निरन्जन पौडेल । पर्वत जिल्लाको शिवालय गाविसमा विसं २०३० सालमा जन्मिएका राजेन्द्र पहाडीले पुष्तकबाटै समाज परिवर्तनको जग जाहेर गरेका छन् । अध्ययनशील व्यक्तित्व र सामाजिक परिवर्तनका लागि क्रियाशील पहाडीका विभिन्न पुस्तक प्रकाशित छन् । विभिन्न राष्ट्रको भ्रमणका क्रममा आर्जन गरेका ज्ञानलाई लिपिवद्ध गर्दै पहाडीले थुप्रै कृति मार्फत साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । उनको साहित्यप्रतिको तत्परताले समाज परिवर्तनमा निकै महत्वपूर्ण योगदान पुग्ने छ । छापा माध्यमबाट उनले समाज परिवर्तनको भूमिका खेलिरहँदा सिक्रेड नेपाल, पर्वतको प्रकाशन सहयोगमा २०६९ मा ‘‘नेपालमा महिला हिंसा’’ पुष्तक प्रकाशन भयो ।
देश विदेशमा महिलाले भोग्नु परेका समस्याबारे सेमिनार– गोष्ठी र विभिन्न सभा–सम्मेलनमा छलफल निकै हुने गर्दछ । पत्रपत्रिकामा पनि महिला अधिकारका बारेमा लेख रचना प्रकाशनमा आइरहँदा ती रचना मुख्तयाः महिलाले नै लेख्ने भएकाले केहीले अधिकार पाएपनि सबैले नपाएको भनि धेरै वाद विवाद हुने गरेका छन् । लेखक पहाडीले पुरूष भएर पनि महिलाका समस्या र भोग्नुपरेका पिडाबारे विस्तृत र व्यापक अध्ययन र चिन्तनबाट सामाजिक मानसिकतामा रहेका खराबी औंल्याएका छन् । यस अर्थमा पुस्तकले समाजका खराबीलाई गहिराईबाट निकालेर सतहमा ल्याई सबैलाई उजागर गराउने प्रयास गरेका बुझिन्छ ।
उनले नेपाली समाजदेखि कानून, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, मानव अधिकारका घोषणापत्र, धर्म, संस्कृति र संस्कार जस्ता विषय ’नेपालमा महिला हिंसा’मा समेटेका छन् । सबै धार्मिक ग्रन्थको मुटु छाम्दै महिलाप्रतिको दृष्टिकोण पनि पुस्तकमा उल्लेख छ । शोधपत्रको शैलीमा लेखिएपनि यसका हरेक अंशले सामाजिक यथार्थको धरातलमा पाठकलाई उभ्याउने प्रयास गरेको छन् । पाठकले तथ्यको बलियो आधार सजिलै भेट्टाउँछ । पुस्तकले नेपाल वा विदेशमा महिलाले पाउने आदर र अवस्थाकाबारेको अनुसन्धानमा योगदान दिएको छ ।
पुस्तकमा सामान्य भन्दा सामान्य विषयवस्तुको उठानबाट त्यसलाई विशिष्ट स्थान दिदैं लेखकले यसलाई वास्तविक रूप दिएका छन् । अध्ययनका क्रममा जो कसैले पनि यसमा कल्पना भन्दा बढी यथार्थता पाउँछन् । ’नेपालमा महिला हिंसा’– २०६९ मा महिलाको दबर्वलदेखि सवल पक्षबारे उल्लेख गर्दै आफूलाई महामानव घोषणा गर्ने दार्शनिकले कसरी आफ्नो सामाजिक मूल्य र मान्यता लत्याएर महिलाको विषयमा व्याख्या गर्छन् भन्ने कुरा उल्लेख गरेका छन् । यसलाई पृष्ठ १५ को अनुच्छेदले प्रस्ट्याएको छ ।
“विद्धान अरस्तुले ‘भाले’ लाई सक्रिय र पोथीलाई निष्कृय भनेका थिए । उनका अनुसार पोथी एउटा ‘खण्डित भाले’ हो, जसको आत्मा हुँदैन । महिलाको शारीरिक कमजोरीका कारण नै उनीहरू योग्यतामा पनि क्षीण रहन्छन् । उनीहरूको तार्किक योग्यता र निर्णय शक्ति पनि कम हुन्छ । यसको कारण भनेकोे पुरूष प्रधान समाजको भालेलाई ‘श्रेष्ठ’ र पोथी ‘हीन’ भन्ने विचार हो । पुरूष प्रधान समाजमा पुरूषको जन्म शासन गर्न र महिलाको जन्म शासित हुनका लागि भएको हो भन्ने सोचाइ रहेको छ । साथै उनले “पुरूषको साहस तिनको प्रभूतामा छ र स्त्रीको तिनको आज्ञाकारितामा ।”
