पहिलाका मेयरले पोखरी मिचे, ललितपुरका मेयर चिरिवाबु संरक्षणमा जुटे  

प्रकाशित मिति : २०७५ माघ २१ सोमबार

ललितपुर। ललितपुर पुलचोकको कमलपोखरी मिचेर भवन निर्माण गरेको तत्कालिन ललितपुर नगरपालिका (हालको महानगर) यतिबेला आफैं ललितपुरका पोखरी संरक्षण गर्न लागेको छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले महानगर भवनले पोखरी मिचेको विषयमा भने केही बोलेनन्। तर पूर्णचण्डी पोखरी लगनखेलको न्हूःपुखु पुनःनिर्माणका लागि करीब २ करोड बजेट व्यवस्था गरिएको बताए।

तत्कालिन नगरप्रमुख बेखारत्न शाक्यको पालामा २०५१ ताका पोखरी मिचेर नगरपालिका भवन निर्माणको शिलान्याश गरिएको थियो। हालको भवन बुद्धिराज बज्राचार्य प्रमुख हुँदा निर्माण सम्पन्न भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। भवन निर्माणका बेला मिचिएको कमलपोखरीको आकार हाल नाम मात्रको तलाउको आकारमा छ, त्यो पनि कंक्रिटको पौडी पोखरी जस्तो। महानगरले आफैं पोखरी मिचेर भवन बनाएको भन्दै जलाधार क्षेत्र विज्ञ पद्मसुन्दर जोशीले आलोचना समेत गरे।

गाःबहाल पुर्णचण्डीको पोखरी ०२१ सालको नापी अनुसार निर्माण गरिने दाबी गर्दै त्यसका लागि १ करोड ५८ लाख रुपैयाँ छुट्याइएको महानगरका मेयरले जानकारी दिए। साथै उनले निर्माणपछि, पूर्णचण्डीको पोखरीले पिम्बहालको पोखरीलाई चुनौती दिने जिकिर समेत गरे। हाल पूर्णचण्डीको पोखरीको हालत यस्तो अबस्थामा छ। 
 
ललितपुर गाःबहाल क्षेत्रको पूर्णचण्डी पोखरीको हालत
साथै मेयर महर्जनले लगनखेलको न्हू पुखु (नयाँ पोखरी) मर्मत संभारका लागि ५० लाख रुपैयाँ विनियोजना गरिएको जनाए। तर विवादमा परेको सप्तपाताल पोखरीको मुद्दा भने यतिबेला अदालतमा विचाराधिन रहेकोले बोल्न नसक्ने सुनाए। सप्तपाताल पोखरीको स्थानीय नमूना मच्छिन्द्र विद्यालयले कब्जा गरेको र विद्यालयको जग्गा बाहेक पोखरी मिचिएमा महानगरले हस्तक्षेप गर्ने चेतावनी समेत उनले दिए।

तर विद्यालय भवन विस्तारका लागि महानगर आफैंले स्वीकृति दिएको भने थाहा नपाएको झैं गरे। स्मरण रहोस्ः शुरुमा मेयर महर्जनले सप्तपाताल पोखरी कुनै हालतमा मच्छिन्द्र विद्यालयले मिच्न नपाउने भन्दै स्थानीय तथा संरक्षणकर्मीलाई आश्वासन दिएका थिए। तर जापानी सहयोग संस्था जाइकाले विद्यालयको भवन विस्तार गरिदिने भएपछि, महानगरले एकाएक नक्शा पास स्वीकृति दिएको थियो।

कार्यक्रममा जलाधार क्षेत्र विज्ञ पद्मसुन्दर जोशीले ललितपुरका ५८ वटा ठूला साना पोखरीमध्ये ७ वटाको अस्तित्व लोप भइसकेको, ४ वटा पूर्ण सुख्खा अबस्थामा पुगेको र ४७ वटाको आंशिक रुपमा कायम रहेको जानकारी दिए। ललितपुरका ढुंगेधारा र पोखरी संरक्षण गर्ने भन्दै महानगरले युएन ह्याबिट्याट र एकिकृत शहरी विकास केन्द्रसँग मिलेर महानगरका सहित वडाका प्रतिनिधिलाई पढाएको हो।

नयाँ