arrow

कांग्रेस भन्छ – आज संसदमा सभामुखले सौहार्दपूर्ण तरिकाले संसद चलाउने छन्

‘जसरी पनि भन्ने शब्द लोकतन्त्रिक संस्कृतिमा हुन्न’

logo
प्रकाशित २०७५ माघ ११ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । नेपाली काँग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक निकै सौहार्द हुने अपेक्षा गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा सभामुख कृष्णबहादुर महराले सौहार्दपूर्ण तरिकाले संसद चलाउने विश्वास व्यक्त गरेका हुन् ।  

संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने र संसदमा शुक्रबार जसरी पनि पारित हुने दावी गरिरहँदा कांग्रेस प्रवक्ता शर्माले जसरी पनि भन्ने शब्द लोकतन्त्रिक संस्कृतिमा हुन्न भनेका छन् । 

उनले सत्ताधारीले डा गोविन्द केसी र प्रमुख प्रतिपक्षीको आग्रह बुझ्नुपर्ने बताएका छन् । र त्यसको माहोल बनाउने काम सभामुखको भएको पनि स्पष्ट पारेका छन् । 

शर्माले नेपालको संविधान फलानो मितिभित्र बनाउनैपर्छ भनेजस्तै आज साँझसम्म जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्छ भनेर लाग्नु राम्रो नहुने बताएका छन् । 

उनले आग्रह गर्दै भनेका छन् – ‘डा गोविन्द केसी आमरण अनसनमा हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली ज्यू विदेशमा हुनुहुन्छ । उहाँ भोलि फर्कदै हुनुहुन्छ । उहाँ फर्केपछि कुरा गर्न सकिन्छ नि ।’ 
संचारमन्त्रीको भनाइप्रति शर्माले भने – मुलुकको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो मन्त्रीले हैन । संचारमन्त्रीले के भन्नु भयो भन्ने ठूलो कुरो हैन । 

उनले दुई नेताका नामका अस्पताल केन्द्र मातहत नराखिनु सरकारको बदनियतपूर्ण गतिविधि भनेका छन् । उनले सम्झाएका छन् –पुस १९ गते ११ वटा मन्त्रालयको नाम पठाएको छ । तर २३ गते बसेको मन्त्रिपरिषद बैठकले १० र ११ नम्बरका गिरिजाप्रसाद कोइराला र सुशीले कोइरालाको नाम जोडिएका अस्पताल केन्द्र सरकारको मातहतमा नरहने निर्णय गरियो । यो भन्दा दुर्भाग्य के होला ? 

काँग्रेसले दुई वटा मागलाई विशेष ध्यान दिएको छ । डा केसीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको सम्झौताको अक्षरसः पालना र दुई पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहतमा राख्नुपर्ने । 

यो विषयले गर्दा नै शुक्रबार संसदमा के हुन्छ भन्ने आमचासो बढेको छ । 

प्रवक्ता शर्मा भन्छन् –‘आज संसदमा संसदीय मर्यादाभित्र रहेर अगाडि बढ्छौं । हामी बिहानैदेखि भिडन्तको तयारीमा छौं भन्ने हैन । उहाँहरुसंग बहुमत छ । त्यसकै आधारमा जवरजस्ती नगरियोस् । लोकतन्त्रमा बहुमतभन्दा माथि विवेक पनि हुन्छ ।’

उनले अझ स्पष्ट पारे – ‘बहुमतले निर्णय गर्न पाउनुपर्छ । प्रश्न बहुमत र अल्पमत भन्दा विषय के छ भन्ने हो । 

डा केसीसंग साउनमा प्रधानमन्त्री ओलीले सम्झौता गर्नुभएको थियो । त्यो सम्झौता पालना नगर्ने ? त्यो सम्झौतालाई संसदको सम्पत्ति बनाएको हैन र ?’  

के भएको थियो मंगलबार ?
गत मंगलबार संसदमा घम्साघम्सी भएको थियो । सभामुख कृष्णबहादुर महराले सुरुवातमा काँग्रेसले बैठक अवरुद्ध गर्दा १५ मिनेट बैठक स्थगित गरे । तर त्यो १५ मिनेटमा उनले कुनै पहल गरेनन् । 

त्यसपछि फेरि बैठक चलाउन खोजे । काँग्रेस सांसदहरु उठे । उनीहरु आफ्नो सिट छाडेर जान खोज्दा पनि सभामुखले जवरजस्ती संसद चलाउन खोजे । विरोध बीचनै उनले चिकित्सा शिक्षा विधेयक पेश गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बोलाए । 

अनि काँग्रेस सांसदहरुले विधेयक पेश गर्न दिएनन् । सो क्रममा सांसदहरुबीच ठेलमठेल भयो । घम्साघम्सीको स्थिति देखियो । फेरि १५ मिनेटका लागि सभामुखले संसद स्थगित गरे । तर त्यसपछि बस्न नसकी शुक्रबार दिउँसोलाई बोलाएका छन् । 

के होला त त्यसो भए शुक्रबार दिउँसो ? 
यहाँनेर अन्योल छ । सभामुखले मंगलबारपछि प्रमुख प्रतिपक्षी दलसंग कुनै छलफल गरेका छैनन् । यो बीचको समयमा आपसमा शब्दप्रहार गर्ने काम नेताहरुले बढी गरेका छन् । 

मध्यान्हसम्म कुनै ठोस पहल र राजनीतिक सहमति सभामुखले नगर्ने हो भने दिउँसो बस्ने बैठकमा फेरि मुठभेड हुने निश्चित छ । 

यतिसम्मकि सत्ताधारी सांसदहरुले बसेकै स्थानबाट विधेयक पेश गराएर पारित गराउने रणनीतिसमेत बनेको बताउँछन् । काँग्रेस जसरी पनि रोक्ने योजनामा हुनेछ । 

सभामुख विशेष गरी प्रधानमन्त्री केपी ओलीको इशारामा चलेको आरोप लागिरहन्छ । यदि आफ्नो विवेक प्रयोग नगरी उनले ओलीको इशारा कुरेका हुन् भने पक्कै ओलीको केही सन्देश उनले पाएका हुन सक्छन् । 

यदि बसिबसी नै चिकित्सा शिक्षा विधेयक पारित गरियो या काँग्रेसको विरोधबीच पारित भयो भने त्यो ओलीको आदेश हो भनी बुझ्दा फरक नपर्ने निश्चित छ । 

प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