arrow

चन्दा आतंकको हास्य कलेवर

logo
कुसुम भट्टराई,
प्रकाशित २०७५ माघ २० आइतबार
cricket-stadium1.jpg

हास्य कलाकार मदन कृष्ण श्रेष्ठले देशमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक तहबाटै भएको मन्तब्य दिइरहँदा छेउमै प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल मुसुमुसु हाँसिरहेका थिए । विडम्बना, उनीहरुको मुहारमा किंचित पनि लज्जा या हिनताबोध थिएन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको औपचारीक घोषणा समारोहमा कलाकार श्रेष्ठको मन्तब्य ओली र दाहालप्रति नै लक्षित थियो, जसको राजमा यतिबेला भ्रष्टाचार घनिभूत रुपमा मौलाइरहेको छ । वाइडबडी विमान खरिदमा साढे चार अर्ब घोटाला भएको आजको परिप्रेक्ष्यमा ओली र दाहालसँग नकचरो हाँसो हाँस्नुको विकल्प पनि त थिएन ।  खबर आयो, भरतपुर महानगरपालिकाले धुर्मुस र सुन्तलीलाई जग्गा उपलब्ध गरायो । प्रचण्ड पुत्री अर्थात भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमार्फत सबैले के थाहा पाए भने सो जग्गामा धुर्मुस र सुन्तलीले अन्तर्राष्ट्रिय रंगशाला बनाइदिनेछन् ।
 
धुर्मुस र सुन्तली कुनै धनाढ्य परिवारका सन्तान हैनन् । उनीहरु ‘मार्सी माफीया’ पनि हैनन् । उनीहरुबाट लडाकुको राशनमा घोटाला भएको पनि हैन । सुमार्गी, घले, महतो, गुरुङ आदि आर्थिक सञ्जालको कुनै सदस्य पनि पक्कै हैनन् । एनसेल कर मिनाहा गरेबापतको पैसाबाट छोरीका लागि करोडौंको महल बनाइदिने कित्ताका मानिस पनि त उनीहरु हैनन् । वाइड बडी घोटालामा उनीहरुको सँलग्नताको त कुरै आएन । बितेका तीन चार वर्ष मुसहर वस्तीसँगै विभिन्न वस्ती निर्माणमै व्यस्त रहेकाले धुर्मुस र सुन्तलीले कलाकारिता गरेर पनि खासै पैसा कमाएजस्तो लाग्दैन । भनेपछि उनीहरुले अन्तर्राष्ट्रिय रंगशाला बनाउने हैसियत कसरी राख्छन् ? पैसा कहाँबाट ल्याउँछन् ? आकाशबाट झार्ने त पक्कै हैन होला ।

माओवादीले सुरु गरेको चन्दा आतंकले हिजोआज पनि नेपाली समाजलाई सताउन छाडेको छैन । सामाजिक सञ्जाल नियाल्ने हो भने कुनै न कुनै संस्था, समूह या व्यक्तिले चन्दाका लागि आब्हान गरिरहेको देख्न पाइन्छ । यसैको पछिल्लो कडी हो, चन्दा मागेर रंगशाला बनाउने हास्य कलाकारहरुको नयाँ फन्डा ।

हो, धुर्मुसले गर्ने ‘बहादुरी’ भनेको हामी आम जनतासँग चन्दा माग्ने हो । यो एक प्रकारले भिख नै हो । पक्कै पनि देश विदेशमा उनका धेरै फ्यान छन्, जो उनलाई चन्दा दिन तयार हुनेछन् । धुर्मुसले मुख बंग्याएर शारीरीक अपांग र अशक्तहरुको उपहास गरेकै किन नहोस्, लामो समयदेखि हामी दर्शकले उनको अभिनय हेरेर हाँस्दै आएका छौं । यी सेलीब्रेटीको एउटा छाप हाम्रो अवचेतन मनमा परीसकेको छ । ख्यातीप्राप्त मानिसहरुले अपान बायु छाडे पनि नगन्हाउने यो देशमा धुर्मुसले जुनसुकै र जस्तोसुकै बहानामा चन्दा मागे पनि हामी सहर्ष दिन तयार हुन्छौं । आखिर, आजको भाइरल सँस्कृति र भिडको पछि दौडने हाम्रो प्रवृत्ति जो छ ।

