arrow

ठूला आयोजना बहुआयमिक महत्वका : मन्त्री पुन

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
barsaman-pun-news-bt.jpeg

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी र दूधकोशीजस्ता ठूला जलाशययुक्त आयोजना निर्माण सम्पन्न भएपछि बाढी नियन्त्रण, सिँचाइ र खानेपानीका लागि सहयोग पुग्ने बताएका छन् ।

बुधबारदेखि पोखरामा हुने नेपाल र भारतका ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिवस्तरीय बैठकमा सहभागी हुन यहाँ आइपुग्नु भएका भारतीय ऊर्जा मन्त्रालयका अधिकारीलाई मन्त्री पुनले सो कुरा बताएका हुन्  ।

मन्त्री पुनले भने, “हामीले नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउँदैछौँ, यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

सो अवसरमा मन्त्री पुनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। उनले नेपाल भारतसँग ऊर्जा क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको बताए । उनले तल्लोतटीय लाभका बारेमा भारतसँग छलफल गर्ने नेपालको चाहना रहेको बताएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले भारत सरकारले हालै संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिकाले नेपालको विद्युत् व्यापारका लागि फाइदा पुर्‍याएको उल्लेख गरे। मन्त्री पुनसँगको भेटमा भारतका ऊर्जा सचिव अजय भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतिबारे जानकारी गराउनुका साथै सचिवस्तरीय बैठकका कार्यसूचीका बारेमा समेत अवगत गराएका थिए ।

सचिव भल्लाले सचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन, १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको बारेमा छलफल हुने बताए ।

यस्तै न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिवस्तरीय बैठकमा त्यसको टुङ्गो लगाउने गरी छलफल गर्ने तयारी रहेको उनको भनाइ थियो । इनर्जी बैंकिङको लागि प्राविधिक तहमा घनिभूत छलफल भएको भन्दै सचिव भल्लाले त्यसमा सहमतिको प्रयास हुने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