arrow

नेपाली कांग्रेसः अहिलेका आधा दर्जन यथार्थ 

logo
डा सुरेन्द्र सिटौला
प्रकाशित २०७५ पुष २० शुक्रबार
surendra-sitaula.JPG

२००७ सालमा नेपाली कांग्रेसको त्याग वलिदान र नेतृत्वमा नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । इतिहासले यही भन्छ । राणाकालदेखि आजसम्मको राजनीतिको घटनाक्रमले नेपाली काँग्रेसको प्रजातन्त्रप्रतिको दरिलो आस्था, अडान र विश्वासको कारणले नै एक दलिय अधिनायकवादमा विश्वास गर्ने अन्यराजनैतिक दलहरु पनि अन्ततः संसदीय प्रजातन्त्रको न्यानो काखमा शरणमा लिन आइपुगेका छन् ।
    यस्तो गौरवमय राजनैतिक इतिहासको श्रङ्गारले सुषोभित पार्टी नेपाली काँग्रेस आज किन जनतावाट तिरस्कृत हुने  अवस्थामा  आइपुग्यो ? जनताको मुल्यांकनमा वर्तमानको नेपाली काँगे्रस किन भरपर्दो सावित हुन सकेन ? पार्टी नेतृत्व के कुरामा चुक्यो ? समग्र्र मातृ पार्टी र आममतदाता किन कुइरोको काग जस्तै देखिन्छन् ? राजनैतिक यथार्थताको ब्रम्ह चक्षुले  हेर्दा सम्भावित कारण यस्ता हुन सक्छन्  ।

१ महत्वाकांक्षी र अटेरी बुढो पुस्ता 
    नेपाली काँग्रेसको वर्तमानको बुढो पुस्ता हिजोको युवा पुस्ता हो । यो भन्दा अघिल्लो बुढो पुस्तामा वि.पि, गणेशमान, शुवर्ण शम्सेर, कृष्ण प्र.भट्टराई, गिरीजा र महेन्द्र नारायण निधी जस्ता परिपक्क र आदर्श व्यक्तित्वहरु थिए जो आफैमा प्रजातन्त्रका अगुवा तथा लोकतन्त्रका स्वप्नदृष्टा हुन् । प्रजातान्त्रिक निष्ठाको अग्नीपरीक्षामा पटक पटक सफल भएर मुक्तिकानी नेपाली जनमानसको मायालृु स्नेहमा स्थापित त्यो अधिल्लो बुढो पुस्ताले जानी नजानी स्थापित गरि दिएको समूह हो नेपली काँग्रेसको वर्तमानको बुढो पुस्ता । 

  प्रजातान्त्रिक राजनैतिक पार्टीको प्राण भनेको जनताको भावनात्मक आस्था माया र विश्वासयोग्य प्रभावशाली नेतृत्व र यसका राजनैतिक मुद्धाहरु हुन् । यी सवै आयामहरुमा  वर्तमानको पार्टी नेतृत्व कहिँ कतै चुकेको प्रस्ट प्रमाण गरिदिएको छ विगतको आमचुनावको मत परिणामले ।

    विडम्वना पार्टीको वर्तमान बुढो नेतृत्व यो सत्य स्वीकार गर्न किंचित तयार देखिदैन । अपितु तत्कालिन परिस्थितिलाई दोषी बताउँदै ऊ आफैलाई अरु भन्दा सक्षम र लोकप्रिय ठान्दछ । पश्चिमा प्रजातान्त्रिक मुलुकहरुमा जनमतले नकारेपछि पार्टी नेतृत्वमा नयाँ व्यक्तित्व उदाउँछ र पार्टी पुनः गतिशिल र जुझारु भएर जनता माझ गुमेको विश्वास पुनस्र्थापित हुन्छ । नेपाली काँग्रेमा अहिले यो परिस्थित देखिदैन ।

२ कार्यकर्ताको अल्छीपन
    छातीमा हात राखेर साँचो भन्नु पर्दा अन्य राजनैतिक पार्टीका सकृय कार्यकर्ताको तुलनामा जोश जागर र हौसलाको  हिसावले नेपाली काँग्रेसका सकृय कार्यकर्ता तुलनात्मक रुपमा अलि बढी अल्छी र स्ुविधाभोगी वर्गको कित्तामा उभिन्छन् । हुनत नेपाली काँग्रेस नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) जस्तो कार्यकर्तामा आधारित (क्याडर बेस्ड ) नभई यो आममतदातामा आधारित (मास बेस्ड) पार्टी हो । तैपनि बदलिएको समय परिस्थिति र प्रतिस्पर्धी राजनैतिक पार्टीको प्रचार प्रसारको शैलिलाई प्रतिवाद गर्न सकृय कार्यकर्ताको अझ बढी सकृयताको अपेक्षा वर्तमानको यर्थाथताले प्रस्टयाउछ । जुन केही अपवाद बाहेक काँग्रेसका आम सकृय कार्यकर्ताहरुमा पाइँदैन ।

