- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आफूलाई वैकल्पिक राजनैतिक अभियानको रुपमा बताउने विवेकशील साझा पार्टीको सांगठनिक तथा आन्तरिक जीवनमा यतिखेर केहि गम्भिर प्रश्नहरु उठेका छन्। नेतृत्व तहका असहमतिका स्वरहरु सतहमा आएका छन्। वैकल्पिक पार्टी बन्नु अघीनै पार्टी फुटको चरणमा त गएको हैन भन्ने प्रश्न उठिरहँदा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य शशी विक्रम कार्कीसँग हामीले कुरा गरेका छौ। प्रस्तुत छ सोहि कुराकानको सम्पादित अंशः
विवेकशील साझामा देखिएको उतारचढाव के हो ?
पछिल्लो चुनावमा नागरिकहरूले यो देशमा एउटा बलियो वैकल्पिक शक्ति चाहिन्छ भनेर हामीलाई २ लाख १२ हजारभन्दा बढी भोट दिए। प्रदेश ३ मा समानुपातिक तर्फबाट ३ जना सांसदहरूले हामीलाई प्रतिनिधित्व गरिरहनु भएको छ। सङ्गठन विस्तार पनि केही हदससम्म अघि बढेको छ। सदस्यहरू पनि जोडिँदै हुनुहुन्छ। तर, अहिले जसरी पार्टी अघि बढी रहेको छ। त्यसमा नेतृत्व शैली अनि सङ्गठनले अँगालेको पद्धति पुरानै पार्टीहरुको जस्तै होकी भन्ने गम्भीर चिन्ता पुरै पार्टी पंक्तिभित्र सुरु भएको छ। केही केन्द्रीय सदस्य साथीहरूले यही प्रश्न उठाएर हामीलाई केन्द्रीय कमिटीबाट राजिनामा दिनुभएको छ। के हाम्रो दिशा सही छ भन्ने बहस हो यो। धेरै दलहरू परिवर्तनको एजेन्डा बोकेर आए तर सत्ता मै किन विलीन भए ? उनीहरू कहाँ चुके अनि हामी कहाँ चुक्नुहुन्न भन्ने बहस हो यो। अहिले एक संयोजक उज्वल थापाले पार्टीको चुनावपछिको एक वर्षको आफ्नो समीक्षा केन्द्रीय समिति र सदस्यहरूमा पठाउनुभएको छ। उहाँले उहाँको समीक्षा मै समीक्षा गर्न समेत साथीहरुलाई अनुरोध गर्नुभएको छ। अहिले त्यहि समीक्षा नै छलफलको विषय बनेको छ।
यो विवादको चुरो कुरो के हो ?
तपाईले यसलाई विवाद भन्नु भयो। यो विवाद होइन, यो वृहत् छलफल हो। कुन दिशामा पार्टी अघि बढाउने भन्ने छलफल। कस्तो पार्टी, कत्रो पार्टी अनि के बोकेको पार्टी बनाउने भन्ने मन्थन हो। हामीले परम्परागत राजनीतिक दलहरूको बलियो विकल्प हुँदै नागरिकहरू बिच निर्विकल्प पार्टी बनेर उभिन्छौ भनिरहँदा, वैकल्पिक राजनीतिले लिने बाटो, व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयको अत्यन्त महत्त्वपूर्ण बहस हो। मैले यसलाई स्वस्थकर बहसकै रूपमा लिएको छु। पार्टीलाई यस्ता बहसले जीवन्त राख्छ।
त्यसो भयो त्यो बहसको विषय चाहि के हो ?
