरी सूचनाहरु प्रसारण तथा प्रोसेस गर्ने काममा सुधार आउनेछ । 

यसको अर्थ सीआईसी हाम्रो सूचनाको प्रोसेस गर्ने तरिकामा क्रान्तिकारी बदलाव ल्याउने प्रविधि हो । जसको माध्यमबाट स्वास्थ्य तथा विज्ञान, निर्माण तथा औद्योगिक निर्माणमा हजारौं किसिमको नयाँ सम्भावना पैदा हुनसक्छ । विशेषज्ञका अनुसार क्वान्टम साइन्सले सबै कुराहरुलाई बदल्न सक्छ । जसको कारण विश्वका प्रमुख शक्तिराष्ट्रहरु यसको पछि लागेका छन् । 

क्वान्टम स्याटेलाइट 

अहिलेसम्म यो क्षेत्रमा जति प्रगति भएको छ, यसको आधारमा भन्नुपर्दा चीन अगाडि देखिएको छ । सन् २०१६ मा चीनले विश्वको पहिलो क्वान्टम कम्युनिकेसन स्याटेलाइट प्रक्षेपण गरेको थियो । त्यसको एक वर्षपछि उसले यसबाट चार अनक्रिप्टेड संचार स्थापित गर्नसक्ने दाबी गरेको थियो । जसलाई विश्वका कुनै पनि मुलुकले पढ्न सक्दैनन् । 

एलेखान्द्रोले दुई प्रयोग गरिएको बताए । पहिलो प्रयोगमा स्याटेलाइटको जमिनसँग सम्पर्क स्थापित गरिएको थियो  र उक्त स्याटेलाइटको मद्दतले जमिनमा रहेका दुई केन्द्रको बीचमा क्वान्टम अनक्रिप्टेड सिग्नलसँग सम्पर्क गरिएको थियो । 

सूचना आफ्नो गन्तव्यमा पुग्यो वा पुगेन तथा बाटोमा कसैले रोक्यो कि छैन भन्ने विषयमा भने अहिले प्रयोग भइरहेको इन्फर्मेसन ट्रान्सफर्मरले जान्न सक्दैन । तथापि चीनले यसको अवधारणा मात्र नभई आफूसँग यस्तो क्षमता रहेको साबित पनि गरेको छ । 

क्वान्टम कम्प्युटर 

क्वान्टम कम्प्युटरको क्षेत्रमा भने अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन । केही मुलुकका कम्पनीहरु क्वान्टम कम्प्युटर विकास गर्ने प्रयासमा रहेका छन् । अहिलेसम्म यो प्रविधि सिद्धान्तमा आधारित रहेको कारण यसको प्रयोग भने हुन बाँकी रहेको विशेषज्ञहरुले बताएका छन् । यद्यपि कुनै दिन सफलतापूर्वक यसलाई गणना गर्न सकिने विश्वास उनीहरुको रहेको छ ।  

अमेरिकामा आईबीएम, गुगल र माइक्रोसफ्टजस्ता कम्पनीहरु क्वान्टम कम्प्युटर विकास गर्ने दिशामा अघि बढिरहेका छन् । त्यसैगरी चीनमा पनि अलिबाबा र बैदूजस्ता कम्पनीहरु यसको प्रयास गरिरहेका छन् । 

अहिलेसम्मको प्रयासमा गुगल सबैभन्दा अगाडि रहेको छ । यो कम्प्युटर बनाउनका लागि धेरै समस्याहरु रहेको छ । वातावरण पनि यसको अर्को समस्या रहेको छ । यसलाई निकै कम तापक्रममा राख्नुपर्ने अवस्था रहेको छ तर यसलाई सामान्य तापक्रममा चल्नसक्ने बनाउनु चुनौती रहेको छ । 

क्वान्टम क्रान्ति 

क्वान्टम प्रविधि भविष्यमा कस्तो क्रान्ति ल्याउन सक्छ ? यस विषयमा एलेखान्द्रो भन्छन्, “यो क्रान्ति यस्ते हुनेछ कि जसरी पहिलो कम्प्युटर सुरु भएको थियो ।” 

यस किसिमको प्रविधिले औषधी बनाउने, कम इन्धन प्रयोग गर्नेजस्ता दैनिक काममा पनि निकै महत्वपूर्ण साबित हुनसक्छ । सरकारको हिसाबमा भने रक्षा क्षेत्रमा यो निकै महत्वपूर्ण हुनेछ । यसको माध्यमबाट निकै सुरक्षित संवाद गर्न सकिन्छ । त्यसका साथै दुश्मनको विमान पनि कहाँ छ भन्ने थाहा पाउन सकिन्छ । 

अहिलेको अवस्थामा यो प्रविधि ल्याउने युद्धमा कसको जित हुन्छ भन्ने ठोकुवा गर्न भने निकै कठिन छ । एलेखान्द्रोका अनुसार क्वान्टम कम्प्युटिङ क्षेत्रमा अमेरिका अगाडि छ भने क्वान्टम कम्युनिकेशनमा चीनअगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