३ पार्टी भित्रका गुट–उपगुट
    वर्तमान नेपाली काँग्रेसको घरभित्र सिर्जित गुट र उपगुुट बीचको यदुवँशी कोलाहाल यसरी उत्पात मच्याउँदैछ कि कसैले आएर घरमा आगो लागाइदियो भने पनि एक अँजुली पानी छर्केर आगो निभाउनु भन्दा अर्को गुटलाई पछार्नु नै आफ्नो प्रमुख राजनैतिक धर्म ठान्दछ । 

यो कुरा अरु कसैले भन्नु भन्दा पनि गत आम निर्वाचनको भत परिणामले नै यो यथार्थ झल्काउँछ । ठूलो राजनैतिक पार्टीभित्र गुट उपगुट हुनु अस्वभाविक होइन तर यस्ता गुट उपगुटले राजनीति धर्मको न्युनतम लक्ष्मण रेखा नाघेर यदुवँशी युद्धमै निर्लिप्त हुँदा समग्र मातृपार्टी वर्तमानको अवस्थामा आइपुग्यो ।
    
यो शास्वत मानवीय गुण हो कि राजनीति गर्ने प्रत्येक मान्छे जोगी या ऋषिमुनि बन्छु भनेर राजनीतिमा आउँदैन । पार्टीका सबै सकृय कार्यकर्ताको नेतृत्व तहसम्म पुग्ने प्रवल इच्छा हुन्छ । यीमध्ये केहि मात्र साम, दाम, समय, परिस्थिति र नेतृत्व  क्षमताले गर्दा सफल हुन्छन् । वाँकीलाई समयको प्रवाहले किनारा लगाउँदछ ।
    
विडम्वना छ ! नेतृत्व या पदमा नपुग्ने असल इमान्दार तर आर्थिक हैसियत कमजोर भएका कार्यकर्तालाई सम्मान र संरक्षण गर्नुपर्ने पार्टी नेतृत्वको विवेक आफ्नो नाता गोता, भाइ भतिजा, हनुमानहरु  र पार्टी नेतृत्वलाई आर्थिक सलामी टक्र्याउने नवकुवेरहरुको वरिपरि मुसाले गणेशलाई फेरा लाएझै घुमिरहन्छ  । अनि पार्टीलाई इतिहासको संगीनघडीमा संजिवनी प्रदान गर्ने आम कार्यकर्ताका मन फाट्छ । फलस्वरुपः पार्टी भित्र गुट उपगुटको जन्म हुन्छ । 


४ युवापुस्ताको आँट र कायरको धोती 
    आजको नेपाली काँग्रेसको युवा पुस्तामा सशक्त र नेतृत्व क्षमता भएका युवाहरुको निकै ठुलो जमात छ । तर क्षमतावान युवा नेताहरुले आफ्नो स्वविवेक र उर्जा प्रयोग गरी गुट उपगुटमा विभक्त भई कमजोर र अचेत जस्तो भएको मातृ पार्टीको नेतृत्वलाई सामुहिक रुपमा एउटै कित्तामा उभिएर सचेत गराउनु पर्ने दायीत्व वोध गरेको पाइदैन । अपितुफरक गुटका वृद्ध शिर्ष नेताको प्रिय घर ज्वाई भई पाएको क्षणिक राजनैतिक मान सम्मान र अर्शिवादमा मख्ख हुँदा नेपाली काँग्रेसको आउदो भविष्यको वर्तमान पनि अहिले कै जस्तो दयनीय दुन्छ कि भन्ने पिरले काँग्रेस पार्टी र प्रजातन्त्रका स्वतन्त्र वौद्धिक शुभचिन्तकहरु निकै चिन्तित देखिन्छन् ।

राजनीतिमा आफ्नो उर्जा र क्षमतालाई चिन्न नसक्ने कार्यकर्तालाई कायर भनिन्छ । अनि कायरको धोतीले लाज छाप्दैन भने झै नेपाली काँग्रेस पार्टी भित्रका आश लाग्दा युवा नेता हरुको प्रवृति यथास्थितिमा रहि रहेमा उनीहरुले पनि रुग्ण नेतृत्वका कारण नाङ्गिएको काँग्रेसको लाज वचाउन निकै  गाह्रो पर्छ ।

