काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलको इतिहास लामो छ। यो शताब्दीको शुरुको दशकदेखि नै लिग भइरहे पनि निरन्तरता पाउन नसक्दा २०७५ सालसम्म आइपुग्दा ४१ वटा संस्करणमात्र सकिए।
यसपटकको लिगमा पुरस्कार राशीमा आएको विविधता बाहेक खासै परिवर्तन आएन। एक क्रमभङ्गता भने भयो। नेपालमा भएको लिगको इतिहासमा कुनै पनि टिम रेलिगेशनमा नपरेको यो पहिलो पटक हो।
अहिले नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईका अनुसार चार वर्षसम्म हुन नसकेको लिगलाई फेरि ‘ट्रयाक’ मा लैजान क्लबहरुको सहमति लिनु पर्दथ्यो।
सहमतिमा लिगमा कुनै पनि टिमलाई रेलिगेशन नगर्ने भन्ने सहमति भयो। त्यही सहमतिले काम गर्यो र सबै टिम लिग खेल्न राजी भए।
त्यसो त नेपालमात्र लिगमा रेलिगेशन नगर्ने पहिले देश पक्कै हैन। छिमेकी भारतमा पनि यस्तो भएको थियो भने अमेरिकाले समेत यो चरण पार गरेको थियो।
तर यसलाई निरन्तरता दिने छुट पक्कै पनि एन्फालाई छैन। परिस्थिति अनुसार लिग हुनु नै ठूलो कुरा हो। २०७२ सालको महाभूकम्पले अभ्यास स्थल नहुनु र दशरथ रंगशालामा खेल गराउन नसक्नुले अहिले पनि लिग हुनेमा शंका थियो। तर नयाँ कार्यसमितिका लागि यो नै चुनौतीका रुपमा रह्यो र त्यसलाई पार गर्यो पनि।
हो, ‘लिग नहुनुको खडेरी पुरियो। तर मन भने भरिएन।’ लिगका खेल्न हेर्न जाने केही फुटबलका ‘डाइहार्ट फ्यान’ हरुको प्रतिक्रिया हो यो। फुटबल हुनुमात्र ठूलो कुरा होइन त्यसले पार्न सक्ने प्रभाव महत्वपूर्ण हुन्छ।
पक्कै पनि लिगको खडेरी यसपटक पुरियो। अब निरन्तर रुपले स्तरीय फुटबल गराउन सक्ने हो भनेमात्र खेलाडी ब्यवसायिक हुनेछन्। तब त नेपाली राष्ट्रिय टिम मजबुद हुनेछ।
अनुशासन खड्कियो
फुटबलको सर्वोच्च निकाय फिफाको स्लोगन नै ‘फेयर प्ले’ छ। तर यसपटकको लिग फिफाको स्लोगन विपरीत जस्तो देखियो।
१० खेलाडीले रातो कार्ड खाए । दुई सय २ सय ६४ वटा पहेंलो कार्ड देखाइयो। जावलाखेल युथ क्लबका कुलदीप कार्की, मनाङ मस्र्याङ्दी क्बलका मुहम्मद असिफ, च्यासल युथ क्लबका गौरव बुढाथोकी, सरस्वती युथ क्लबका फ्रान्सिस ओकेचुक्वु, सरस्वतीकै सुसन लामा, संकटाका एलन म्याक्सवेल, च्यासल का सन्तोष शाहुखल, हिमालयन शेपाका आशिष गुरुङ, सशस्त्र प्रहरीका विश्वास उदास र हिमालयन शेर्पा क्लबका विश्वास श्रेष्ठले रातो कार्ड खाए।
त्यसैगरी १४६ खेलाडीले पहेंलो कार्ड खाए। दुई खेलाडीले त पाँच वटा पहेंलो कार्ड खाए। मनाङ मस्र्याङ्दीका अफिज ओलावाले र जावलाखेलका अडामा डोम्बियाले ५–५ पहेंलो कार्ड खाए।
