arrow

समृद्धिको यात्रामा ओलीको उच्छृंखलता

logo
महेश दत्त भट्ट
प्रकाशित २०७५ माघ ११ शुक्रबार
mahesh-dutta-bhatta.jpg

परिवर्तनका निम्ति २००७ सालदेखि शुरु भएको आन्दोलनको यात्रा अहिले आएर स्थायी सरकारसम्म पुगेको छ । यसका बिचका अवधिमा विभिन्न प्रयोग भए । यसको लेखा जोखा तिर जान चाहन्न । नेपालको राजनीतिक इतिहासमा धेरै समयपछिको अन्तरालमा एउटा बाम गठबन्धनको स्थायी सरकार बनेको छ । यस सरकारसँग जनताका थुप्रै आशा र भरोसा पनि रहेका छन् । बाम गठबन्धनको चुनावी घोषणा पत्र र भिषण भाषणले जनतालाई उत्तेजित मात्र नभई आशाले उत्साही पनि बनाएको थियो । त्यसको फलस्वरुप नेपाली जनताले बाम गठबन्धनलाई सद्भाव स्वरुप आफ्नो अमुल्य मत दिएर विजयी बनाएको थियो ।

चुनाव पूर्व बोलिने मिठा उखानटुक्का र सरकार बनिसकेपछिका पेचिला उखानटुक्का तथा रेल गतिमा बोलिएका भिषण भाषण र कछुवा गतीको कार्यसम्पादनले जनतामाझ निरासा छाएको छ । कुनै पनि मानिस अथवा नेतृत्व सर्वगुण सम्पन्न हुदैन र सवै मानिस विना गुणको पनि हुँदैन । तर, अहिलेको सरकारको कार्यसम्पादनका आधारमा गुण र दोष हेर्ने हो भने सर्वगुण हैन विना गुणको नेतृत्वको सरकार देखिएको छ ।  

कहिले आफ्नै दलका नेताहरुले दिएको  रचनात्मक सल्लाह, सुझाव र आलोचना प्रति कटाक्ष हान्छन भने कहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसप्रति कटाक्ष हान्छन् । जो सुकै नेतृत्व भए पनि जनता, प्रतिपक्ष र समकक्षीले दिएको सुझाव, आलोचनाबाट एउटा सुधारोन्मुख कार्यदिशा बनाएर अगाडी बढ्न जिम्मेवार हुनुपर्छ र आलोचना सुन्न पनि हार्दिकताका साथ कृतज्ञ हुनुपर्छ । स्थायी सरकारमा नीतिगत र निर्णय कार्यान्वयन गर्न त्यति जटिल परिस्थिति हुँदैन । किनभने मन, बचन, कर्म र नीयतीको मिलन पछिको गठबन्धनको सरकार बनेको छ । कुनै पनि कार्यसम्पादन र कार्यान्वयनमा कसैले पनि बाधा अड्चन पुगाउँछ भन्ने पनि छैन । तर, त्यो हुँदा हुँदै पनि सुन काण्ड त्यसै विलाउनु, अबोध बालिकाको बलात्कारपछिको हत्याकाण्डले न्याय नपाउनु, डा. केसीका माग जायज हुँदाहुँदै पनि कार्यान्वयन नहुनु, बाचा कवोल गरिएका घोषणाहरुको प्रारम्भ नहुनु, न्याय नपाउँदा जनता जुरमुराउदा आन्दोलन दबाइनु, सडकबाट न्याय पाइदैन भन्नु, विपक्षलाई दोष दिनु, कांग्रेसले काम गर्न दिएको छैन भन्नु, आफ्नै सारथीहरुले देश डुब्दैछ भन्दा कटाक्ष हान्नु, संविधानको खिल्ली उड्ने गरी दुइटै प्रधानमन्त्री हुन्छौं भन्ने जस्ता उच्छृंखल अभिब्यक्तिबाट केटाकेटी पनको नेतृत्वको आभाष हुँदैछ र यस्तै उच्छृंखलतामा समय व्यतित हुँदैछ ।  

देशका बहुसंख्यक किसान, मजदुर, गरीव जनता औषधी मुलोदेखि पुष माघको चिसोमा ओत लाग्ने ठाँउ नपाएर अकालमै मृत्युको सिकार बन्नु परेको अवस्था छ । नेतृत्वदायी ठूला भुँडीवाला भ्यागुताहरु राज्यकोषको दोहन गरेर सुखसयल, रंगीचंगी जीवन विताइरहेका  छन् । सधैं सर्वहाराको नाम जप्नेहरु आज  नामर्द, कुरौटे, हुतिहाराको पदवी पाएर बसेका छन् कोही उखान टुक्काको पसल थापेर राष्ट्रिय स्वाभिमानलाई धरापमा हालेर लम्पसारबादी चरित्र देखाई डलरको पुरस्कार थाप्नमा व्यस्त देखिन्छन् । राष्ट्रिय स्वाभिमान खतरामा छ, राष्ट्रियता बचाउन पर्छ, विदेशीहरु सल्बलाएका छन्, विचारको युद्ध गर्नेहरुको कुटनीति बढ्दो क्रममा छ भन्ने आवाज बुलन्द पार्ने व्यक्तिहरुलाई अपराधिहरुको संज्ञा दिइदैछ, यिनीहरुलाई मासेर हिड्नुपर्छ भन्ने मनसायमा सरकार जादै गरेको छ ।
   
