राजश्व संकलनमा महालेखा र राष्ट्र बैंकको फरक तथ्याङ्क, कहाँबाट आयो सय अर्ब ?
तथ्यांकमा धेरै फरक आएपछि महालेखाले हटायो दैनिक राजश्व विवरण
प्रकाशित २०७५ माघ ३ बिहिबार
510
Shares
काठमाडौं । दुई साता अघि संसदलाई सम्बोधन गर्दा गलत तथ्यांकको प्रयोग गरेको भन्दै आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्यांक दिने महालेखा नियन्त्रकको कार्यालयसँग रहेको तथ्यांक नै राष्ट्र बैंकको तथ्यांकको तुलनामा निकै फरक रहेको देखिएको छ । गत पुष २७ गतेसम्म केन्द्र सरकारको खातामा आएको कूल राजश्वको अंकलाई हेर्दा राष्ट्र बैंकको तथ्यांकमा देखिएको भन्दा सय अर्ब बढी राजश्व उठेको तथ्यांक महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।
यसरी दुबै सरकारी निकायबीचको तथ्यांकमा नै आकाश जमिनको फरक देखिएपछि कुन् निकायको तथ्यांकलाई आधार मान्ने भन्नेमा समेत दोधार हुन थालेको छ । राष्ट्र बैंक आधिकारिक राष्ट्र बैंक हो भन्छ भने महालेखाको पनि सोही अनुरुपको दाबी रहने गरेको छ । अर्थमन्त्रालयको राजश्व तथा खर्चको विवरण राख्ने महालेखा नियन्त्रक र सरकारको आर्थिक सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकबीचको तथ्यांकमा भए एकै दिन पनि सय अर्बको तथ्यांक फरक देखिएपछि राष्ट्र बैंकका अधिकारीहरुले समेत आश्चर्य व्यक्त गरेका छन् ।
महालेखा नियन्त्रकले दैनिक बजेटरी स्थिती आफ्नो आधिकारिक वेभसाईटमा सार्वजनिक गर्ने गरेको छ । पौष अन्तिममा महालेखाले २६ गतेपछि एकैपटक ३० गतेमात्रै आफ्नो दैनिक बजेटरी स्थिती सार्वजनिक ग¥यो । माघ महिनामा निकालेको दैनिक बजेटरी सूचीमा महालेखाले राजश्व संकलनको स्थिती देखाउन छाडेको छ । पौष २६ गतेको महालेखाको तथ्यांक र पौष २७ गते नेपाल राष्ट्र बैंकले तयार पारेको बजेटको पौष २७ गतेसम्मको स्थितीलाई विश्लेषण गर्दा महालेखाको तथ्यांकमा राजश्व संकलन सय अर्ब बढी देखिएको हो । पौष २५ गते र पौष २६ गतेको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक १२ अर्ब हाराहारीमा राजश्व उठ्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकको गत पुष २७ गते तयार पारेको तथ्यांक अनुसार सो दिनसम्म कूल ३ सय ७५ अर्ब ९९ करोड ६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सोही मितिको अघिल्लो दिन पुष २६ गतेको सरकारी तथ्यांक अनुसार सो दिनसम्म सरकारले ४ सय ७४ अर्ब ८५ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन गरेको विवरण देखाएको छ ।
बैंकहरुमा उठेको राजश्व सम्बन्धी विवरण पहिले राष्ट्र बैंकमार्फत् महालेखा नियन्त्रकको कार्यालयमा जाने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । महालेखाले सबै जिल्लाका सरोकारवालाहरुसँग तथ्यांक माग गरेर पनि यस्तो विवरण निकाल्ने गरेको छ । तर, एउटै मितिमा दुई निकायबीच यति ठूलो मात्रामा राजश्वको तथ्यांक फरक पर्नुले भने सरकारले राजश्व धेरै देखाउनको लागि गरेको प्रपञ्च हो भन्ने आरोप समेत लाग्ने गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले राजश्व संकलनको स्थिती र खर्चको स्थिती आफूहरुले दैनिक रुपमा कोलेनिका जस्ता सम्बन्धित निकायहरुको तथ्यांकबाट निकाल्ने बताउँदै तर, पनि त्यति धेरै फरक हुनु नपर्ने जानकारी दिए । उनले बैंकहरुले जम्मा गरेको राजश्वको विवरण राष्ट्र बैंक मार्फत् महालेखामा आउने जानकारी पनि उनले दिए । दैनिक बजेटरी स्थितीमा राजश्वको तथ्यांक आन्तरिक प्राविधिक समस्याका कारण हटाईएको देवकोटाले जानकारी दिए ।