पाँच खेलाडीले ४–४ वटा पहेंलो कार्ड खाए। १२ खेलाडीले ३–३ वटा पहेंलो कार्ड खाए। ४१ खेलाडीले दुई वटा पहेंलो कार्ड खाए भने ८० खेलाडीले पहेंलो कार्ड खाए।
यी कार्डहरुको लेखाजोखा अनि पटक पटक मैदानमै हुने झैझगडा र आपसमा प्रशिक्षक अनि पदाधिकारीले आपसमा हान्ने छेंडछाडले फेयर प्लेलाई चुनौती बढाएको छ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पटकपटक मिलेमतोको विषय उठाइरहे । अनावश्यक शंका गरिरहे । उनले पत्रकार सम्मेलनमा यसरी बोल्दा अनुशासन तोडेको आभाष भइरहन्थ्यो । अनुशासन समितिले उनलाई केही सोध्ने हिम्मत भने गरेन ।
नेपाली खेलाडीको प्रदर्शन
नेपाली खेलाडीको प्रदर्शन अर्को चुनौतीको रुपमा आएको छ। गोल गर्नेदेखि डिफेन्स लाइन सम्हाल्नेसम्मको क्रम अफ्रिकी मुलुकबाट आएका खेलाडीहरुले नै बढी ओगटे।
त्यसले पनि नेपाली फुटबलको स्तर कहाँ छ भन्ने देखाएको छ। विदेशी खेलाडीहरुले गरेको निर्णायक भूमिका नेपाली फुटबलको विकासमा कहीं पनि लाभदायी हुन नसक्ने निश्चित छ।
निरन्तर फुटबल प्रशिक्षण गरिरहने तीन विभागीय टोलीका खेलाडीहरुको फिटनेश समस्यादेखि लिएर टिमले लिग तालिकाको अघिल्लो चरणमा आउन गरेको संघर्षले हैसियत अझ बढी छताछुल्ल भएको छ।
पुरस्कारमा आधुनिकता
पुरस्कार रकममा भने आधुनिकता अपनाइएको छ। १४ टोली सहभागी भएकामा शीर्ष ६ मा पर्ने टोलीले नगद पुरस्कार जिते। कीर्तिमानी आठौं पटक उपाधि जितेको मनाङ मस्र्याङ्दीले ५० लाख, दोस्रो स्थानको संकटा क्लबले ३५ लाख, तेस्रो स्थानको थ्रीस्टार क्लबले २५ लाख, चौथो स्थानको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौं स्थानको सशस्त्र प्रहरीको एपिएफले सात लाख र छैटौं स्थानको नेपाल पुलिस क्लबले पाँच लाख जित्यो।
हरेक खेलका विजेताले ५० हजार रुपैयाँ जित्ने हुँदा पनि पुरस्कारमा रौनकता आयो। सबै टिमले केही न केही रकम पाए। सबैभन्दा बढी १२ खेल जितेर मनाङले छ लाख रुपैयाँ आफ्नो खातामा राख्न भ्यायो।
विधागत उत्कृष्टतर्फ पाँच खेलाडीले मोटरसाइकलसँगै ५० हजार रुपैयाँ र उदयीमान खेलाडीले एक लाख रुपैयाँ प्राप्त गरे। मनाङबाट उत्कृष्ट गोलकिपरमा विशाल श्रेष्ठ, मिडफिल्डरमा हेमन गुरुङ र प्रशिक्षकमा सुमन श्रेष्ठ उत्कृष्ट घोषित भए।
थ्रीस्टार क्लबका डिफेन्डर रञ्जित धिमाल र त्रिभुवन आर्मीका फरवार्ड एवं भरत खवास आफ्नो विधाका उत्कृष्ट बने।
उदीयमान खेलाडी त्रिभुवन आर्मीका विकास खवास घोषित भए। उनले मणि शाह उदीयमान अवार्ड जिते। फेयर प्ले टिम ब्रिगेड ब्वाइज क्लब बीबीसी भयो। उसले एक लाख रुपैयाँ जित्यो।