arrow

वंश परम्पराको सेरोफेरोमा बगंलादेशको राजनीति, दल उही नेतृत्व उही सरकार नयाँ

logo
बसन्त शर्मा,
प्रकाशित २०७५ पुष २३ सोमबार
sheikh-hasina1.jpg

२१ फेब्रुअरी १९५२ मा भएको विद्यार्थी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा त्यहाँको प्रहरीले गोली प्रहार गरेको दिन थियो। त्यसपछिको लगातारको प्रदर्शनको उत्कर्ष १९७१ मा बंगलादेश बन्यो। दक्षिण एशियाको राजनीतिमा एउटा अर्को अध्याय थियो बंगलादेश निर्माण हुनु। बंगलादेशमा हालै सम्पन्न निर्वाचनबाट शेख हसिना वाजेदको पार्टीले फेरि सरकार बनाएको छ। यसरी लोकतन्त्रको नाममा निर्वाचन र निर्वाचनका परिणामले नै लोकतन्त्रलाई चुनौति दक्षिण एशियाको मात्रै नभएर विश्वकै लोकतन्त्रमा एउटा समस्याको रुपमा देखापरेको छ।

तर, आज प्रसंग केवल बंगलादेशको हो, त्यसअघि वंश परम्परालाई नियाल्दा सन् २०१३ जनवरी १९ को दिन भारतको ऐतिहासिक शहर जयपुरमा भारतीय काँगे्रसका महासचिव राहुल गान्धीलाई पार्टीका भावी अध्यक्ष, प्रधानमन्त्री र सन् २०१४ लोकसभाको कमाण्डिङ्ग गर्नकालागि उपाध्यक्ष घोषणा गरिएको थियो। भारतमा युवा पुस्ताको नेतृत्व अपेक्षा गरेको स्वीकारोक्ति पनि हो। तर, पछिल्लो लोकसभा चुनावले त्यहाँको काँग्रेस आईलाई भारतमा चुनौति थप्यो। अब फेरि उनै राहुल गान्धी पार्टीको अध्यक्ष भए अनि शुरु गरे अर्को चुनावी अभियान जहाँ केही राज्यमा उनलाई सफलता पनि मिलेको छ। तर मुख्य चुनौति लोकसभा चुनाव २०१९ को हो।

विश्व राजनीतिमा पारिवारवाद हावी भएका थुपै्र उदाहरणहरु छन्। ती मध्य दक्षिण एशियाका केही उदाहरणहरु भने विश्वभरी चर्चित छन्। जस्तो की राज्यसत्तामा आमा, बाबु वा पतिपत्निले स्थान परिपूर्ति गर्नेगरी उत्तराधिकारीको हैसियतले राजनीति गर्नेहरुका कारण दक्षिण एशिया नाताबादमा चर्चित भएको हो। अर्थात, राजनीति उनीहरुले चाहेर वा नचाहेर पनि परिवारवादकै सेरोफेरोमा घुम्ने गरेको छ।

अर्थात पूर्खाको विडो थाम्ने परिपाटी दक्षिण एशियाका कैयौं देशहरुमा लामो कालखण्डदेखि यसैगरि चलेको पाईन्छ। इतिहासमा हेर्दा यो कहिलेकाहीँ आवश्यकता बनेर पनि आएको देखिन्छ। भारत ,पाकिस्तान, श्रीलंका, बगंलादेश र नेपालमा पनि वंश परम्परामा आधारित राजनीति प्रसस्तै हावी भएको हामी देख्न सक्दछौं।

इतिहांसलाई केलाउने हो भने एशिया त्यसमा पनि दक्षिण एशियाली राष्ट्रमा वशं वा रगतको नाताले उत्तराधिकारी छान्ने परम्पराका घटना प्रशस्तै पाइन्छन्। सन् १९५० को दशकमा अर्थात् १९५९ मा श्रीलंकाका तत्कालीन प्रधानमन्त्री आरडि बन्दरानाइकेको सेप्टेम्बरमा त्यहि वर्ष हत्या भएपछि उनकी धर्मपत्नी सिरिमाओ बन्दरानायके श्रीलंका फ्रिडम पार्टीको नेतृत्व गर्दै १९६०मा प्रधानमन्त्री बनेर सत्ता सम्हाल्न आईन्। उनकै नेतृत्वमा बनेको सरकारले निर्वाचन गराएर जबरजस्त सत्ताको बागडोर हातमा समेत पार्‍यो त्यसरी उनी चाहेर वा नचहोर जसरी पनि पतिको हत्या पछि राजनीतमा आउन बाध्य भईन्।