सरकारी अकर्मण्यताका कारण आर्थिक, सामाजिक, सांस्कृतिक, न्यायिक र यावत् राजनीतिक क्षेत्रमा बढ्दो विकृति र विसंगतिले मुलुकमा विकराल रूप लिँदैछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिने सरकारबाटै भ्रष्टाचारका नयाँ नयाँ शृंखला रचिँदैछन्। मेलम्ची प्रकरण, वाइडबडी काण्ड, स्थानीय तहमा जथाभावी आफ्ना मान्छे भर्ती गरेर राज्यकोषको दुरुपयोग ज्वलन्त उदाहरण हुन । सनातन संस्कृति माथि अतिक्रमण र समाजलाई विभाजन गर्नेहरूको सक्रियता सरकारकै आडमा बढ्दो छ । न्यायपालिका, व्यवस्थापिका कर्माचारीतन्त्र, सेना, प्रहरी, राज्यको चौथो अगं प्रेस लगायतका राज्यका संवैधानिक अंगहरू सरकारी पार्टीको छायादेखि तर्सिनुपर्ने अवस्था पैदा हुँदैछ । सरकारले विभिन्न तहमा नचाहिने तबरले हस्तक्षेप गरेको पाईएको छ ।

यस्तो अर्कमण्यतामा नै बहुमतको सरकार रुम्लीने हो भने नेपाल माथि थुप्रै चुनौती रहेका छन् । एकातिर गरिबीको अवस्था खतरनाक छ, अर्को तर्फ सस्तो लोकप्रियताका लागि गरिएका खर्चको सिमा धेरै नाघिरहेको छ । फजुल खर्च बढ्दो छ भने उत्पादनको स्थिति खस्कदो  छ । प्रतिव्यक्ति आय न्यून छ । यदि यसो निरन्तर भइरहने हो भने केही बर्षमै देश आर्थिक रुपमा टाँट पल्टिने निश्चित छ । नेताहरु देशको कुटनीतिक सवालहरुमा  भन्दा पनि छोटो समयको आगो ताप्नमा स्वार्थउन्मुख छन् । यसले देशको अवस्था झन खतरामा पुगेको आभाष भइरहेको  छ ।

यसर्थ प्रतिपक्षमा रहेको पार्टी नेपाली कांग्रेसले रचनात्मक सुझाव, सहयोग र राष्ट्रहितका लागि सहकार्यका माध्यमबाट अगाडि बढ्नु पर्छ । आलोचना र टिप्पणीले मात्र राष्ट्र हित हुन सक्दैन् । राष्ट्रिय स्वाधिनताको रक्षा र नेपालको समग्र विकासको यात्रामा हार्दिकताका साथ सहयोगी भूमिका निभाउनु पर्छ किनभने नेपाली कांग्रेस यो देशको जेठो राजानीतिक दल हो,अरु दलहरुका लागि विश्वविद्यालय नै हो, विमुख हुने छुट कांग्रेसलाई छैन । देशलाई पासोमा परेको चरा जस्तै बनाउने अधिकार न त सरकारलाई छ न त प्रतिपक्षलाई नै ।

 यस्तो सुनौले अवसरलाई उच्च लेभलको प्रतिवद्धता कायम गरी  प्रतिपक्ष र सरकारमा सहभागी दललाई विकासको बाटोमा सहयात्री बनाई नेपालको गरिबी, भोकमारी, पछौटेपन, आर्थिक सामाजिक  अवस्थालाई सुधार गर्न एउटै  धागामा उनिएको माला बनाएर सहकार्यका माध्यमबाट अगाडि बढ्यो भने शान्ति र समृद्धि संगसंगैको यात्रा हुनेछ र लोकतन्त्रको सुगन्धको फैलावटसँगै राष्ट्रियताको रक्षा पनि हुनेछ । नत्र भने ओली ज्यूको उच्छृंखलता र उखानटुक्काको पसलले देश समृद्ध होला भन्नेमा रति विश्वास   रहेन ।

(लेखक नेपाल तरुण दल बैतडीका उपाध्यक्ष हुन् ।)



नयाँ