प्राथमिकताको प्रश्न
चन्दा भनेको सार्थक कामका लागि जनताले आफ्नो कमाइको एक अंश कटाएर दिने रकम हो । यो रकम त्यस्तो काममा लगाउनुपर्छ, जसले जनतालाई प्रत्यक्ष लाभ होस् । जनतासँग चन्दा मागेर राती बियर धोक्ने गिरोह पनि यो देशमा छन् । जनतासँग चन्दा मागेर बिगतमा माओवादीहरुले मान्छे मार्न हतियार किनेकै हुन् । अतः चन्दा मागेको रकम जनताको प्राथमिकताको काममा लगाइएको छ कि छैन भनेर बहस हुनु जरुरी छ ।

जनतासँग चन्दा मागेर क्रिकेट रंगशाला  बनाउनु जरुरी छ त ? यो देशको मुलभूत समस्या, खाँचो र प्राथमिकता अरु नै छन्, क्रिकेट हैन ।  भ्रष्टाचार एउटा मुख्य समस्या हो । के धुर्मुस र सुन्तलीले भ्रष्टाचारविरोधी अभियान थाल्दा हुँदैन ? भ्रष्टाचारको विरोधमा जनतालाई जगाउने अभियान थाल्नतर्फ उनीहरुले किन ध्यान दिइरहेका छैनन् ?  सामाजिक सुरक्षाको प्रश्न टडकारो छ । निर्मला पन्तले न्याय पाइरहेकी छैनन्, के यो विषयमा सामाजिक दायित्वका नाताले धुर्मुस र सुन्तलीले आवाज उठाउनुपर्ने हैन ?
 
जनताको मुख्य प्राथमिकताको विषय गुणस्तरीय शिक्षा हो । शिक्षामा दुइ वर्ग स्पष्ट छ । एउटा हुनेखाने बर्ग जो गुणस्तरीय शिक्षा पाइरहेको छ, अर्को गरीब बर्ग जो सरकारी स्कुलमा पढन विवश छ र सरकारी स्कुलको शिक्षाको स्तर चौपट छ । शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्वभित्र पारेर यसको लोककल्याणकारी सुधार गर्नतर्फ धुर्मुस र सुन्तलीको सार्थक योगदान गर्न सक्छन् । हाललाई सरकारले शिक्षा र स्वास्थ्य नि:शुल्क गर्न सकेन भने पनि धुर्मुस र सुन्तलीले सातै प्रदेशमा त्यसखालका स्कूल र अस्पताल स्थापनाका लागि अभियान थाल्नसक्छन् । उत्तम सँजेलले एक सय रुपैयाँमा उपचार हुने समता अस्पताल र एक सय रुपैयामा पढन पाइने स्कूल खोलेका छन् । यही मोडलका अस्पताल र स्कुलहरुको स्थापनाका लागि अभियान चाल्न यदि धुर्मुसले चन्दा माग्ने हो भने जनताको व्यापक सहभागिता हुनसक्छ ।

सम्पत्तिको स्वामित्व कसको ?
चन्दा मागेको रकमबाट के निर्माण हुँदैछ भन्ने कुराले पनि यो अभियानको नियत बुझन् सकिन्छ । चन्दाबाट नि:शुल्क अस्पताल बनाउने हो भने त्यसबाट जनतालाई मात्र लाभ हुन्छ, विचका दलालहरुलाई केही लाभ हुँदैन । नि:शुल्क पढाइ हुने स्कुल खुल्यो भने पनि उनीहरुलाई केही लाभ हुँदैन ।  क्रिकेट रंगशाला भनेको आर्थिक आर्जन गर्ने संरचना हो । अन्तर्राष्ट्रिय म्याच भयो भने करोडौंको टिकट बिक्नसक्छ । रंगशालामा क्याफे, स्वीमीङ पुलदेखि अनेक कमर्शीयल आयामहरु जोडीनेछन् । अब जनतासँग भिख मागेको पैसाको स्वामित्व कसको हुने ? धुर्मुसको हुने ? रेणु दाहालजीको हुने ? या जनताकै हुने ? यो स्पष्ट नभइकन जनताले किन चन्दा दिने ?