पार्टी एकीकरण पश्चात् हामीले विवेकशील साझा पार्टी कस्तो पार्टी हो भन्ने विषयमा “एक पाने” दस्ताबेज बनायौ। त्यसैमा हामीले हाम्रो मूल्यमान्यता, हाम्रा विश्वास र हाम्रो मार्गदर्शक सिद्धान्त बारे प्रस्ट्याएका छौं। सहभागितामूलक लोकतन्त्र हाम्रो मार्गदर्शक सिद्धान्त हो। तर पछिल्लो समय पार्टी भित्र केही व्यक्तिहरूको मात्र निर्णय हाबी भएको महसुस केन्द्रीय सदस्यहरू अनि आम सदस्यहरूले नै गर्न थाल्नु भएको छ। जस्तै राष्ट्रिय सभाको चुनावमा हामीले काँग्रेसका नेता राधेश्यामजीलाई समर्थन गर्ने कुरा म केन्द्रीय समिति सदस्य भएर पनि मिडियाबाट थाहा पाउनु परेको थियो। प्रदेश तथा जिल्ला संयोजकहरू तोक्दा पनि यस्तै प्रवृत्ति हाबी भइरहेको छ। केन्द्रीय सदस्य अनि विभाग सदस्यहरुलाई नै थाहा हुँदैन। हामीले केन्द्रीय समितिका निर्णयहरू सदस्यहरू माझ पठाउने निर्णय गरेको महिनौं भई सक्यो तर त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। कुनै पनि विषयहरूमा बहस गर्ने भन्दा पनि फलानाले यत्तिका धेरै मेहनत गरेर तयार गरेको दस्ताबेज, पारित गरिदिनु पर्यो, नेता मानिदिनु पर्यो जस्ता अभिव्यक्तिहरू नेतृत्व तहबाट निरन्तर आउन थाल्यो। हामी पद्धतिमुखी भन्दा व्यक्तिमुखी भयौँ। कुनै पनि देश वा सङ्गठन विफल हुनुको प्रमुख कारण सङ्गठन कमजोर अनि व्यक्ति बलियो हुनु हो। हामी त्यस्तो सङ्गठन बनाउन चाहदैनौं। बनाउनु पनि हुँदैन। तर, हामीले बनाउनु हुँदैन भन्दा भन्दै पनि बन्दै छ। हो, यो यही बारेमा छलफल चलेको हो। हाम्रो बोली अनि व्यवहारको एकरुपता नै खोज्न खोजिएको हो। हामीले पालना गर्ने भनेर आफैले लेखेका विषयहरूमा हामी स्खलित हुँदै गएका छौं। बोलीमा र अरूको आलोचना गर्ने विषयमा बढी सक्रिय देखिएका छौं। तर, आम नागरिकका मुद्दामा सञ्चालन गर्नुपर्ने अभियानहरू पार्टीको प्राथमिकतामा पर्न सकेको छैन।
अनि यी कुरा गर्न रोक्ने बाधक चाही को हो त ?
व्यक्तिमा नजाम्। दुई पार्टी एकीकरण पछि अहिलेलाई केन्द्रीय समितिमा रहेका हामी ३८ जना नै यसमा जिम्मेवार छौँ। नेतृत्वको जवाफदेहिता अनुसार, सबैले आफ्नो आफ्नो भागको जिम्मेवारी लिनुपर्छ। केन्द्रीय सदस्यहरू र सदस्यहरू माझ उज्वल थापाले पठाउनु भएको समीक्षामा पनि उहाँले आफ्नो भागको गुण र दोष स्विकार्ने बताउनु भएको छ। म पनि लिन्छु।
तपाईको पार्टीको प्रवक्ताले त उज्वल थापाको यो समिक्षा प्रतिवेदन विधि विपरीत छ भन्नुभएको छ त ?
उज्वलजीले समिक्षा प्रतिवेदन सार्वजनिक गरेपछि केन्द्रीय कमिटीको बैठक बसेको छैन। त्यसैले सही हो वा गलत भन्ने आधिकारिक निष्कर्ष केही छैन। प्रवक्ताले के भन्नुभयो त्यो उहाँको व्यक्तिगत धारणा हो। सङ्गठनको धारणा होइन। तर, फेरी मूल प्रश्न चाही विधि सही की गलत भन्ने होइन। मूल प्रश्न संयोजकले उठाएको विषय हो। विधिको बारेमा पनि केन्द्रीय कमिटीमा छलफल गरौँला तर अबको पार्टीको मूल एजेन्डा भनेको उज्वलजीले प्रस्तुत गर्नुभएको समीक्षा प्रतिवेदन नै हो।
अन्य दलभन्दा फरक बन्छु भनेर आएको विवेकशील साझा र अन्य पार्टीमा फरक रहेन है अब?
त्यसो भन्ने बेला भैसकेको हो र ? हेर्नुहोस्, विवेकशील साझालाई फगत एउटा सङ्गठन बन्ने छुट छैन। हामी वैकल्पिक सङ्गठन बन्न जरुरी छ। सरकारमा पुग्ने होइन, त्यहाँ पुगेर नतिजा दिन सक्ने सङ्गठन बनाउनु छ। यो कुनै पदको भागबण्डाको लागि हुँदै गरेको छलफल होइन। यो पार्टीको मूल्यमान्यता र दिशाबारे हुँदै गरेको छलफल हो। यदि यस्तै छलफल काँग्रेस, नेकपामा सुरुवाती चरणमा भएको भए आज यी सङ्गठन यस्ता हुने थिएनन् होला। यो बहस सकारात्मक नै छ। अनि, हेर्नुहोस्, अबको यो संसारमा लुकाउनुपर्ने कुरा के छ र ? लुकाए पनि के लुकेको छ र ? यो पार्टी हामी ३५-३६ जनाको होइन। यो पार्टी हामीलाई भोट दिने २ लाख १२ हजार जना कै हो। हामी माथि आशा राख्ने लाखौँ नेपालीहरुको हो। यो छलफल आवश्यक थियो।
विवेकशील साझामा गुटबन्दी शुरु भएछ भन्दा हुने भयो अब?
