arrow

राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक टेबुल हुँदै, 'अभिभावक संसद'को पहिलो परीक्षा

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
rastriya_sava1.jpg

काठमाडौं । बहुचर्चित चिकित्सा शिक्षा विधेयक सोमबार बस्ने भनिएको राष्ट्रिय सभामा टेबुल हुँदैछ । आईतबार राष्ट्रिय सभाले जारी गरेको सूचना अनुसार आईतबारको राष्ट्रिय सभा बैठकको पहिलो कार्यसूचीमा नै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेबुल गर्ने कार्यतालिका रहेकोछ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केही दिनदेखि दुबै संसदमा विरोधमा छ । ७ दिन अघि बसेको राष्ट्रिय सभा बैठक पनि काँग्रेसको अवरोधका कारण ७ दिनको लागि स्थगित गरिएको थियो । राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक यस्तो समयमा टेबुल हुन लागेको छ जतिबेला काँग्रेसको विरोधका बाबजुद प्रतिनिधि सभाले काँग्रेसको संसदमा नाराबाजीकाबीच सत्तापक्षले पेलेरै विधेयक पारित गरेपछि काँग्रेस देशव्यापी विरोधमा छ । 

यसरी काँग्रेसले संसद अवरोधको कार्यक्रम स्थगित नगरिसकेको अवस्थामा सोही विधेयक प्रस्तुत हुनलाग्दा सोमबारको राष्ट्रिय सभा बैठकमा समेत विरोध र प्रदर्शनको कार्यक्रम दोहोरिने अवस्था देखिन्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुने र यसलाई संघीय संसद् भनिनेछ भनेर संविधानको धारा ८३ मा उल्लेख गरिएको छ ।

जानकारहरुका अनुसार राष्ट्रिय सभालाई अभिभावक संसद पनि भनिन्छ । संसारका लोकतान्त्रिक मुलुकमा प्रायः दुई सदनात्मक व्यवस्थापिका हुने चलन छ । तल्लो संसद अर्थात् प्रतिनिधि सभाबाट बहुमतले पारित भएको विषय पनि राष्ट्रिय सभाले आवश्यक नठानेमा थप संशोधनको लागि प्रतिनिधि सभामा नै फिर्ता गर्न सक्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाले पास गरी पठाएका अन्य विधेयकहरू पनि राष्ट्रिय सभाले दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्छ र यो समयभित्र फिर्ता नआएको स्थितिमा प्रतिनिधिसभाले तत्काल कायम रहेका सदस्य संख्याको बहुमत सदस्यको निर्णयबाट सो विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रिपतिसमक्ष पठाउन सक्ने व्यवस्था संविधानको धारा १११ ले गरेको छ ।

माथिल्लो सदन अर्थात् राष्ट्रिय सभामा अनुभवी, दिग्गज र विषेज्ञता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने गरी गठन गर्ने चलन संसारका अन्य मुलुकमा पाइन्छ । यसको नामैले पनि ‘पाको’ सदनका रूपमा पनि यसलाई लिइन्छ । संविधान संशोधनदेखि यावत् कुरामा तल्लो सदनले पारित गरी पठाएको विधेयकलाई अक्षरशः हेरी, अंश, अंश केलाई त्यसमा कहाँ, कतै कमी, कमजोरी वा त्रुटिहरू छन् भने तत्काल सुधार्नका लागि सुझावसहित पठाउन सक्ने व्यवस्था छ । 

अहिले राष्ट्रिय सभामाथि यस पटक पहिलो औचित्यताको परीक्षा सुरु भएको छ । यस अघि यो संसद बनेपछि जवर्जस्ती विधेयक पारित नभएकोले यो घटनालाई राष्ट्रिय सभाको पहिलो परीक्षा मान्न सकिने अवस्था छ । प्रतिनिधि सभाबाट विरोधकाबीच पारित भएको यो विधेयक पारित भएपछि पाको संसदले यसलाई कसरी अघि बढाउँछ ? भन्ने चासो धेरैलाई पर्ने गरेको छ । यद्यपि काँग्रेसको विरोधका कारण राष्ट्रिय सभामा विधेयक टेबुल हुन्छ या हुँदैन भन्नेमा भने अझै जिज्ञासाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