क्रिकेट रंगशालालाई सहकारी अन्तर्गत राख्ने हो भने चन्दा माग्नै परेन, ‘लगानी गर’ भन्न सकियो । म पनि लगानी गरुँला । तर, चन्दा भनिसकेपछि त्यसको आम्दानीको हकदार को हुने ? जनतासँग चन्दा मागेर खडा भएको संरचनाका आयबाट केही सिमित गिरोहले मोजमस्ती गर्ने, गाडी चढने, विदेश घुम्ने हर्कत चन्दादातालाई सहय हुनेछैन । अतः यसबारेमा स्पष्ट नभएसम्म जनताले चन्दा दिनु जरुरी छैन ।

‘चन्दा आतंक’को पुनरावृत्ति
चन्दा लिनू या दिनू कुनैबेला बडा सम्मानको विषय मानिन्थ्यो । यो पँक्तिकार स्कुल पढदा रेडक्रसको खुत्रुके बोकेर साथीहरुसँग हाट बजारमा चन्दा उठाउन जान्थ्यो । सँकलीत रकमबाट रेडक्रशले स्कुलमै विभिन्न स्वास्थ्य शिविर चलाउँथ्यो, दुर्घटना कतै भएमा घाइतेको उपचार गरिदिन्थ्यो । अझ, रमाइलो कुरा, धेरै चन्दा संकलन गर्ने टिमलाई पुरस्कार स्वरुप प्रमाणपत्र पनि दिइन्थ्यो । रेडक्रशले दिएको प्रमाणपत्र मैले अझै पनि जतन गरेर राखेको छु ।

बाढी, पहिरो, भुकम्प र अन्य विपत्तीका बेला राजधानीमै कलाकारहरु ठूलो कपडा फैलाउँदै सडकमा चन्दा माग्दै हिँडथे । कलाकारहरु पनि कति इमानदार थिए भने संकलीत सहयोग रकम र लत्ता कपडा पिडितसम्म पुग्थ्यो । गाउँ या शहरमा भौतिक पुर्वाधार निर्माणका लागि चन्दा माग्ने सँस्कृति नै थियो । मन्दिर, पार्टी पौवा या धारो बनाउँदासमेत गाउँलेहरु दिल खोलेर गच्छे अनुसार चन्दा दिन्थे । चन्दा दाताहरुको नाउँसमेत निर्मित संरचनामा कुँदीएको पाइन्थ्यो । युवाहरु पनि चन्दा सहयोगमार्फत पुस्तकालय, विद्यालय आदि बनाउँथे । जनताको चन्दा सहयोगबाटै यो देशमा धेरै हेल्थ पोष्ट र शिक्षालयहरु खुलेका छन् । मन हुनेले सामाजिक दायित्व बोध गरेर पैसा दिन्छ भने यसमा आपत्तिको कुरा केही छैन । अनि सार्थक कामका लागि चन्दा माग्नु पनि  नाजायज हैन । यही कारण गृहमन्त्रालयमा पनि ‘आ.स.च.पु.(आर्थिक सहायता चन्दा पुरस्कार)को शिर्षकमा पैसा दिने गरिन्छ ।

चन्दा लिने र दिने यो पवित्र आयामलाई यदि कसैले बदनाम गरेको हो भने त्यो माओवादीले नै हो । माओवादीले नै चन्दाजस्तो स्वेच्छीक सहयोगलाई ‘बाध्यात्मक, त्रासपूर्ण र आतंकपूर्ण’ बनाइदियो । र, चन्दाजस्तो पवित्र आयाममा ‘आतंक’को धब्बा पोतिदियो ।  माओवादी हिंशात्मक विद्रोहकालकै घटना हो । दश वर्षअघि वीरगञ्जमा मेयर एवं पुराना चर्चित पत्रकार गोपाल गिरिको गोली हानी हत्या गरियो । माओवादीहरुले पाँच लाख रुपैयाँ चन्दा नदिएको निहुँमा उहाँको हत्या गरेका थिए ।

माओवादीहरुले तीनताक मुलुकभर ‘चन्दा आतंक’ मच्चाएका थिए । सामान्य गुजारा गर्ने शिक्षकदेखि उद्यमीसम्मलाई चन्दा रकम नै तोकेर माओवादीहरुले पत्र पठाउँथे । चन्दा दिनेहरु सुरक्षित रहन्थे, दिन अस्वीकार गर्नेहरुलाई अपहरण, हत्या या अनेक यातनाको सजाय दिइन्थ्यो र त्यसलाई प्रचण्डका कार्यकर्ताहरु ‘जन कारवाही’ भन्थे । उनीहरु चन्दा नदिनेलाई मार्न हिचकिचाउँदैनथे, तर विज्ञप्तिमा चाहिँ ‘सुराकी गरेकोले मारेको’ भन्थे ।   चन्दा आतंकका कारण मुलुकका उद्योग कलकारखानाहरु बन्द हुँदै गए । स्वदेशमा रोजगारी सिर्जना हुन पाएन । र, तमाम नेपाली युवा वैदेशीक रोजगारीमा जान बाध्य हुन थाले । आज दिनहुँ हजारौं नेपाली युवा विदेश पलायन भइरहेका छन् । बिडम्बना, जुन चन्दा आतंक र माओवादी त्रासले नेपाली युवालाई बिदेशीन बाध्य पार्‍यो, तीनै युवासँग चन्दा आतंकका हिजोका मतियारहरु फेरी चन्दा मागीरहेका छन्, क्रिकेटका नाममा ।

