arrow

२४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

logo
प्रकाशित २०७५ माघ १३ आइतबार
chundunga-khani.jpg

काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।  विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुङ्गाको धुलो २३, फलाम चार, डोलोमाइट आठ, रुबी तीन, जिङ्क दुई, तामा तीन, ढुङ्गा तीन, कोइला तीन र सुन एक रहेका छन् ।

महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले खनिजका लागि महाशाखाले पाँच सयभन्दा बढी स्थानमा अध्ययन गरे पनि जम्मा २४१ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएको बताए। “सबै खोजतलास गरेका ठाउँमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो” उनले भने, “नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ ।”

नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्ट्याइएको छ । अति महत्वपूर्णमा सुन, चाँदी, हिरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुङ्गा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्माइन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