वशं वा रगतको नाताले राजनीतिमा उत्रने र राज्यसत्ता सम्हालेको एउटा अर्को देशको पनि ऐतिहासिक घटना छ। त्यो हो बंगलादेश। निकै संवेदनशील परिस्थितिमा सन् १९७५मा पिता सहित ३ भाइको हत्या भएपछि शेख हसिना वाजेद राजनीतिमा उत्रने अवस्था आएको कहाली लाग्दो घट्ना चिरस्मरणीय छ। फौजी शासन रहेको बंगलादेशमा लामो समय जर्मनी बसाईँबाट फर्केर सन् १९८१ मा वाजेदले सक्रिय राजनीति प्रारम्भ गर्दै १९९६मा प्रधानमन्त्री बनेर राज्यसत्ताको वागडोर सम्हालेकी थिइन।

बंगलादेशकै अर्की महिला जस्ले आफ्ना पतिको हत्या पछि राजनीतिमा पाइला टेकिन् उनी हुन् वेगम खालिदाजिया वेग। जो राष्ट्रपतिकी पत्नि थिइन। उनी पनि राजनीतमा आएपछि प्रधानमन्त्री समेत बन्न सफल भइन्। खालिदाजिया वेग र वाजेदको प्रतिष्पर्धा पछि परिणाम सन् २००८मा वाजेद फेरि प्रधानमन्त्री बनिन्।

वंश परम्परा वा रगतको नाता सम्बन्धको आधारमा गरिने राजनीतिक परम्पराको एउटा थप उदाहरणको रुपमा दक्षिण एशियाकै अर्को देश पाकिस्तानको भुट्टो परिवारलाई पनि लिन सकिन्छ। वेनजिर भुट्टो जसले आफ्ना पिता जुल्फिकार अलि भुट्टोको हत्यापछि राजनीतिमा कदम अघि बढाइन्। त्यसयता सन् १९८९मा उनी पहिलोपल्ट पाकिस्तानकी प्रधानमन्त्री बनिन्। उनका पितालाई सन् १९७१ मा अपध्वस्त गरेर सैनिक शासकले १९७९मा फाँसी दिएका थिए। उनै बाबु भुट्टोकी छोरी बेनजिरको पनि हत्या पछि उनका छोरा विलाबल भुट्टो र उनका पतिले पार्टी र सत्ताको कमाण्ड सम्हाल्दै बंश परम्पराको बिँडो धान्दै छन्। 

दक्षिण एशियामा एउटा अर्को वशं परम्परा धानेको उदाहरण म्यानमारमा पनि छ। त्यो चर्चितनाम हो आङ्ग साङ्ग सुकी अर्थात ४० वर्षे (बन्दि र नजरवन्दको) कष्टकर जिन्दगी बाँचेर राजनीतिमा सक्रिय  म्यानमारकी नेतृ सुकीका बाबुलाई सन् १९४७मा हत्या गरेपछि उनी राजनीतिमा होमिइन्। उनका पिता जो म्यानमारको सेनाका संस्थापक आङ्ग साङ्ग संसारमै परिचित नाम हो। १९८८ बाट सक्रिय राजनीतिमा उत्रेकी उनी हाल ४० वर्ष पछि म्यानमारको सांसद पनि बनिन। 

यसरी दक्षिण एशियामा वशं वा रगतको नाता संबन्धका आधारमा राजनीतिमा विडो थामेको परम्परा नेपालमा पनि देखिन्छ। कोइराला परिवार जो नेपालको राजनीतिमा धेरै चर्चित वंश हो। मातृकाप्रसाद कोइराला, वी.पी. कोइराला, गिरिजाप्रसाद कोइराला पछिल्ला सुशील कोइराला र दोस्रो पुस्ता तर्फ सुजाता, शेखर र शशांक जस्ले वंश वा रगतको नाता सम्बन्धका आधारमा राजनीति गरिरहेकै छन्।

फेरि प्रसंग उनै राहुल गान्धीसँग जोडौं राजनीतिक यात्रालाई करिव १३ वर्ष पहिले सक्रिय रुपमा थालेका अविवाहित उनी अध्यक्ष बनेसँगै सन् २०१९ लोकसभा चुनावपछि भावी प्रधानमन्त्रीको रोडम्याम लिएर भारतीय युवा बर्गबाट ठुलो अपेक्षा राखेर अगाडि बढ्दै जाने देखिन्छ।