५ काँग्रेस कर्मको इतिहास अरुलाई बुझाउन नसक्नु 
    २००७ साल देखिनै काँग्रेसले देश, जनता र प्रजातन्त्रका लागि उठाएको मसालको इतिहास गौरवयम हुँदा हुँदै पनि आफ्नो गौरवपूर्ण इतिहास जनतालाई बुझाउन नसक्नु काँग्रेसको आफ्नै महत्पूर्ण कमजोरी हो ।

आम मतदाताले वुझ्ने भाषा र शैलिमा आफ्ना वर्तमानका योजना र भविष्यका सपनाहरु जनतालाई कण्ठस्थ हुने गरी वुझाउन नेतृत्व वर्गमा जाँगर, वाक् पटुता र वतृत्वकलाको पनि आवश्यता पर्छ । जुन कुरा अहिलेका पार्टी नेतृत्वमा सर्वथा अभाव छ । 

२०३६ सालको जनमत सँग्रहमा आफुले हार स्वीकार गरेर भएपनि देशमा वास्तविक प्रजातन्त्रको दियो बचाई राख्ने एकमात्र ऐतिहासिक राजनैतिक पार्टी नेपाली काँग्रेस नै हो । राजनैतिक स्वार्थको क्षणिक फाइदाको लागि प्रजातन्त्रका मुलभुत आदर्शहरु राजनैतिक जुवाको खालमा काँग्रेसले लिलामीमा राख्दैन भन्ने दरिलोप्रमाण इतिहासको विभिन्न कालखण्डमा यसले राजनीतिमा निभाएको भुमिकाले प्रस्ट्याउँछ ।    

यति हुँदाहुँदै पनि पार्टीको नेतृत्व सीमित महत्वाकाँक्षी पार्टीका अनुयायी र आफ्ना हनुमानहरुको साघुरो घेरा भित्र वन्दि हुनु, आम मतदाताले  शिर्ष नेतृत्वको भित्री मनसायमा  क्षेत्रियताको शंका गर्नु, आफ्ना नाता गोता र पारिवारिक सदस्यहरुको स्वार्थ पुरा गर्न पार्टीको साख दाउमा राख्नु र काँग्रेस सत्तामा रहदा भष्टचारको दुर्गन्धले आफ्ना आम मतदाताले अनुहार लगायत नाक छोप्नु पर्दा काँग्रेसको गौरबमय कर्मको इतिहास धमिलो भएको छ । धमिलो इतिहास जनताको पढ्न रुचाउँदैनन्  र वुझ्दैनन् पनि । 

६ वौद्धिक जमातको इमान्दारीता र चमेराको नियती
    नेपाली काँग्रेस पार्टीको सिद्धान्त र आदर्शप्रति विश्वास राख्ने वौद्धिक जमात नेपालमा ठु्लै संख्यामा छ । केहि अपवाद बाहेक प्रजातन्त्र समर्थक नेपालका वैद्धिक चाणक्यहरु हामीले राजनीति शास्त्रको पुरानो इतिहासमा भेट्टाएको चाणक्य भन्दा विल्कुलै भिन्न “चमेरे चाणक्य” हरुको संख्या अत्यधिक छ । 

यस्ता चाणक्यहरु पार्टी भित्रका सबै गुट उपगुटका नेताहरुको घरपिढी र बैठकलाई जीवनको मुक्तिधाम बनाउर त्यहाँ सधै पुग्दछन् र सबै नेता उपनेताहरुलाई नेताको स्वार्थ अनुकुल सर सल्लाह दिई रहन्छन् । चमेरे चाणक्यहरुको सल्लाहमा देश, जनता, प्रजातन्त्र र पार्टीको अग्रगमनको स्पष्ट नक्सा भेटिदैन अपितु नेतालाई खुशी पारेर प्राप्त हुन सक्ने पद, प्रतिष्ठा र आर्थिक तरक्कीको नाप नक्सा स्पष्ट देखिन्छ  ।
    
चमेरे चाणक्यहरुको सल्लाह र सुभावको सोमरसमा लट्ठ पार्टी नेतृत्वलाई प्रजातन्त्र  र काँग्रेसलाई माया गर्ने स्वतन्त्र सच्चा वौद्धिक चाणक्यहरु पाच्य हुँदैनन् । उनीहरुलाई कहिल्यै बोलाईदैन । झन सल्लाह सुझाव लिने त कुरै भएन ।

फलतः देश, जनता र प्रजातन्त्रले फेरि अधिनायकवादको डरलाग्दो छायासंग तर्सिनुपर्ने अवस्था सृजना भएको छ ।

निष्कर्षः
    माथि लेखिएका सवै कुरा पार्टीका शिर्ष नेतृत्व लगायत सवै तह र तप्काका नेता– कार्यकर्ताहरुले आत्मा साक्षी  राखेर मनन गर्नुपर्छ  ।

surendrakumarsitaula@gmail.com



नयाँ