काठमाडौं । व्यवसायी अरुण चौधरीले पनि नेपाल लिक्सको रिपोर्टको खण्डन गरेका छन् । केहीदिन अघि दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहयोगमा खोज पत्रकारिता केन्द्रले जारी गरेको रिपोर्टमा नाम उल्लेख भएकोमा त्यो सबै कपोलकल्पित र भ्रामक रहेको दाबी चौधरीले गरेका हुन् ।
उनले व्रिटिस आईल्याण्डमा आफ्नो कम्पनी नरहेको दाबी गरेका छन् । रिपोर्टमा उल्लेख भए बमोजिम कम्पनी आफूले १५ वर्ष पहिला नै खोलेर पनि बेचिसकेको दाबी गरेका छन् । उनले ब्रिटिस आईल्याण्डमा आफ्नो परिवारका सदस्यहरु कोही जान समेत नगएको भन्दै कारोबारको कुरा त टाढाको विषय रहेको समेत बताए ।
सिइआजीको खुलासामा जोडेर जुनजुन कम्पनीको कुरा गरिएको छ, त्यसमा आफ्नो संलग्नता र कुनै पनि किसिमको सरोकार समेत नरहेको उनले स्पष्ट पारेका छन्। 'हाम्रो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन' उनले शनिबार जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, 'हाम्रो सिजी होल्डिंग्स समूहले प्रवर्द्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन।'