“सिग्मण्ड फ्रायडले महिलाहरूको लागि तिनको “शरीर नै भाग्य हो भनेका छन् । फ्रायडको लागि सामान्य मानिस एउटा ‘भाले’ र ‘स्त्री’ त्यसैको विग्रेको रूप हो जसको साथ लिङ्ग छैन र जसको पुरै मानसिकता आफ्नो यस कमजोरीलाई पुरा गर्ने संघर्षको वरिपरि घुम्दछ।”
“भाटभटेनीमा रहेको लिच्छवीकालीन अभिलेखमा उल्लेख गरिएको छ –अर्को जुनीमा स्वास्नी मान्छे हुन नपरोस्।”
“टर्टयूलियन लेख्छन्– स्त्री (तिमी) शैतानको ढोका हौं, जहाँ शैतानले सीधा आक्रमण गर्न हिचकिचाउँछ, त्यहाँ उसले स्त्रीको मद्दत लिएर पुरूषलाई माटोमा मिलाई दिन्छ । यो त स्त्रीको गल्ती हो, जसबाट प्रभुको पुत्रलाई मर्न बाध्य बनायो । तिमी आइमाईहरूलाई सधैं शोक संतप्त रहनु पर्छ ।”
“रूसो भन्छन् – स्त्रीको पुरै शिक्षा पुरूषको सन्दर्भमा हुनुपर्छ । स्त्रीहरूले पुरूषको आज्ञा मान्नु पर्छ र उसको अन्याय स्वीकार्नु पर्छ ।”
माथि उल्लेखित भनाइ मानव सभ्यताको सुरूवाती कालखण्डदेखि महिलालाई अघि बढ्न नदिइको विषयका प्रमाण हुन् । यी प्रमाणमा आधारित भएर नै लेखकले यीनै ऐतिहासिक पृष्ठभूमिमा आधारित भएर घटना कोट्याउँदै धार्मिक देखि दार्शनिकसम्मका विचार समावेश गरेका छन् । महिलाको अवस्थाबारे अध्ययन एवं अनुसन्धान गर्नेलाई पुस्तक एक वरदान बन्ने निश्चित छ । पहाडीले पुस्तकमा महिला हिंसाका बारेमा चर्चा गर्दै सातौं पृष्ठमा लेखेका छन् ।
“बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलन १९९५ घोषणा पत्रले के कुरा स्वीकार गरेको छ, भने हत्या र अप्रत्यक्ष शारिरीक हानी–नोक्सानी मात्र हिंसा होइन, स्त्रीको आत्मसम्मान, स्व–पहिचान र स्वाभिमानविरूद्ध हुने शारीरिक, मानसिक, यौनगत, एवं सामाजिक अवहेलनाका कुनै पनि कुराहरू हिंसा हुन् ।” यसमा बोली, बचन र व्यवहारबाट अरूको तन र मनमा चोट र आघात पार्ने काम पनि नारीमाथि हुने हिंसा हुन्, भनि उल्लेख गरिएको छ । यसरी बेइजिङ सम्मेलनले हिंसालाई ठोस र व्यवहारिक रूपमा परिभाषित गर्ने प्रयास गरेको देखिन्छ । उक्त सम्मेलनको तथ्य औल्याउदै पृष्ठ ८ मा लेखिएको छ ।
“हिंसाले विश्वमा नै भयावह रूप लिइरहेको छ । धेरै खोज अनुसन्धानहरूका अनुसार विश्वमा दैनिक प्रत्येक ५ सेकेण्डमा १ जना महिलाले आफ्नो श्रीमानको पिटाई खाईरहेकी हुन्छिन्। ”
लेखकले विभिन्न देशको स्थितिको अध्ययन गरी महिला प्रतिको सामाजिक दृष्टिकोण एवं विश्व परिस्थितिका विषयमा गहिरो चिन्तन र मनन् गर्ने अवसर पाठकलाई दिएका छन् । यस किसिमको अद्धितीय क्षमतालाई मैले ब्याख्या गर्नु भन्दा पनि पाठक स्वयंले पुस्तकको अध्ययन गरी टिका टिप्पणी गर्नुले पुस्तकको गरिमा बढाउनुका साथै लेखकलाई थप अनुसन्धान गर्ने जाँगर दिन्छ ।
