काठमाडौं। महाशिवरात्री पर्व नजिकिएसंगै आराध्यदेव पशुपतिनाथमा चहलपहल सुरु भएको छ। हिन्दुहरुको महान् पर्व महाशिवरात्रीमा देश विदेशबाट साधु सन्तहरु काठमाडौं भित्रिएका छन्। पशुपतिनाथमा अहिले साधुहरुको भीड बढीसकेको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका दिन भक्तजनलाई दर्शन गराउन विभिन्न व्यवस्थाहरु गरिरहेको छ। हरेक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्व यसपटक भने त्रयोदशीका दिन परेको छ। सोमबार महाशिवरात्री परेको छ। यस पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा–आराधना गरी उपासना गर्ने प्रचलन छ।
विशेष गरेर आराध्यदेव पशुपतिनाथमा महाशिवरात्रीको अवसरमा दर्शन गर्न आउनेहरुको भीड हुने गर्दछ। छिमेकी भारत लगायत विभिन्न स्थानबाट भक्तजनको घुइचो लाग्दछ। महाशिवरात्रीका दिन विहानै देखि राति अवेरसम्म दर्शनार्थी र व्रतालुहरुको लाम लाग्ने गर्दछ। पशुपति क्षेत्रमा विशेष पूजा अर्चना र भजन किर्तनसहित मेला समेत लाग्दछ।
विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गरे मनोकांक्षा पूजा हुने जनविश्वास छ। वुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकालाई पशुपतिको आराधना र उपासनाबाट मुक्ति मिल्ने किंवदन्ती छ।
यस वर्ष कांग्रेस महाधिवेशनले शिवरात्रीको चर्चा नेपाली संचार माध्ययममा त्यति हुन नपाएपनि भक्तजन भरिने क्रम विगत जस्तै छ। शिवरात्री महिमा महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।
व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन विशेषतः भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी ऊँ नमः शिवाय“ मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ। निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छ। शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने कथन छ।
शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भाव अनुरुप शिव महिनमा गाउने परम्परा छ। शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ। पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ। अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ। यस्तै, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ। कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन्।
फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ । भन्छि, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। जस कारण यस पर्वलाई महाशिवरात्री अथवा कालरात्री भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगतारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन्। तीनै भगवान् शिव श्रीसंपत्ति दाता मानिन्छन्। शिवको महिमा अपार छ।