यसलाई कसरी गुट बन्दी भन्नु। पार्टी एकीकरण हुँदा देखि अहिले सम्म ४ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिईसक्नु भएको छ। जसमध्ये ३ जना तत्कालीन साझा पार्टीको संस्थापक सदस्यहरू हुनुहुन्थ्यो। उहाँहरुले राजीनामा दिएर गईरहँदा उहाँहरूको मुख्य गुनासो पनि संयोजन समितिका केही नेतृत्वहरूको कार्यशैलीप्रति नै थियो। अहिले पनि मलाई पूर्व विवेकशील अनि पूर्व साझा भनेर छुटिएको छ जस्तो लाग्दैन। मुद्दा अनि विचारको आधारमा भने हाम्रो आआफ्नै बुझाइ छ। केही व्यक्ति कसैको व्यक्तिगत कारणले, केही बाध्यताको कारणले बोल्न वा खुल्न नसकेको हुन सक्छ तर यति कुरा भन्छु, यहाँ कोही पनि स्वार्थ बोकेर आएको छैन। यो त वैकल्पिक राजनीतिमा विवेकशील साझा पार्टीलाई कसरी अझ बलियोसँग स्थापित गर्ने भन्ने विषयको बहस हो। त्यसैले म यसलाई गुटबन्दी भन्दिन।
यसरी गुटवन्दी चलिरहने हो भने अलग हुनु नै निकास हो भन्ने पनि चर्चा छ, फुटतर्फ नै अघी बढेको हो त?
हामी नेपाली काँग्रेस भित्र गगन थापाहरूले विद्रोह गर्नु पर्छ भन्छौं। काँग्रेस छोडेर वैकल्पिक शक्तिहरूसँग हातेमालो गर्नु पर्छ भन्दैछौं। नेकपामा घनश्याम भुसालहरूले पार्टीका विकृतिका विषयहरू उठाउँदा नेता भनेको यस्तो हुनु पर्छ पनि भन्छौं। तर, आफ्नै पार्टी भित्रको कुरा उठाउँदा चाही पार्टी फुट्छ भनेर सोच्न मिल्ला र ? अर्को कुरा यो रविन्द्र मिश्र र उज्वल थापाको मात्र पार्टी होइन। यो कसैको प्राइभेट कम्पनी हो र ? फुट्ने कुरा होइन। जुटेर लड्न गाह्रो भइरहेको लडाई, फुटेर जित्न सकिन्न। त्यसैले पार्टीले गलत बाटो लिदैछ, बाटो बिराउनु हुँदैन, सुध्रिनु पर्छ भन्दा पार्टी नै फुट्छ जस्तो मलाई लाग्दैन।
अबको समाधान के हो त ?
पार्टी एकीकरण भए पश्चात् हामीले केन्द्रीय समितिमा पटकपटक बहसहरू गरेका छौं। तर, ती बहसहरु विषयभन्दा व्यक्ति केन्द्रित हुदै गए। अहिले पनि केहि नेताहरु व्यक्ति केन्द्रित भएरै मिडियामा अनि सोसियल मिडियामा बोल्दै हुनुहुन्छ। हामीले गुदी कुरा नै बुझ्न सकेनौं वा चाहेनौं। त्यसैले, केन्द्रीय समितिको छलफलबाट मात्र यसको समाधान निस्किन्छ जस्तो मलाई लाग्न छाडेको छ। हामीले कि महाधिवेशन, कि नीति अधिवेशन वा सम्पूर्ण सदस्यहरू सहितको बृहत् भेला गर्नुपर्छ। त्यसले एउटा स्पष्ट बाटो दिन्छ। र, आवश्यक परे संयोजन समिति, केन्द्रीय समिति नै पुनर्संरचना गर्नुपर्ने हुन सक्छ। विवेकशील साझा पार्टीको वैकल्पिक राजनैतिक अभियान जारी रहने छ।