रोनाल्डोको एकमात्र गोलमा युभेन्टसले जित्यो सुपर कप
प्रकाशित २०७५ माघ ३ बिहिबार
128
Shares
काठमाडौं । पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्न छाडेर इटालियन क्लब युभेन्टसमा जम्न चाहेको उदाहरण मज्जैसंगले दिएका छन् ।
युभेन्टस इटालियन सिरिएको शीर्ष स्थानमा छ भने सुपर कप पनि जितेको छ । त्यसमा रोनाल्डोको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
रोनाल्डोकै निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै बुधबार राति इटालियन सुपर कपको उपाधि जितेको हो ।
साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ औं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।
यसै सिजनको सुरुवातमा स्पेनिश क्लब रियाल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले आफ्नो उच्च फर्मलाई बुधबार पनि कायमै राखे । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधि दिलाएका थिए ।
खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो ।
यससँगै युभेन्टसले सर्वाधिक ८ पटक जितेको कीर्तिमान कायम गरेको छ । एसी मिलानले अहिलेसम्म सात पटक उपाधि जितेको थियो ।