माओवादीले सुरु गरेको चन्दा आतंकले हिजोआज पनि नेपाली समाजलाई सताउन छाडेको छैन । हिजोका माओवादीहरुको अरण्य स्वभावमा बदलाव आए झैं चन्दा असुलीको तौर तरिकामा पनि बदलाव आएको छ । माओवादीको कला अरुले पनि सिकेका छन् । सामाजिक सञ्जालमा नियाल्ने हो भने कुनै न कुनै संस्था, समूह या व्यक्तिले चन्दाका लागि आब्हान गरिरहेको देख्न पाइन्छ । यसैको पछिल्लो कडी हो, चन्दा मागेर रंगशाला बनाउने फन्डा पनि ।

हामी नेपाली भावुक छौं, भाइरल हावाले हामीलाई समाती हाल्छ अनि विदेशमा बसेर मेहनतका साथ कमाएको पैसाको ओइरो लगाउँछौं । कुन चाहिँलाई नेपाल आइडल बनाउन पैसाको खोलो बगाउँछौं, कुनै एउटा माफीयाले त्यो पैसामा मोज गर्छ, सहयोगी हातहरुको एकछिनको आवेग सेलाइहाल्छ । विभिन्न बहानामा चन्दा उठाउने, चन्दा उठाउन कुनै सेलीब्रेटीलाई अघि सार्ने र सँकलीत रकममा अनियमितता गर्ने प्रवृत्ति भित्रभित्र निकै मौलाएको पाइन्छ । र, क्रिकेट रंगशाला निर्माणका क्रममा पनि ‘चन्दामाथि चोरी चकारी’ गर्नेहरु सक्रिय नहोलान् भन्न सकिन्न ।

र, रेणु र सुन्तलीको दायित्व
निर्मला पन्तको हत्या र बलात्कारपछि सामाजिक सुरक्षा र न्यायको प्रश्न पेचिलो बनीरहेको छ । नेकपाको दुइ तिहाइको बहुमतवाला यो सत्ता स्वयं अपराधी जोगाउन तल्लीन छ । प्रधानमन्त्री आफै बाह्र वर्षसम्म अपराधी पत्ता लाग्दैन भन्दै अनुसन्धानमा प्रभाव पारीरहेका छन् । निर्मला पन्तका पिताको मानसीक अवस्था बिग्रिसक्यो । यो परिदृश्यले मुलुकभरका ति तमाम आमा, दिदी, बहीनीहरुमा आफ्नो सुरक्षालाई लिएर संत्रास फैलीरहेको छ, जो धुर्मस र सुन्तलीका दर्शक हुन् ।
 
दिनभरीको कर्मबोझबाट मुक्त भएर साँझपख धुर्मुसले मुख बंग्याएको हेरेरै सारा बेदना भुल्ने ति जनताको पिडामा मल्हम दल्न कम्तीमा सुन्तली त जानुपथ्र्यो नी । महिला भएकै नाताले ‘अहिलेको मुख्य मुद्दा निर्मलालाई न्याय हो’ भनेर सुन्तलीले भरतपुर महानगरपालिकाकी मेयर रेणुलाई समेत त्यसका पक्षमा अभियान चाल्नतर्फ सहमत गराउनुपथ्र्यो नी ।  

महिला भएका नाताले सुन्तली र रेणुको दायित्व पिडित महिलालाई न्याय दिलाउने हुनुपथ्र्यो ।  पुरुषहरुले मनोविनोद गर्ने क्रिकेट रंगशाला बनाउने अभियानमा होमिनुले के सून्तली र रेणुको जीवन लक्ष्यले तादात्म्य राख्छ ? महिला भएकै नाताले पनि महिलाका मुद्दाहरुलाई उनीहरुले प्राथमिकता दिनुपर्दैनथ्यो ? पक्कै पथ्र्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