लेखा समितिको वैठक अघी नै पर्यटनमन्त्री अधिकारीले राजीनामा देलान?
अधिकारीको सचिवालय भन्छ मन्त्रीको राजीनामा आउँदैन
प्रकाशित २०७५ पुष २२ आइतबार
247
Shares
काठमाडौ। वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले सोमबार लेखा समितिको वैठक अघी नै राजीनामाको घोषणा गर्लान? यो प्रश्न सबैतिर खडा भएको छ। उपसमितिको प्रतिवेदनका आधारमा मन्त्री अधिकारीको गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने तयारी गरेसँगै मन्त्री अधिकारीले राजीनामा दिनुपर्ने चौतर्फी दवाव पनि छ।
तर मन्त्री अधिकारीको सचिवालय भन्छ मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गर्नुहुन्छ तर राजीनामा दिनुहुन्न। सचिवालयले भनेको छ, 'मन्त्री अधिकारीले राजीनामा दिनका लागि पत्रकार सम्मेलन गर्न लाग्नुभएको हैन। '
समितिले पर्यटन सचिव कृष्ण देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार निलम्बनको निर्देशन दिने तयारी समेत गरेको छ।
वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागेको हो।
‘सोमबारको लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ,’ लेखासमितिका एक सदस्यले भने, ‘वाइड बडी विमान प्रकरणमा देवकोटा र कंसाकारको प्रत्यक्ष संलग्नता देखिएकाले निलम्बनको सिफारिस गर्न लागिएको हो।’
ती सदस्यका अनुसार, पर्यटन मन्त्री रवीन्द्र अधिकारीबारे पनि लेखा समितिले धारणा बनाएको छ। ‘विमान खरीद प्रकरणमा पर्यटनमन्त्री अधिकारीको पनि गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने छ।’
वाइड बडी विमान भ्रष्टाचार प्रकरणलाई मिहीनसँग छानबिन गर्न लेखासमितिले मुद्दा अख्तियारमा पठाउने तयारी पनि भएको छ।