उद्योग वाणिज्य संघका अध्यक्षको निधनको शोकमा बयलवास बजार बन्द
प्रकाशित २०७५ पुष २७ शुक्रबार
674
Shares
सर्लाही। उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष कुशहरि मैनालीको निधनमा शुक्रबार सर्लाहीको बयलवास बजार बन्द गरिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै बजारका सम्पूर्ण पसल आज एक दिनका लागि बन्द गरिएको उद्योग वाणिज्य संघ ईश्वरपुरका पूर्व अध्यक्ष अमिरीलाल साहले जानकारी दिए ।
बयलवास बजारमा रहेको बोरा उद्योग बन्द गरेर घुर्कौलीस्थित घर फर्किने क्रममा गएसाँझ लालबन्दीमा मोटरसाइकल दुर्घटनाहुँदा मैनालीको मृत्यु भएको थियो । लालबन्दी नगरपालिका–६, स्थित खेल मैदान अगाडि ना २४ प ९७६९ नं. को मोटरसाइकल ठेलासँग ठोक्किएर दुर्घटना हुँदा ५२ वर्षीय मैनालीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपश्चात आज दिउँसो बागमती खोलामा ल्याइ अन्त्येष्टि गरिएको छ । मैनाली नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी एवं विपी चिन्तन प्रतिष्ठान क्षेत्र नं. १ का सभापति समेत थिए ।
उनको पार्थिव शरीरमा पार्टीका केन्द्रीय सदस्य कल्याण गुरुङ, पार्टी जिल्ला उपसभापति सुरेन्द्रकुमार सिंह लगायतका नेताहरुले चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यले बताए । बयलवासका व्यापारीले पनि बागमती पुगेर मैनालीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।