जवाहरलाल नेहरु, इ्रन्दिरा गान्धी, राजीव गान्धी, सोनीया गान्धी हुँदै भारतीय काँग्रेसको नेतृत्व फेरि गान्धी परिवारकै राहुलमा औपचारिक रुपमा स्थानान्तरण होला की नहोला अब लोकसभा चुनाव–२०१९ मा हेर्न बाँकी नै छ। यदी विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषा खोतल्ने हो भने रक्त सम्बन्ध वा वंशानुगत सम्बन्धबाट उत्तराधिकारी बन्ने र बनाउने राजनीतिले लोकतन्त्रको आधारभूत सिद्धान्त नअपनाइएको निश्कर्ष निस्कन जान्छ। तर, विश्वको सबैभन्दा विशाल लोकतन्त्र भएको देश भारत लामो समयको नेहरु–गान्धी परिवारको नेतृत्वमा यहाँसम्म आइपुगेको छ।

आधुनिक भारतको निर्माता ‘मिस्टर क्विन’ अर्थात राजीव गान्धी र इटलीमा जन्मेकी सोनिया गान्धीका छोरा अझै थप्ने हो भने इन्दिरा गान्धीका नाती राहुल गान्धीले उपाध्यक्ष बने लगत्तै पार्टी कार्यकर्ता र जनतालाई जोड्नेगरी अंग्रेजीमा लिपिवद्ध भाषण दिएको प्रसंगले भारतमा निकै चर्चा कमाएको थियो। 
प्रभावलाई केलाउन जरुरी छ। वंश र रगतको नाताले पार्टीको जिम्मेवारी पाएको आरोप उनीमाथि रहला नै तर करिव १३ वर्षे सक्रिय राजनीतिमा कन्याकुमारीदेखि जम्मु कस्मिरसम्म, उत्तरप्रदेशदेखि महाराष्ट्रसम्म हिमाञ्चलदेखि विहार वा गुजरातसम्म पनि राहुलले लामो यात्रा गरेर प्रदेश र जातिका समस्या तलबाटै अध्ययन गरेर वंश परम्परालाई राजनीतिक धरातल तयार पार्ने कोशिस गरे। 

यसरी वंश वा रक्त सम्बन्धका आधारमा उत्तराधिकारी बन्ने परम्परा दक्षिण एशियाको राजनीतिमा एउटा लामो इतिहास नै बनेको अवस्था छ। दक्षिण एशियाको राजनीतिमा वंश वा रक्त सम्बन्धको उत्तराधिकारीको मियो आमादेखि नातिसम्म र पीतादेखि ज्वाईँसम्मको मिश्रण देखिन्छ।

चाहे त्यो भाइ–भाइसम्मको नेपालको कोइराला वशंज होस वा भारतको हजुरआमादेखि नातिसम्मको किन नहोस् या फेरि म्यानमारमा जस्तो पिता र छोरीको प्रसंग होस्। उता पाकिस्तानको पिता र छोरीहुँदै नाति र ज्वाईँसम्मको यात्रा छ। श्रीलंकामा पतिपत्नीको राजनीतिक उत्तराधिकारीको विषय होस या त काहिँ न काहिँ रक्त सम्बन्ध र वंशको सेरोफेरो दक्षिण एशियाको राजनीतिको मियो बनेको यथार्थता हो। पश्चिमा राष्ट्र वा बाँकी विश्वभन्दा दक्षिण एशिया वास्तवमै विशिष्ट सांस्कृतिक र धार्मिक परम्पराको विविधताले सम्पन्न क्षेत्र हो। र यहाँको राजनीति पनि वेग्लै छ।

वंश परम्पराको यो लामो इतिहासबाट भावी पिँढीले सिक्नै पर्ने पाठ र परिस्कृत गर्दै लैजानै पर्ने विषयको बोध आम नेपाली माथिमात्रै नभएर दक्षिण एशियामा हुन जरुरी देखिन्छ। यसरी वंश परम्पराको कडीका रुपमा रहेको भारतमा पछिल्लो गान्धीको नेतृत्व कत्तिको सहज वा असहज भएर जाला भारतका जनताको हातमा निर्णय रहेको भने पक्कै स्पष्ट विषय हो।

फेरि फर्किउँ बंगलादेश जहाँ उही नेतृत्वमा नयाँ सरकार बनेको छ, आशा गरौं आन्तरिक कलहलाई सम्बोधन गर्न वाजेद सरकार सफल रहोस् जसले लोकतन्त्रका मूल्य र मान्यतालाई पूर्ण रुपमा आत्मसाथ गरोस्।



नयाँ