मलाई लेखकको अनुसन्धान शैली पच्छ्याउदै शोधमूलक ढाँचामा लेखिएको पुस्तकको गहिराइको मापन गर्न हम्मे हम्मे परेको छ । सबैको ध्यान केन्द्रित गर्ने एवं प्राकृतिक आवश्यकताका रूपमा रहेको यौनका विषयमा पनि चर्चा गर्दै पृष्ठ नौ मा लेखिएको छ ।
“विश्वव्यापी रूपमा हेर्ने हो भने यौन सम्बन्धसँग जोडिएका सन्दर्भमा महिला हिंसाका घटना बढी हुने गरेका छन् । अफ्रिकामा महिलाको योनी साँघुरो पारिन्छ भने भारत, बंग्लादेश जस्ता एसियाली राष्ट्रमा सयौं महिलाहरूको भ्रुणहत्या र वयस्क विवाहित महिलाको हत्या हुने गरेका छन् ।”
यसरी हरेक महिला यौनकै कारण पुरूषको कठपुतली बन्ने विद्यमान जटिलतालाई चर्चा गर्दै पहाडीले त्यस प्रति आपत्ति प्रकट गरेको पाइन्छ । संसारमा धेरै राष्ट्रका महिला यौनको सिकार बनेका छन् । यौन हिंसाका लागि शिक्षा, सञ्चार, राज्य, समाज, व्यक्ति उत्तिकै जिम्मेवार हुनुका साथै मानिसको दुःखको साथी र मनको भावना व्यक्त गर्ने माध्यमको रूपमा स्थापित भएको साहित्य पनि यौनमूलक र यौन उत्तेजना दिने हुुन्छन् । यसले स–साना बालबालिकालाई पनि यौनप्रति प्रेरित गर्छ । यौन उत्तेजना र यौन आवश्यकताका कारण उत्पन्न भएका भावनाले महिलाको सृजनशील कामलाई उपेक्षा गर्दै यौन सन्तुष्टिका लागि मात्र प्रयोग हुदैं आएको अमानवीय चरित्रका विषयमा पनि पुस्तकमा प्रकाश पारिएको छ । यस प्रकारका सामाजिक दृष्टिकोणको चर्चा गर्दै पुस्तकको पृष्ठ ११ मा लेखक भन्छन् ।
“कति चेलीहरू दाइजो प्रथाको शिकार भई उचित उमेरमा विवाह नभएका र विवाह भएर पनि अपहेलित र अपमानित भई बचन, बुहार्तन र कुटाइपिटाई खाँदै कतिले त बहुविवाहको पीडा समेत भोगिरहेका छन् । कति किशोरीहरू टाठाबाठा, छट्टु र बद्मास पुरूषको छलमा परेर अर्की नारी माथि सौता बन्न पुगेका छन् भने कतिले विवाहको वहानामा वा जागिर प्रलोभनमा परेर विदेशी भूमिमा नारकीय जीवन बिताउनु परिरहेको छ ।”
इतिहासदेखि वर्तमानसम्म महिला हिंसाको चपेटामा परेका छन् । पुरुष प्रधान समाजमा जति नै समानताका बारेमा बोले र लेखे पनि कतिसम्म उनीहरू पीडा र शोषण सहन्छन् पुस्तकको अध्ययनबाट थाहा हुन्छ । महिलाले भोग्दै आएको विभिन्न समस्याका विषयवस्तु समावेश गरेर लेखिएको पुस्तकले सामाजिक स्थितिको यथार्थपरक अवस्थाको चित्रण गरेको छ । जति पनि लेखकले यस पुस्तकमा महिला हिंसाका बारेमा बोलेका छन् ती सबै सह्रानीय र समाजमा देखे भोगेका पक्षमै छन् ।
मेरो विचारमा, महिलालाई श्रमसँग जोडेर जबसम्म हेरिन्न तबसम्म उनीहरूमाथि हुने हिंसाको क्रम रोकिन्न । राजनीतिमा महिलालाई आरक्षण प्रदान गरेर होइन, राजनीति मानव जातीका लागि गर्ने हो भन्ने मानसिकता भएमा महिला माथि हुने हिंसा घट्न सक्छ । विद्यालयदेखि महाविद्यालयसम्म मनोविज्ञानका नाममा समाज दुषित पार्दैै हिंसा फैलाउने काममा उदृत रहेका पाठ्यपुस्तकको पठन पाठन रोकिनुपर्छ । शिक्षा दिन खोजिएका पाठ्यपुस्तकहरू सभ्य र मर्या्दित भाषामा कसैलाई लाञ्छित गरी लेखिनु हुन्न, भाषा सरल हुनु पर्छ साथै प्रकृति केन्द्रित पनि हुनुपर्छ ।
