- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालमा अहिले पनि कैयौं परम्परामा घोडाको महत्व जोडिएर आउने गरेको छ । परापूर्वकालदेखिको चल्दै आएपनि लोपोन्मुख अवस्थामा पुगेको सल स्चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाँच मध्यपुरथिमिमा अघिल्लो वर्षदेखि फेरि सुरु भयो । उपत्यकामा नै मनाईने घोडेजात्राको परम्परालाई अझै पनि नेपाली सेनाले मर्न दिएको छैन । यति मात्रै होईन घोडासँग जोडिएका हाम्रा कैयौं परम्पराहरु नेपाली सेनाले भ्याएसम्म मर्न दिएको छैन । गोरखा दरबार, हनुमान ढोका जस्ता ऐतिहासिक क्षेत्रमा एउटा पवित्रताको प्रतीकको रुपमा राखिने घोडा होस् या त विशिष्ठ व्यक्तिहरु उपस्थित हुने कार्यक्रमहरुमा समेत सेना घोडाका साथ उपस्थित हुने गरेको छ । यो पनि हाम्रो परम्परामा निरन्तरता हो ।
घोडाको परम्परा हाम्रो देशको मात्रै नभएर यो विश्वका शक्तिराष्ट्रहरुमा पनि सयौं वर्ष पहिलेदेखि चल्दै आएको इतिहास भेटिन्छ । करिब २४०० वर्षअघि विश्वप्रसिद्ध दार्शनिक प्लेटोले 'थ्योरी अफ फर्म्स' (आकारको सिद्धान्त)को प्रतिपादन गर्ने क्रममा घोडाको उदाहरण दिएका थिए । साथमा उनले घोडाको महत्व दर्शाउँदै समेटेको विषयले यसको परम्परागत मान्यतालाई पुष्टि गरेको छ । तर, पूर्वीय दर्शनले बुढेशकालमा घोडालाई मार्न बर्जित गरेको छ । त्यसैले सेनाले पनि बुढेशकालमा काम नलाग्ने घोडालाई पनि मार्ने गरेको छैन । तर, विदेशमा भने काम नलाग्ने भएपछि घोडालाई मार्ने गरिएको छ । यसबाट हामी भन्न सक्छौं उनीहरु र हामीमा फरक यत्तिमात्रै हो कि हामी घोडालाई सम्मान गर्छाैं उनीहरु यसलाई केवल प्रयोग गर्छन्।
पूर्वीय संस्कृतिले एउटा पवित्रताको प्रतीक मानेको घोडालाई भारत वर्षीय राज्यहरुले अहिले पनि आफ्नो शानको रुपमा लिँदै आएका छन् । पूर्वीय संस्कृतिले घोडालाई पवित्रताको प्रतीक मानिरहँदा पाश्चात्यहरुले यसको महत्वलाई युद्धकार्यमा प्रयोगको हिसावले महत्व दिए । उनीहरु घोडाको चाललाई युद्धको विजयसँग तुलना गर्छन् । त्यही चलन अहिले पनि चलिरहेको छ । हामी पवित्र जनावरको रुपमा यसलाई सम्मान गर्छौं उनीहरु तीब्र चल्ने जनावरको रुपमा प्रयोग गर्छन् ।
इतिहासलाई हेर्दा सायद घोडा थिएन भने महाभारत युद्धको समेत स्वरुप बदलिन सक्थ्यो । यसले पनि घोडाको महत्वलाई दर्साउने गर्दछ । यही घोडालाई पछिल्ला २ शतकदेखिको इतिहासलाई हेर्ने हो भने घोडा शोख र शानको लागि पाल्ने गरिएको छ । नेपाली घोडाहरु कहिलै पनि युद्धमा प्रयोग भएनन् । देशको ठूला ठूला सभा समारोहमा समेत अहिले घोडा प्रयोग हुँदै आएको छ ।
देशकै एकमात्र सेनाद्वारा सञ्चालित घोडा प्रजनन् केन्द्र
यसरी विशेष सभासमारोहमा सेनाले पहिलेदेखि नै घोडाको प्रयोगबाट आफ्नो कौशल देखाउँदै आएको छ । विदेशबाट घोडा आयातमा धेरै झमेला बेहोर्नुपर्ने भएपछि सेनाले झण्डै ३ दशक अघि आफ्नै प्रजनन् केन्द्र स्थापना गरी घोडाको प्रजनन् गराउँदै आएको थियो । अहिले पनि सेनाले चितवनमा रहेको घोडा प्रजनन् केन्द्रद्वारा विभिन्न प्रकारको घोडाहरु उत्पादन गरी केन्द्रमा नेपाल क्याभरी र अन्यत्र जस्तै, गोरखा दरबार जस्ता ऐतिहासिक स्थानहरुमा पठाउँदै आएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार घोडाको पनि दुई प्रजाती हुन्छ । 'डार्क हर्स' र 'लाईट हर्स' । केन्द्रका प्रमुख मुसहरु प्रसाद शाहले डार्क हर्स बग्गी तान्न प्रयोग हुन्छ भने लाईट हर्स दौडको लागि प्रयोग हुने गरेको जानकारी दिए । नेपाली सेनाले २०४२ साल पौष १४ गतेदेखि इक्वेन व्रिडिङ सेन्टरको रुपमा घोडाको प्रजनन् केन्द्र सञ्चालनमा ल्याउँदै आएको छ । अहिले केन्द्रले नेपाली सेनाको लागि चाहिने घोडाहरु जन्माउने र हुर्काएर नेपाल क्याभलरीलाई बुझाउने गरेको छ ।
