डेपुटी गभर्नरको प्रश्न : राष्ट्रिय वाणिज्य बैंक किन यति कमजोर बन्यो ?
प्रकाशित २०७५ माघ १० बिहिबार
477
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई यति पुरानो र सरकारी स्वामित्वमा रहँदा रहँदै पनि किन यति कमजोर रहेको भन्दै प्रश्न गरेका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले ५४ वर्ष भईसक्दा पनि राष्ट्रिय वाणिज्य बैंकले आफूलाई विकसित गराउन नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।
उनले शाखा विस्तार र सेवा सञ्चालनमा आफ्नो इतिहासलाई समेत ख्याल गर्न पनि बैंकलाई सुझाव दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर शिवाकोटीले नयाँ र निजी क्षेत्रका बैंकहरुले शाखा विस्तार र निक्षेप र कर्जा विस्तारमा राष्ट्रिय वाणिज्य बैंकलाई उछिन्दा समेत बैंक त्यसतर्फ किन सचेत नभएको भन्दै प्रश्न समेत गरेका छन् ।
वाणिज्य बैंकले सरकारले तोकेको सहुलियत कर्जा वितरणमा देखाएको तत्परताप्रति प्रशंसा गर्दै उनले त्यस्तो कर्जा वितरण गरेका बैंक तथा वित्तीय संस्थाका शाखाका कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिने गरेको, घुस माग्ने गरेकोमा सचेत गराउँदै उनले भने –‘खबरदार राष्ट्र बैंकले कारबाही गर्छ ।’
नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई हरेक ६/६ महिनामा केवाईसी अपडेट गरेर पठाउन भनेको भए पनि त्यस्तो अपडेट ठाउँ, ठेगाना र सम्पर्क नम्बर परिवर्तन भएको हकमा मात्रै लागु हुने भन्दै बैंकहरुले परिवर्तन नै नहुने नागरिकता, स्थायी ठेगाना लगायतका विवरण समेत माग्ने गरेको गुनासो आएको बताए ।