हाम्रो देश नेपालमा आफूलाई निकै पढेको मान्ने तर विवाहको समयमा पढाइलाई भन्दा पनि दाइजोलाई बढी महत्व दिने सोचाई राख्ने गर्छौं । धेरै दाइजोको माग गर्नु गलत हो भन्ने थाहा भएपनि त्यसलाई बढावा दिने मानिसहरूलाई सामाजिक वहिस्कार गर्नु पर्छ । महिलालाई धेरै महंगो गहना लगाएर कठपुतली बन्नमा प्रेरित गर्ने संस्कारको अन्त्य गरि महिलालाई पनि गहना हाम्रो हिंसाको कारण हो भन्ने कुरालाई मनन गर्ने खालको शिक्षा दिनु पर्छ ।
हिंसाको मुख्य कारण व्यक्तिगत स्वतन्त्रताका नाममा देखाइने सम्पत्तिको धाक, पढाइको प्रमाणपत्र पुर्ख्यौली सम्पत्तिमा घमण्ड, बलमिचाई गर्ने अवस्था, अराजकतावादीहरूले मौलाउन पाउने देशको विग्रदो स्थितिमा ध्यान दिन सकेमा महिला हिंसामा थोरै कमी आउन सक्ला । यस्ता विषयमा बढी चर्चा र बहसका विषय बनाएर महिलाका हितका निम्ती काम गर्ने संघसंस्था, सरोकारवाला निकाय तथा सरकार अघि बढ्न सके महिला माथि हुने हिंसाको कारण उनीहरु समाजको दोस्रो वर्ग भएर बाँच्नुपर्ने स्थिति नआउन सक्छ ।
“नेपालमा महिला हिंसा” मा सामाजिक पक्षतर्फ ध्यान दिँदै गहना लगाउने परम्परा पनि हिंसाको कारणको रूपमा चर्चा गरिएको छ । पुस्तकको थप विशेषता भनेको विश्लेषणात्मक रूपबाट जीवनलाई हेर्ने दृष्टिकोण पनि हो । यसमा समावेश गरिएका फुट नोटले विषयवस्तुलाई परिस्किृत बनाइदिएको छ । गाउदेखि शहरसम्म, स्वदेशदेखि विदेशसम्म, समाजदेखि सत्तासम्म, नीतिदेखि राजनीति समेट्दै पुराण, इतिहास, लोक–समाजका विषयमा जे जस्ता कुरा प्रकाशमा ल्याउनुपर्थ्यो ती सबै क्रमिक रूपमा पुस्तकमा अटाएका छन् । तसर्थ महिला हिंसाको विषयमा प्रस्तुत पुस्तकले समस्या र समाधान सहित चर्चा गरेकोमा सबैका लागि पठनीय छ ।
महिला हिंसा सम्बन्धी अनुसन्धानको क्षेत्रमा “नेपालमा महिला हिंसा” ले खेलेको भूमिका व्यापक र विस्तृत छ । पुस्तकमा लेखकले एकल महिलाको बारेमा चर्चा गरे पनि अपाङ्गता भएका महिलाका समस्या र उनीहरूबारे खासै चर्चा गरेका छैनन् । महिलाको स्थितिका बारेमा यति धेरै लेख्न सक्ने लेखकले आगामी दिनमा, आगामी प्रकाशनमा समेटेमा राज्यले पनि बोध गर्ने अवसर पाउने थियो ।
समग्रमा पूर्णरूपमा अध्ययन गरी प्रकाशन गरिएको पुस्तकले गहिरो रूपबाट अनेक पाटाहरू केलाउन गरेको प्रयास निकै प्रशंसनीय छ । आगामी दिनमा यस्ता पुस्तक मार्फत महिलाका समस्या र उनीहरू माथि हुने हिंसालाई कम गर्न सकिन्छ होला । महिलाले मात्रै होइन पुरुषले पनि महिलाका समस्या चित्रण गरी यसरी पुस्तक मार्फत समाजमा चेतना छर्न र महिलका समस्यालाई बुझ्न तथा बुझाउन सके महिला दिवस मनाउनु, महिलाका पक्ष तथा उनका हितमा काम गर्नुको अर्थ रहन्छ ।