लिंग र वंशको आधारमा छुट्टाछुट्टै व्यवस्था
घोडा आफैंमा एक जनावर हो । तर, यो शासकको शानसँग जोडिएको हुनाले पनि यसलाई विशेष जनावरको रुपमा मान्ने गरिएको छ । विदेशी बजार मूल्य अनुसार एक स्टालियन (जन्मिएर ३ वर्ष पुगिसकेको घोडा) को बजार मूल्य २० लाख भारतीय मुद्राको हाराहारी पर्दछ । जुन नेपाल आफैंले उत्पादन गराउँदा त्यो भन्दा निकै सस्तो पर्ने शाहको दाबी छ । अहिले घोडा र खच्चड गरेर ७३ वटालाई केन्द्रले पालन पोषण गर्दै आएको छ । वार्षिक टेण्डर मार्फत् एक ठेकेदार कम्पनीलाई दिईएको ठेक्काका अनुसार केन्द्रमा घोडालाई दिईने सबै किसिमका खानाको लागि वार्षिक ८ लाख रुपैयाँ लाग्ने गरेको छ ।
केन्द्रले अहिले माउ घोडा र स्टालियन घोडाको लागि छुट्टा छुट्टै आवास स्थलको व्यवस्था गरेको छ । साथमा बच्चाहरुको लागि पनि छुट्टै तबेलाको व्यवस्था गरिएको छ । जो गर्भवती घोडी छ उसलाई ब्रुड मियर भनिन्छ । उसको लागि पनि भिन्दै व्यवस्था गरिएको छ । जसरी गर्भवती महिलालाई बढी पौष्टिक आहार दिईन्छ । त्यसरी नै केन्द्रमा पनि गर्भवती घोडीहरुलाई छुट्टै राखेर स्याहार गर्ने गरिएको छ ।
हिन्दू परम्परा अनुसारको प्रजनन् र हेरविचार
हिन्दू परम्परा अनुसार कुनैपनि रगतको नाता वा आफ्नो वंशभित्र पर्ने मानिससँग बिहे गर्नुहुँदैन । त्यही रोक्नको लागि हिन्दू परम्परामा गोत्रको प्रावधान समेत राखिएको छ । गोत्रको अर्थ यो हो कि को कुन् पूर्खाका सन्तती हुन् सजिलै चिन्न सकियोस् । यसैगरी घोडा प्रजनन् केन्द्रमा पनि रगतको नातालाई विशेष ध्यान दिने गरिएको छ । त्यसैले त सकेसम्म प्रजनन्को लागि प्रयोग हुने स्टालियन घोडा सकेसम्म विदेशबाट नै ल्याउने गरिएको छ । नेपालमै पनि सबै घोडाहरुको वंशबारे स्पष्ट अभिलेखहरु राखिएको छ ।
जसले गर्दा एउटै पुस्ताको घोडा र घोडीबीच प्रजनन् नहोस् भन्ने आफूहरुले चाहेको केन्द्रले जनाएको छ । यसरी प्रजनन् गराउँदा एउटै पुस्ताको नगराईए पनि एउटै प्रजातिको घोडाहरुबीच भने प्रजनन् गराईने गरिएको छ । यसमा हाईब्रिड प्रजनन् गराउने गरिएको छैन । नाम राख्ने बेलामा पनि ज्योतीषीय परम्पराद्वारा नाम राख्ने तयारी भईरहेको प्रमुख शाहले जानकारी दिए । अहिले केन्द्रमा ६७ वटा घोडा र ६ वटा खच्चड रहेका छन् । जसमध्ये ४८ वटा पोथी २३ वटा भाले २ अन्य रहेका छन् ।
नेपाललाई आवश्यक घोडामा आत्मनिर्भर बन्ने प्रयासमा सेना
नेपाली सेनाको क्याभलरीले वार्षिक १५ वटा घोडा आवश्यक रहेको बताउँदै आएको छ । क्याभलरीसँगै अरु स्थानहरुमा पनि घोडा पठाउँदा वर्षको कम्तिमा पनि २५ घोडाहरु आवश्यक पर्ने देखिएको शाहले जानकारी दिए । उनका अनुसार यो वर्ष केन्द्रले २० वटा घोडा उत्पादन गर्ने लक्ष्य लिएको छ । अबको ३ वर्षमा माग अनुसारको घोडा उत्पादन गर्ने केन्द्रको तयारी छ । विदेशबाट समयमा नै आवश्यक स्टालियन र माउ घोडाहरु समेत ल्याउन नसक्दा ३ वर्षदेखि माग अनुसारको घोडा उत्पादन गर्न सकिएको थिएन । यो वर्ष आवश्यक स्टालियन र पोथी घोडाहरु पनि भारतबाट ल्याईएकोले अब माग अनुसारको घोडा जन्माउन सकिने शाहले जानकारी दिए । कुनै पनि घोडा जन्मिएको ३ वर्ष पछि मात्रै केन्द्रले अन्य निकायलाई हस्तान्तरण गर्ने गरेको छ ।
घोडालाई पासपोर्ट
केन्द्रमा रहेका सबै घोडाहरुको व्यक्तिगत विवरण तयार पारेर राख्ने गरिएको छ । विदेशबाट आएका घोडाहरुको समग्रमा भन्दा पासपोर्ट नै तयार पारेर राख्ने गरिएको शाहले जानकारी दिए । तर, त्यो पासपोर्टहरु मानिसलाई जस्तो राहदानी विभागले प्रदान गर्ने जस्तो भने होईनन् । उनीहरुको जाती, देश, लिंग, वर्ण जस्ता विषयहरु उल्लेख गरि सोको अभिलेख समेत राख्ने गरिएको छ ।