वाइडबडी प्रकरणमा दोषी पूर्वप्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीमाथि कारवाहीको माग
प्रकाशित २०७५ पुष ३० सोमबार
443
Shares
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेका गरेका छन् ।
नेताहरुले विमान खरीद प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्री, मन्त्री वा सरकारी कर्मचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने माग गरे। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पुस २३ गते नेपाल वायु सेवा निगमको सो विमान खरीदमा संलग्नमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो ।
साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता खगराज अधिकारीले वर्तमान सरकार भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा लागेका सन्दर्भमा विमान खरीदमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए ।
नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले विमान खरीद प्रकरणमा पूर्वप्रधानमन्त्री नै दोषी भए पनि कारवाही हुनुपर्ने माग गरे। सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले समितिका सभापतिले नै विमान खरीद प्रकरणमा दोषी मन्त्री र पूर्वमन्त्रीलाई कारवाही गर्ने विषय नै प्रतिवेदनबाट हटाएको भन्दै आपत्ति जनाए ।